कलाकारको दशैं: सुनिता दुलालको तास खेल्ने योजना, स्वस्तिमा खड्कालाई भने खल्लो
कलाकारहरु सधैँ व्यस्त हुन्छन् । त्यसमाथि दशैं त कलाकारको लागि थप कमाई गर्ने अवसर पनि हो । दशैंलाई लक्षित गरेर देश विदेशमा हुने कार्यक्रमहरुमा आफ्नो प्रस्तुती दिन भ्याई नभ्याई हुन्छ ।
यस्ता कार्यक्रमहरुमा सहभागी हुने कलाकारहरुले दशैं परिवारसँग बसेर मनाउन पाउँदैनन् । कतिपय कलाकार चाहिं वर्षैभर व्यस्त भए पनि दशैं र तिहार परिवारसँग बसेर मनाउने इच्छाले यस्ता कार्यक्रमहरुका लागि आउने अफर अस्वीकार गर्छन् ।
व्यस्त भनेर चिनिएका कलाकारहरुले यसपटकको दशैं कसरी मनाउने योजना बनाइरहेका छन् भनेर हिमालखबरले बुझ्ने प्रयास गरेको छ ।
स्वस्तिमा खड्का, अभिनेत्री
यसपटक दशैं मनाउन नमिल्ने भएको छ । आफन्त बित्नु भएकाले टीका लगाउन हुँदैन । टीका नभएपछि रमाइलो कम नै हुन्छ । टीका थाप्न जाने, आउने नहुने भएकोले सधैँ जस्तो दशैंको रमाइलो खट्किन्छ भन्ने लागिरहेको छ ।
तर अरु समयमा कामले गर्दा परिवारसँग धेरै समय बिताउन पाएको छैन । त्यसैले यो पटक दशैंमा चाहिं घरैमा परिवारसँग बस्ने योजना भएकोले खुशी छु ।
मनोज गजुरेल, हास्य कलाकार
यसपटकको मेरो दशैं सदा झैं रमाइलो नै हुन्छ भन्ने अपेक्षा गरेको छु । टीकाअघि कोरियामा कार्यक्रम छ । त्यसैले टीकाको रात नेपाल आइपुग्छु ।
आमाको हातबाट टीका थाप्ने र आफन्तहरुसँग भेटघाट गर्ने योजना छ । त्यसपछि फेरि टीकाको पर्सिपल्ट अस्ट्रेलियामा हुने कार्यक्रमको लागि उड्छु । यसरी यो वर्षको मेरो दशैं देश विदेशमा बित्ने छ ।
दीपाश्री निरौला, कलाकार तथा चलचित्र निर्देशक
केही वर्ष यतादेखि हाम्रो फिल्म दशैंको वरपर रिलिज हुने भइरहेको छ । त्यसैले मेरो दशैं घर र हलमा बित्ने गरेको छ ।
यो पटक पनि २४ गते फिल्म रिलिज हुँदैछ । टीकाको दिन साइतमा बुवाको हातबाट टीका थाप्ने । मलाई मामाघरमा टीका नलगाएसम्म दशैं जस्तै लाग्दैन ।
पूर्णिमाको दिन चाहिं हलमा दर्शकको हातको टीका थाप्ने योजना छ । दशैंलाई हरेक वर्ष जस्तै विशेष बनाउने योजना छ । दशैंमा बुवा, मामा तथा मान्यजनबाट थापेको आर्शिवादले मलाई बर्षभर उर्जा दिन्छ । त्यसले गर्दा म दशैं नेपालमा नै मनाउन चाहन्छु । दशैंमा विदेशमा हुने कार्यक्रमहरु गर्दिनँ । हरेक वर्ष दशैं मनाउन घर (बिराटनगर) जान्छु ।
आजभन्दा १७/१८ वर्ष अघि पैसा नभएर घर गइनँ । त्यो वर्ष म रोएर बसेँ । त्यसपछि अहिलेसम्म हरेक साल घर नै जाने गरेको छु।
आकाश श्रेष्ठ, अभिनेता
यो पटकको दशैं मनाउन नमिल्ने भएको छ । त्यसले गर्दा सँधैको जस्तो रमाइलो हुँदैन । भर्खर मेरो हजुरबा बित्नुभएको छ । त्यसैले परिवार मिलेर इलाम, दार्जिलिङ घुम्न जाने योजना बनाईरहेका छौं ।
हजुरबाको कमी महशुस हुन्छ नै । उहाँले छोडेर जानुभएको दुख भुलाउने कोशिस रहन्छ । सकेसम्म दशैंलाई रमाईलो बनाउने योजनामा छु । दशैं पछि कात्तिक एघारमा फिल्म रिलिज हुँदैछ । त्यसले गर्दा दशैं सकिएपछि चाहिं फिल्मको प्रमोसनमा लाग्नेछु ।
दीपेन्द्र के खनाल, फिल्म निर्देशक
यो पटक पनि अरु वर्षजस्तै हो । आमाबुवाको तथा आफन्तको हातबाट टीका थाप्ने, पारिवारिक जमघट गर्ने । दशैं चाहिं म सम्बन्ध पुनजागृत गर्ने चाँडको रुपमा लिन्छु ।
किनभने म फिल्म क्षेत्रमा काम गर्छु । परिवारसँग बसेर, आफन्तसँग भेटघाट गर्ने समय नै हुँदैन । चिनेर पनि नचिन्ने जस्तै हुन्छ । त्यसैले दशैंलाई सम्बन्ध नवीकरणकाे अवसरकाे रुपमा लिन्छु र गर्छु । यसले नयाँ उर्जा थपिएको महशुस हुन्छ ।
यसपटक दशैंको अवसर पारेर मुस्ताङ घुम्न जाने योजना पनि बनाइरहेको छु । हेरौं के हुन्छ । ९० प्रतिशत जाने सम्भावना छ ।
सुनिता दुलाल, लोकदोहोरी गायिका
यसपटकको दशैं गाउँमा मनाउने योजना छ । घरमा आमाबुवाको हातको टीका थाप्ने, मामाघरमा जाने । धेरै वर्षपछि पोर गाउँमा मनाउन पाएँ ।
यसपटक पनि क्यानडामा कार्यक्रम थियो तर ‘लोक स्टार’ को फिनाले कात्तिक १ गते हुने भएकोले त्यो भन्दा अगाडि व्यस्त हुने भइयो । त्यसले गर्दा क्यानडाको कार्यक्रम तिहारमा सारेको छु ।
त्यसले गर्दा यो पटक गाउँमा परिवारसँग रमाइलो गरेर बिताउने योजना छ । मैले पोहोरको दशैंमा तास खेल्न सिकेकी छु । खुब रमाइलो भएको थियो, परिवारमा बसेर खेल्दा । मैले १२ हजार जत्ति पैसा पनि मारेको थिएँ । यो पटक पनि खेलिन्छ होला । पोहोरको जस्तै रमाईलो गर्ने हो ।
प्रकाश सपुत, लोकदोहोरी गायक
दशैंको लागि खास योजना बनाएको छैन । किनभने अहिले म कार्यक्रमहरुमा व्यस्त छु । दशैंमा पनि कार्यक्रममा व्यस्त हुन्छ ।
काको अघिल्लो दिन म घर पुग्छु । मेरो घर बाग्लुङको काटीखोला गाउँपालिका हो । त्यहाँ चितवनको कार्यक्रम सकेर जान्छु । यो पटक हाम्रो दुई वर्षपछि टिका लगाउँदैछौं । गएको दुई वर्ष आफन्तहरु बित्नुभएकोले लगाउन मिलेको थिएन ।
यसपटक घर ससुराली दुबैतिर टीका छ । टीकाको दिन घरका र ससुरालीका आमाबुवाको हातबाट टीका र आर्शिवाद थाप्ने । गाउँमा पिङ खेल्ने रमाइलो गर्ने र फेरि भोलिपल्ट कार्यक्रमको लागि हिँड्ने योजना छ । एकदम व्यस्त दशैं हुन्छ मेरो ।
पशुपति राई, रंगकर्मी
हरेक वर्ष जस्तै घर जाने टीका लगाउने दशैं मनाउने । दशैंको बेला घुम्न जाने, कार्यक्रममा जाने योजना बनाउँदिन । किनभने अरुबेला घर जान फुर्सद हुँदैन । गएपनि घर जाने आउने मात्रै हुन्छ । अरु आफन्तहरुसँग भेटघाट गर्ने फुर्सद हुँदैन ।
दशैंमा सबैसँग भेटघाट हुने भएकोले रमाईलो लाग्छ । त्यसैले हरेक वर्ष म घर (धरान) जान्छु । भाइबहिनी, भदैभदैनीहरुसँग बसेर रमाइलोको लागि तास खेल्ने । सँधै जस्तै दशैं रमाइलो गरेर मनाउने योजना छ ।
निकिता चान्डक, मिस नेपाल २०१७
म मारवाडी भएकोले हामी दशैं मनाउँदैनौं, तिहार मात्रै मनाउछौं । हाम्रो घरमा दुर्गा पुजा मात्रै हुन्छ ।
यो बेला विदा परेकोले म घर (उर्लाबारी) जाने योजना बनाउँदैछु । त्यस्तो खास योजना छैन । घर जाने परिवारसँग केही समय बिताएर आउने योजनामा छु ।