विप्लव समूहका दुई नेता पक्राउ
नेत्रविक्रम चन्द समूहको नेकपाका दुई नेतालाई सोमबार प्रहरीले सुनसरीको इटहरीबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरी इन्चार्ज तथा मेची, कोशी ब्यूरो सदस्य लक्ष्मण पौडेल (३१) र जिल्ला सचिव तथा ब्यूरो सदस्य सन्तोष भनिने राजेन्द्रसिंह विष्ट रहेका छन् ।
उनीहरूले गत २० भदौमा इटहरी ९ स्थित सुष्मा गोदावरी क्याम्पसमा बम विस्फोट गराएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय इटहरीका अनुसार, पक्राउ परेका पौडेल उदयपुर कटारी ४ का तथा बिष्ट दार्चुला जिल्लाको मार्मा गाउँपालिका ३ निवासी हुन् ।
उनीहरू पाटीको जिम्मेवारी लिएर इटहरीलाई केन्द्र बनाई बस्दै आएका थिए । पक्राउ परेका उनीहरूलाई संगठित अपराधमा मुद्दा चलाउने तयारी भएको प्रहरीको भनाइ छ ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले सोमबार पक्राउ पुर्जी जारी गरिएको बताउँदै मंगलबार अदालतमा मुद्दा गरिने जनकारी दिए ।