साउदी अरब अब पर्यटकका लागि खुला
साउदी अरबले पहिलो पटक पर्यटकहरूलाई पनि प्रवेशाज्ञा दिने निर्णय गरेको छ ।
अति रुढीवादी मुस्लिम मुलुक साउदी अरबले शुक्रबार पर्यटकलाई पनि स्वदेशमा स्वागत गर्ने घोषणा गरेको हो ।
तेलको व्यापारमा आधारित अर्थतन्त्र रहेको यस मुलुकमा अबदेखि पर्यटनलाई पनि अर्थतन्त्रको अर्को पाटोको रूपमा विकास गर्न लागिएको बताइएको छ ।
घुम्नका लागि विदेशी नागरिकलाई खुला गरिए पनि केही शर्त भने कडा बनाइएको छ । विशेष गरेर महिलाका लागि पहिरनमा आचारसंहिता नै बनाइएको अधिकारीहरूले जनाएका छन् ।
विश्व पर्यटन दिवसकै दिन साउदी अरबले यो घोषणा गरेको हो । “हामीले आज इतिहास रचेका छौँ,” देशका पर्यटन प्रमुख अहमद अल खातिबद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।
उनले लेखेका छन्, “हामीले पहिलो पटक संसारभरका पर्यटकका लागि साउदी अरबलाई खुला गरेका छौँ ।”
विश्वका ४९ देशका नागरिकले अनलाइन मार्फत प्रवेशाज्ञाका लागि निवेदन दिनसक्ने व्यवस्था गरिएको पनि उनले जनाए ।