ड्यूटीमा हिंडेका असईको दुर्घटनामा मृत्यु
इलाम सदरमुकाममा स्थित ५ मा जिल्ला प्रहरी कार्यालयले खटाएको ड्यूटीमा हिंडेका प्रहरी सहायक निरीक्षक (असई) को मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ ।
दाजुले भाइलाई गम्भीर घाइते हुनेगरी कुटेको घटनाको जानकारी लिन जाने क्रममा हिलोमा चिम्लिएर मोटरसाइकल दुर्घटना हुँदा शनिबार अपरान्ह असई रवि मगर (४७) को मृत्यु हुनुका साथै प्रहरी जवान रामसेवक मोची घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय इलामका निरीक्षक हेमन्त भण्डारीका अनुसार, अस्थायी प्रहरी बिट बिब्ल्याँटेमा कार्यरत असई र जवान चढेको मोटरसाइकल सडकबाट ५० मिटर तल छागे खोलामा झरेको थियो ।
इलाम नगरपालिका–२ सुम्बेकमा दाजुभाइको झगडा भएको खबर पाएर जिल्ला प्रहरी कार्यालय इलाम दरबन्दी भई अस्थायी प्रहरी बिट बिब्ल्याँटेमा कार्यरत सुनसरी इटहरी–१ का असई मगर र प्रहरी चौकी जितपुर दरबन्दी भई बिब्ल्याँटेमा कार्यरत सिरहा जिल्लाको पिडरवनी–१ का जवान मोची मोटरसाइकलमा त्यसतर्फ गएका थिए ।
पानी परेकाले हिलो भएको सडकमा उनीहरू चढेको को १ ब २२८८ नम्बरको मोटरसाइकल भीरबाट खसेको थियो । इलामका प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेका अनुसार सुम्बेकका धनबहादुर तामाङलाई उनका दाजुले फलामले टाउकोमा प्रहार गरेर अस्पताल लगिएपछि कुटपिटमा संलग्नको खोजी र घटनाबारे जानकारी लिन बिटका प्रहरी खटाइएको थियो ।
घाइते मगरलाई उद्धार गरी जिल्ला अस्पताल पुर्याइएपछि चिकित्सकले मृत घोषणा गरेका थिए । जवान मगरको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
दाजुको कुटाइबाट घाइते भएका तामाङलाई थप उपचारका लागि इलामबाट झापा पठाइएको छ । भाइलाई हिर्काएर घाइते बनाउने दाजुको खोजी भइरहेको प्रहरीले बताएको छ ।