‘डा.सन्दुक रुइत नेपालका सांस्कृतिक वीर’
साहित्यकार एवं अनुवादक खगेन्द्र संग्रौलाले आँखाका विश्वविख्यात शल्यचिकित्सक डा. सन्दुक रूइत देशकै एक वीर रहेको बताएका छन् ।
शनिबार रुइतको जीवनी सन्दुक रुइत लोकार्पणका क्रममा बोल्दै संग्रौलाले भने, “जसले मानिसको जीवनमा ज्योति भर्न, ऊर्जा थप्न केही गर्छ, त्यो वास्तवमै उत्कृष्ट हुन्छ । जो अरुका लागि आफूलाई जोखिममा पार्न तयार हुन्छ, त्यो वीर हो, त्यसैले डा.रुइत नेपालका सांस्कृतिक वीर हुन् ।”
पुस्तकका अनुवादकसमेत रहेका संग्रौलाको भनाइमा, रुइतको जीवनयात्रा बहुआयामिक विशिष्टतायुक्त, प्रेरणादायी एवम् अनुकरणीय छ । “रुइत संसारमा असलमध्ये पनि असल व्यक्ति हुन्, यस्ता उत्कृष्ट मानिसको भव्य जीवन कथा अनुवाद गर्दाका क्षण मेरो जीवनका सुखद र सार्थक क्षण हुन्।”
अस्ट्रेलियन पत्रकार अली ग्रिपरले लेखेको उक्त किताब संग्रौलाले नेपालीमा अनुवाद गरेका हुन् ।
पुस्तक लोकार्पणका क्रममा २१ वर्षसम्म पूर्ण दृष्टिविहीन भएर डा. रुइतले गरेको शल्यक्रियाबाट दृष्टि पाएका सल्यानका शिक्षक तोपबहादुर शर्माले रुइतले नै आफूलाई नयाँ जीवन दिएको बताए । आफ्नै हातबाट यति महान् डाक्टरको जीवनी लोकार्पण गर्न पाउनु जीवनकै अहोभाग्य भएको उनले बताए ।
यसैगरी तिलगंगा अस्पतालकी सिइओ रिता गुरुङले कर्मशील एवम् प्रतिबद्ध रुइतका कारण आफू सधैं उनको काममा जोडिएको बताइन् । डा. रुइतले आफूलाई सामाजिक एवम् परोपकारी काममा लाग्न समेत प्रेरित गरेको उनले बताइन् ।
कार्यक्रममा लेखक एवं पत्रकार विजयकुमारले डा. रुइत संघर्ष, आरोहअवरोह, सफलता आदिको पर्यायका रुपमा रहेको बताए । उनले बाटो जतिसुकै अप्ठ्यारो किन नहोस्, हिँडेपछि पुगिन्छ भन्ने उदाहरण पनि रुइत भएको बताए ।
कार्यक्रममा डा. रुइतले पुस्तक आफ्नो जीवनको मात्र नभई परिवार, आफ्नो जीवनमा भएका उतारचढाव, सफलता, आरोहअवरोह एवम् तिलगंगा आँखा अस्पतालको संघर्षको कथा भएको बताए । “अङ्ग्रेजीमा लेखिएको मेरो जीवनीको नेपाली अनुवाद आएकोमा म एकदम हर्षित भएको छु । पुस्तकले कसैलाई परोपकार वा सत्कर्मको बाटोमा लाग्न प्रेरित गर्यो भने मेरो जीवनी सार्थक भयो भन्ने म ठान्नेछु”, डा. रुइतले भने ।
प्रकाशक फाइनप्रिन्टका अजित बरालले डा. रुइतको जीवनी छाप्न पाउनु आफूहरुका लागि महाचाड जस्तै भएको बताए । डा. रुइतले आफ्नो सुकर्मबाट लाखौं मानिसको जीवनलाई नयाँ जीवन दिएको र उनको जीवनीले सबैलाई प्रेरणा दिने उनले बताए ।
फाइनप्रिन्टका प्रमुख कार्यकारी अधिकृत नीरज भारीले भने विनयशीलता र परोकारका प्रतीक डा. रूइतको जीवनी प्रकाशन गर्न पाउनु ठूलो सौभाग्य भएको बताए । “मलाई लाग्छ, जोन उडको माइक्रोसफ्टदेखि बाहुँनडाँडासम्मले जस्तै यो पुस्तकले पनि वैभव र विलासको जीवन त्यागेर संसारलाई असल बनाउने उदात्त कर्ममा लाग्न हामीलाई प्रेरित गर्छ”, उनले भने ।
उक्त पुस्तक अस्ट्रेलियन प्रकाशन गृह एलेन एन्ड अनविनले पहिलो पटक अङ्ग्रेजीमा प्रकाशन गरेको हो ।