परदेशमा नेपाली पढाइ
जापानका नेपालीकै सिको गर्न सके संसारभर छरिएका लाखौं प्रवासी बालबालिकाले स्वदेशी भाषा र संस्कार सिक्न सक्छन्।
चितवनकी प्रिन्सेस खरेल जापान बस्न थालेको चार वर्ष भयो। ६ महीनाअघि मात्र जापान पुगेकी उनकी छोरी रजनी टोकियोकै आसागयास्थित एभरेष्ट इन्टरनेशनल स्कूल, जापानमा कक्षा ५ मा पढ्छिन्।
१२ वर्षअघि पढाइका सिलसिलामा जापान पुगेका काठमाडौंका कमलचन्द्र आचार्यका छोरा ऋषभचन्द्र पनि एभरेष्ट स्कूलका कक्षा ६ का विद्यार्थी हुन्। उनले कक्षा ४ सम्म भने काठमाडौंमै पढेका थिए।
अध्ययन र रोजगारीका लागि जापान पुगेका नेपालीका १४८ छोराछोरी यतिबेला एभरेष्ट स्कूलमा नेपाली विषय पढिरहेका छन्। नर्सरीदेखि कक्षा ६ सम्म पढाइ हुने यो स्कूलमा १० जापानी, बाङ्लादेश, भारत र पाकिस्तानका एक–एक जना विद्यार्थीले पनि नेपाली सिकिरहेका छन्।
जापानको मिनिष्ट्री अफ जस्टिस्का अनुसार सन् २०१५ सम्म जापानमा नेपालीको संख्या ५५ हजार २३६ रहेको छ। यत्तिका संख्यामा नेपाली भए पनि त्यहाँ चार वर्षअघिसम्म नेपाली पाठ्यक्रम पढाइ हुने स्कूल थिएन। त्यसैले अधिकांशले छोराछोरी स्वदेशमै छाड्नुपर्ने बाध्यता थियो।
“धेरै दुःखले बल्लतल्ल आफ्नै पाठ्यक्रम पढाउन मिल्ने स्कूल खोल्न सफल भयौं”, स्कूलका प्रधानाध्यापक प्रदीप थापा भन्छन्, “परिवारकै रेखदेखमा छोराछोरीले पढ्न पाएका छन्, नेपाली भाषा र संस्कृति पनि जानेका छन्।” ६० जना नेपालीको लगानीमा २०७० सालमा स्थापित एभरेष्ट स्कूलले आउँदो वर्षदेखि कक्षा ७ को पढाइ पनि थाल्ने भएको छ।
थापाका अनुसार, जापानमै जन्मेकाहरूलाई नेपाली धर्म र संस्कृतिबारे बुझाउन कठिन हुने भएकाले स्कूलमै चाडपर्वका अभ्यास पनि गरिन्छ। “होली खेल्ने र सरस्वती पूजा मनाउने जस्ता कार्यक्रम पनि गरिरहेका छौं”, उनी भन्छन्। स्कूलमा १४ नेपाली, तीन जापानी र एक अमेरिकी शिक्षकले अध्यापन गराइरहेका छन्।
सहजै अनुमति
टोकियोको यो स्कूलको अर्को विशेषता के हो भने नेपाल सरकारको स्वीकृतिमा नेपाली पाठ्यक्रम अध्यापन गराइरहेको विश्वकै एक मात्र सामुदायिक स्कूल यही हो। नेपाली पाठ्यक्रम स्वीकृतिका लागि स्पष्ट कानूनी व्यवस्था नभएका कारण २२ फागुन २०७१ सालमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट शिक्षण अनुमति लिइएको एभरेष्ट स्कूलका कार्यकारी सदस्य बलराम श्रेष्ठ बताउँछन्।
नेपाल एजुकेशन सेन्टरद्वारा संचालित स्कूलका लागि जापानस्थित नेपाली दूतावास, परराष्ट्र र शिक्षा मन्त्रालयले सिफारिश गरेका थिए। शिक्षा मन्त्रालयका प्रवक्ता हरि लम्साल यो स्कूल सरकारको स्वीकृति लिएर नेपाल बाहिर सञ्चालित पहिलो भएको बताउँछन्।
त्यसो त सरकारी स्वीकृति र पहलमा विगतमा हङकङलगायतका केही विदेशी भूमिमा नेपाली पाठ्यक्रम नै पढाइ नभएको होइन। १ जुलाई १९९७ मा बेलायतद्वारा चीनलाई हङकङ हस्तान्तरण गरिनुअघिको ३० वर्षसम्म त्यहाँ नेपाली पाठ्यक्रम अनुसार कक्षा १० सम्मको पढाइ हुन्थ्यो।
“एसएलसी जाँच लिन नेपाल सरकारकै प्रतिनिधि हङकङ जान्थे”, शिक्षा मन्त्रालयका उपसचिव सुशील खनाल भन्छन्। हङकङमा स्कूल बन्द भएपछि त्यहाँका सामान काठमाडौं भ्याली स्कूलमा ल्याइएको पनि उनी बताउँछन्।
यस्तै, गोर्खा सैनिकका परिवारका लागि ब्रुनाई र सिंगापुरमा सञ्चालित कक्षा ८ सम्मको विद्यालयको जाँच लिन पनि काठमाडौं जिल्ला शिक्षा कार्यालयका कर्मचारी त्यहाँ पुग्ने गरेका थिए। अहिले हङकङ सरकारले आफ्नै हिसाबले नेपाली विषय भने पढाइरहेको छ।
यसै वर्ष संशोधित शिक्षा ऐनमा 'कसैले नेपालमा सञ्चालित शैक्षिक कार्यक्रम विदेशी मुलुकमा सञ्चालन गर्न चाहे विदेशस्थित नेपाली कूटनीतिक नियोगको सिफारिशसहित मन्त्रालयसमक्ष निवेदन दिएमा मन्त्रालयले त्यो सम्बन्धमा आवश्यक जाँचबुझ् गरी निवेदकलाई शर्त तोकी शैक्षिक कार्यक्रम सञ्चालन गर्न अनुमति दिन सक्नेछ' भन्ने व्यवस्था गरेको छ। तर, यससम्बन्धी नियमावली बन्न बाँकी नै छ।
शिक्षा मन्त्रालयका सहसचिव डा. डिल्ली रिमाल भने नियमावली नबने पनि एभरेष्ट स्कूलकै जस्तो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्णयबाट संसारभर नेपाली पाठ्यक्रम अनुसार स्कूल सञ्चालनका लागि अनुमति लिन सकिने बताउँछन्।
अमेरिकामा भाषा कक्षा
अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा आप्रवासी नेपालीकै पहलमा १५ महीनादेखि 'नेपाली भाषा स्कूल' चलिरहेको छ। अमेरिकामै जन्मे, हुर्केका बालबालिकाका लागि केन्द्रित गरेर कक्षा सञ्चालन गरेको सतिश चापागाईं बताउँछन्। स्कूलका सहयोगी शिक्षक समेत रहेका चापागाईं भन्छन्, “बच्चाहरूले नेपालीमा कुरा गर्न सकुन् भनेर भाषा कक्षा थालेका हौं।”
टेक्सासस्थित नेपाली समाजले १४ वर्षदेखि डालास शहरमा 'नेपाली पाठशाला' सञ्चालन गरिरहेको छ। नेपाली पढाउने पहिलो अमेरिकी स्कूलका रूपमा चिनिएको पाठशालामा प्रत्येक आइतबार बिहान ९ देखि १२ बजेसम्म भाषा, संस्कृति, धर्म, गणित, नैतिक शिक्षाको पढाइ हुन्छ। “श्रव्यदृश्य सामग्रीमार्फत नेपाली धर्म, संस्कृति सम्बन्धित विषय पनि पढाइन्छ”, अध्यक्ष कृष्ण लामिछाने भन्छन्, “प्रवासी नेपालीलाई आफ्नो भूमिबारे थाहा होस् भनेर स्कूल सञ्चालन गरेका हौं।” ६ नेपाली र तीन विदेशी शिक्षकमार्फत पढाइ हुने पाठशालामा अहिले १०६ विद्यार्थी अध्ययनरत छन्।