ज्ञानेन्द्र शाहीलाई उपचारका लागि काठमाडौं पठाइयो
गणतन्त्र पक्षधरको आलोचना गर्दै हिँडेका भ्रष्टाचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाहीमाथि शनिबार चितवनमा साङ्घातिक आक्रमण भएपछि उपचारका लागि काठमाडौं पठाइएको छ ।
भरतपुरको चौबिसकोठीमा उनको समूहले आयोजना गर्न लागेको कार्यक्रम बिथोलिएपछि आफू बसेको होटलबाट बाहिरिने क्रममा दिउँसो उनीमाथि आक्रमण भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भरतपुरको होटल ग्लोबलबाट बाहिरिने क्रममा बा३ख ८४५८ नंको माइक्रोबसमा आक्रमण भएको हो । युवा समूहले ढुङ्गा, रड, लाठी प्रहार गरी माइक्रोबसभित्र रहेका शाहीसहितको समूहमाथि आक्रमण गरेको हो ।
प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार घाइते शाही चितवन मेडिकल कलेजको उपचारपछि काठमाडौं गएका हुन् । उनको अवस्था खतरामुक्त रहेको मल्लले जानकारी दिए। शाहीले काठमाडौंको अस्पतालमा उपचार गर्न चाहेको बताइएको छ ।
उनको खुट्टामा चोट लागेको छ भने टाउको र शरीरमा समस्या भएको उनले बताए । आक्रमणमा घाइते भएका अन्य दुईको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी उपरीक्षक मल्लले बताए ।
प्रहरी उपरीक्षक मल्लका अनुसार सो क्रममा आक्रमण गर्ने एक जनालाई पक्राउ गरिएको छ । शाहीमाथि आक्रमण भएको खबर पाउनासाथ उद्धार गरिएको प्रहरी उपरीक्षक मल्लको भनाइ छ ।
त्यसअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट युवाहरूले चौबिसकोठीमा शाहीले सम्बोधन गर्न लागिएको कार्यक्रम बिथोलेका थिए ।