बन्द प्रशिक्षणमा खेलाडीः पहिले प्रेम साहित्य, अहिले माेबाइल
मोबाइल भित्रिनुअघि बन्द प्रशिक्षणका बेला खेलाडीहरु समूहमा रमाइलो गर्थे, तर अहिले फुर्सद पाउने बित्तिाकै इन्टरनेटमा घोत्लिन्छन्।
राष्ट्रिय फूटबल टोलीका पूर्व कप्तान गणेश थापा खेलाडी जीवनका घटनाहरु सुनाउन खूब रुचाउँछन् । ८० को दशकका यी खेलाडीले बन्द प्रशिक्षणको रमाइलो भुलेका छैनन् । प्रशिक्षणपछिको फुर्सदमा एकअर्कालाई आफ्ना र साथीका प्रेम प्रसङ्ग सुनाउँथे । प्रेममा असफल भएकाहरू चाहिं साहित्यमा भुलिन्थे । कोही त सायरी र कविता लेख्थे ।
यतिवेला १३औं सागका लागि दुई दर्जनभन्दा धेरै खेलका खेलाडी बन्द प्रशिक्षणमा छन् । ठूलो प्रतियोगिता अगाडि हुने लामो समयको बन्द प्रशिक्षणमा खेलाडी निकै व्यस्त हुन्छन् ।
बन्द प्रशिक्षणको जीवनशैली सामान्यभन्दा फरक हुन्छ । निश्चित समय तालिकामा बाँधिनुपर्छ । खेल्ने, खाने, सुत्ने समय तोकिएको हुन्छ । घरबाट टाढा रहेका यी खेलाडी फुर्सदमा आफ्नो रुचि अनुसार फिल्म हेर्ने, साथीसँग गफिने गर्छन् ।
धेरै खेलाडीको अनुभवमा बन्द प्रशिक्षणको फुर्सद आफैंलाई चिन्ने समय हो । फूटबल कप्तान विराज महर्जन भन्छन्, “यो त्यस्तो समय हो जसले वास्तविक खेलाडी बन्ने बाटो देखाउँछ, किनभने आफूलाई कडा अनुशासनमा राख्नुपर्छ ।”
यो परिस्थितिमा पनि खेलाडीहरू विभिन्न बहानामा रमाइलो गर्छन् । तेक्वान्दो खेलाडी सङ्गीना वैद्य भन्छिन्, “अभ्यासपछि आराम पहिलो प्राथमिकतामा पर्छ । शरीरले पनि त्यतिबेला आराम नै खोज्छ ।
आराम गर्न सङ्गीतले साथ दिने भएकाले म एक्लै हुँदा विशेषगरी गीत नै सुन्न रुचाउँछु ।” समूहमा हुँदा भने आफ्ना प्रतिभाहरु देखाएर रमाइलो गर्ने उनको भनाइ छ । “नाच्ने, गाउने, जोक्स भन्ने, एकअर्कालाई उडाउने, खुशी साट्ने सबै यही बेला गर्ने हो”, उनी भन्छिन् ।
फुर्सदमा किताब पढ्ने खेलाडी भने निकै कम छन् । प्लेनमा, लामो ट्रान्जिटमा वा कोठामा आराम गर्दा आफ्नो खेलसँग सम्बन्धित किताबमा घोत्लिने निकै कम खेलाडी मात्र देखेको तेक्वान्दोकै अर्का खेलाडी दीपक विष्ट बताउँछन् । “किताब पढ्नु मानसिक रुपमा सक्रिय हुनु हो, यसले थकाइ मेटाउँदैन, त्यसैले खेलाडीहरू पढाइमा भन्दा आफ्नो मानसिक दबाब कम गराउन रमाइलो गर्नतिर नै लाग्छन्”, उनी भन्छन् ।
सङ्गीना भन्छिन्, “इन्टरनेटको सहयोगमा खेलाडीहरू खेलका नयाँ प्रविधिसँग आफैं जानकार हुन्छन् । प्रतिद्वन्द्वीबारे इन्टरनेटमा खोज्छन्, नयाँ प्रविधि यूट्यूबमा हेर्छन् । यसले खेलाडीहरू बीचको घुलमिल भने घटाएको छ । सबै मोबाइलमै मात्र घोत्लिनु राम्रो होइन ।”
किताब नपढे पनि खेलाडीहरूले भूगोल पढ्ने, आफ्नो सहयात्रीहरूको जीवनी बुझ्ने, संस्कृति बुझ्ने काम बन्द प्रशिक्षणकै बेला गर्ने विष्टको भनाइ छ । “म सुदूरपश्चिमबाट आएको हुँ, मैले बोल्ने भाषा अन्य सहयात्रीहरूले अलिअलि बुझ्छन् । मैले अलिअलि नेवारी बोल्न बन्द प्रशिक्षणमै सिकें, त्यो बेलाको सम्बन्धका साथीहरू लामो समयसम्म चिनिन्छ”, उनी भन्छन् ।
राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी शक्ति गौचनको अनुभवमा क्रिकेटरहरू बन्द प्रशिक्षणपछिको फुर्सदमा समूहमै छलफल गर्छन् । “खेल र खेलाडीहरूबारे हामी समूहमा छलफल गर्थ्यौं, टिभीमा क्रिकेट लाइभ छ भने सबै मिलेर हेथ्र्यौं, धेरै समय बचेको अवस्थामा भने आइस बाथ लिन व्यस्त हुन्थ्यौं”, उनी भन्छन् ।
फूटबलका पूर्व कप्तान राकेश श्रेष्ठका अनुसार उनका पालामा बन्द प्रशिक्षणका बेला टिमलाई एकजुट बनाउने काम स्ट्राइकर मिलन श्रेष्ठले गर्थे । ९० को दशकका फूटबल खेलाडी मिलन भन्छन्, “म अलि चुलबुले खालको थिएँ । टिममा नबोल्ने, लजाउने साथीहरूलाई सबैसँग बोल्न लगाउने, गम्भीर साथीहरूलाई हँसाउने काम मेरो हुन्थ्यो । त्यसमा छुट्टै मज्जा थियो ।”
नेपालमा मोबाइल भित्रिनुअघि वा इन्टरनेटमा सहज पहुँच भइनसकेको बेला खेलाडीहरू समूहमै रमाउँथे । अहिले समय फेरिएको छ । इन्टरनेट र यूट्यूबले गर्दा खेलाडीहरू अध्ययनशील भएका छन् । सङ्गीना भन्छिन्, “इन्टरनेटको सहयोगमा खेलाडीहरू खेलका नयाँ प्रविधिसँग आफैं जानकार हुन्छन् । प्रतिद्वन्द्वीबारे इन्टरनेटमा खोज्छन्, नयाँ प्रविधि यूट्यूबमा हेर्छन् । यसले खेलाडीहरू बीचको घुलमिल भने घटाएको छ । सबै मोबाइलमै मात्र घोत्लिनु राम्रो होइन ।”
बन्द प्रशिक्षण खेल सम्बन्धित मात्र होइन खेल बाहिरका ज्ञान हासिल गर्ने ठाउँ पनि हो । आज उही खेलाडीसँगै बसेर नाच्ने र भोलि उसैलाई हराउनुपर्ने विषम परिस्थितिको अवस्थाबाट गुज्रिनुपर्ने बन्द प्रशिक्षणमा नै हो ।