मधेश समृद्धि कार्यक्रमका लागि झापामा तीन करोड
संघीय सरकारले बिर्तामोड र अर्जुनधारा नगरपालिकामा रहेका विपन्न परिवारका लागि आवास सहितका कार्यक्रम सञ्चालन गर्न दुई करोड २५ लाख बजेट विनियोजन गरेको छ ।
संघीय सरकारले झापा क्षेत्र नं २ मार्फत विपन्न आवास कार्यक्रमसहित अन्य विभिन्न सामाजिक कामका लागि रु दुई करोड २५ लाख बजेट विनियोजन गरेको संघीय सांसद पवित्रा निरौला खरेलले जानकारी दिइन् । उनका अनुसार तराई, मधेश समृद्धि कार्यक्रम अन्तर्गत बिर्तामोड नगरपालिका र अर्जुनधारा नगरपालिकासँग समन्वय गरी विपन्न समुदायका लागि आवास निर्माण गरिनेछ ।
बुद्धशान्ति गाउँपालिकामा सामुदायिक भवन, कनकाई नगरपालिकामा कोच राजवंशीको अधुरो सामुदायिक भवन निर्माणमा रकम खर्च गरिने भएको छ ।
बिर्तामोड नगरपालिका ६, ७, ८ र ९ मा रहेका पछाडि परेका समुदाय र विपन्न परिवारका लागि संघीय सरकारबाट रु ७५ लाख बजेट विनियोजन भएको छ भने अर्जुनधारा–३ मा रहेका विपन्न परिवारका लागि आवास निर्माण गर्न रु ६० लाख बजेट विनियोजन भएको छ ।
विपन्न आवास कार्यक्रम सञ्चालनका लागि अर्जुनधारा नगरपालिकाले रु १५ लाख प्रदान गर्ने र बिर्तामोड नगरपालिकाले रु नौ लाख प्रदान गर्ने सहमति भएको बताइएको छ ।