सरकारी अस्पतालबाटै बिरामी लान्छन् दलालले
पहाडी जिल्ला तथा तराईका भित्री गाउँबाट उपचारका लागि विराटनगर आउने बिरामीबाट उपचारका नाममा रकम असुली गर्ने क्लिनिक सञ्चालक विराटनगरमा सक्रिय छन् ।
क्लिनिक सञ्चालकले दलाल राखेर सरकारी अस्पतालमा आएका बिरामीलाई समेत फकाएर ल्याउने गरेका छन् । प्रदेश १ कै सबै भन्दा ठूलो सरकारी अस्पताल विराटनगरको कोशी अञ्चल अस्पताल वरपर बिरामी खोज्ने दलालको बिगबिगी हुने गरेको छ ।
शुक्रबार बिहान अस्पताल परिसरभित्र र बाहिर एक दर्जनभन्दा बढी बिरामी खोज्ने व्यक्तिहरू सक्रिय थिए । उनीहरू अस्पतालको पुर्जी बोकेका बिरामीलाई अनावश्यक सोधखोज गर्दै थिए ।
अस्पतालको बहिरंग सेवाको पुर्जी काटेपछि लाइनमा बसेका ज्येष्ठ नागरिकलाई एक व्यक्तिले फकाउँदै भने, “सरकारी अस्पतालको जाँच र उपचार ५ दिन लाग्छ, बाहिर गयो भने त्यत्तिनै खर्चमा उपचार हुन्छ ।”
ती व्यक्तिले निकै प्रयास गरे पनि बिरामी अस्पतालबाट बाहिर जान मानेनन् । अस्पतालमा दैनिक एउटै व्यक्ति बिरामी फकाउन आउने गरेको अस्पताल प्रशासन र त्यहाँका सुरक्षागार्डलाई पनि थाहा छ ।
क्लिनिक सञ्चालकहरूका अनुसार, कतिपय बिरामीलाई अस्पतालकै स्वास्थ्यकर्मीले बाहिरका निजी अस्पतालमा पठाउने गरेका छन् । क्लिनिक सञ्चालकहरूले रिक्सा र ई–रिक्सा चालकलाई पनि बिरामी खोज्न परिचालन गर्ने गरेका छन् ।
एक चालकका अनुसार, बसबाट ओर्लिएका बिरामीलाई क्लिनिकमा पुर्याए बापत रु १ हजार दिने गरिएको छ । त्यस बाहेक बिरामी खोज्न क्लिनिकहरूले परिचालन गरेका व्यक्ति सडकमा घुमेर बिरामीलाई फकाउँछन् ।
जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले बिरामीलाई ठगी गर्ने क्लिनिकहरूका विषयमा सूचना आउने गरे पनि संघ, प्रदेश र स्थानीय सरकारमध्ये जिम्मेवारी बाँडफाँट भई नसकेकाले कारबाहीमा जान असहज भएको बताए ।
ठगिएका बिरामीले जिल्ला प्रशासनमा उजुरी गर्ने गरेको बताउँदै बस्नेतले कहिले काहीँ टोली बनाएर अनुगमन गर्ने गरिएको जानकारी दिए ।
क्लिनिकमा विशेषज्ञ चिकित्सक नभई मेडिकल अफिसरहरू बस्ने गरेका हुन्छन् । सामान्य बिरामीलाई दश प्रकारका जाँच लेख्ने र परीक्षण नगरी झुटा रिपोर्ट दिने गर्छन् ।
क्लिनिकको ठगीबारे जानकार एक व्यक्तिका अनुसार, रगत, दिसा र पिसाब लिएर अनुमानका भरमा रिपोर्ट दिने गरिन्छ । ल्याब र औषधि पसलको अनुपतिपत्र नभए पनि राजस्व र नगरपालिकाको मात्रै प्रमाणपत्र लिएर कतिपय क्लिनिकहरू सञ्चालनमा छन् ।
घाटामा चलेको सरकारी अस्पतालमा आएका बिरामीलाई नै बाहिरका क्लिनिकका दलालले फकाएर लाने गरेकाले अस्पताललाई थप आर्थिक समस्या पर्दै गएको छ । कतिपय निजी अस्पताल र क्लिनिकमा सरकारी अस्पतालका चिकित्सकले नै ठगिएका बिरामीको जाँच गरिरहेका हुन्छन्।
अस्पताल प्रशासनका नायब सुब्बा नवराज लुइँटेलले बेला बेला दलाल पत्ता लगाएर प्रहरी बोलाई पक्राउ गरिंदै आएको जानकारी दिए ।
“भर्खर आएको छु, समस्याहरू धेरै छन्, पत्ता लगाएर समाधान गर्दै जान्छु”, अस्पताल प्रमुख एवं स्वास्थ्य सेवा विभागका पूर्व प्रमुख गुणराज लोहनीले भने ।
विभागको प्रमुखबाट सरुवा भएर कोशी अस्पताल आउने बित्तिकै डा. लोहनीले पहिले अस्पताल भित्रका समस्या समाधान गरेर बाहिरका समस्या समाधान गर्ने बताएका थिए । ठगिएका बिरामीले उजुरी गरे ठगीमा संलग्नलाई पक्राउ गरेर कारवाही गरिने मोरङका प्रहरी नायब उपरीक्षक राजकुमार खिउजुले बताए ।