उपत्यकामा चौपाया बध गर्दा दैनिक ५० टन फोहोर
उपत्यकामा मासुका लागि बध गरिने चौपाया, कुखुरा र माछाको फोहोर मात्र दैनिक ५० मेट्रिक टन निस्कने गरेको छ ।
काठमाडौं महानगरपालिकाको वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले मासुका लागि काटमार गरिएका चौपाया, पक्षी र माछाको लादी व्यवस्थापन महानगरका लागि टाउको दुखाइ बनिरहेको बताएका छन् ।
उपत्यकामा दैनिक ८०० सय राँगाभैंसी, १ हजार ५०० खसीबोका, ७ हजार केजी कुखुरा, २०० बंगुर र करीब ७ हजार केजी माछा खपत भइरहेको छ ।
मासुका लागि एउटा ३ क्विन्टल वजनको राँगो बध गर्दा त्यसबाट लादी, हड्डी, सिङ, खुर समेतगरी कम्तीमा १ क्विन्टल बस्तु फोहोरको रूपमा निस्कने गरेको बताउँदै महानगरको वातावरण विभागका प्रमुख श्रेष्ठ भन्छन्, “शहर प्रदूषणको ठूलो कारण यो बनेको छ ।”
महानगरपालिकाले चौपाया, माछा र पक्षी बध गर्दा निस्कने फोहोर कम गर्न शीत भण्डारमा राखिएको मासुको खपत सम्बन्धी चेतना बढाउन र ठूलो बधशाला तराईमा बनाई उपत्यकामा मासुमात्र भित्र्याउने योजनाका लागि छलफल अघि बढाएको पनि श्रेष्ठले बताएका छन् ।
त्यस्तो फोहोरबाट जैविक ग्यास उत्पादन गर्ने विषयमा समेत छलफल भइरहेको उनले बताए ।
उपत्यकामा टोलैपिच्छे रहेका मासु पसलहरूले चौपायाको बध गरी नाली र सडकमा लादी, हड्डी जस्ता फोहोर बस्तु फ्याँक्नाले रोगको संक्रमण बढाउन सघाएको बताइन्छ ।
त्यस्तो फोहोर नालाबाट सोझै खोलामा समेत गइरहेका कारण उपत्यका भित्रका खोलाहरू समेत प्रदूषित बनिरहेका छन् ।