मैथिल समुदायकाे लोक पर्व जितीया व्रत सम्पन्न
मैथिल समुदायकाे ‘आमाको महान लोक पर्व’ जितीया पर्व आइतबार सम्पन्न भएको छ । सो पर्वअन्तर्गत मैथिल महिलाले थुक पनि ननिलेर ३६ घण्टासम्म व्रत गरी पर्व सम्पन्न गरेका छन् ।
सप्तमी, अष्टमी र नवमी तिथिमा मनाइने यो पर्वमा सन्तानको आरोग्यको कामनासहित कठोर व्रत गरिने चलन छ ।
विगतमा छोरा हुनेले मात्र व्रत बस्ने परम्परा रहेकामा महिलाले हाल सो परम्परा तोड्दै छोराछोरी दुवैको सुख, शान्ति र समृद्धिका लागि व्रत बस्ने गरेका छन् । जितीया पावनि बड भारी ( जितीया पर्व धेरै ठूलो छ ।) भन्ने कथन अनुरूप व्रती महिलाले निराहार उपवास व्रत बसी व्रतलाई खण्डित हुन नदिने संकल्प गरेका हुन्छन् ।
यसअन्र्तगत यस व्रतको सप्तमी तिथिमा व्रतालुले नहाय खाय, तेलखरि र पितराइन, रातिको अन्तिम प्रहरमा ओठगन गर्ने चलन छ । अष्टमी तिथिका दिन व्रतालुले नजिकको पोखरी, तलाउमा स्नान गरी भगवान् सूर्यलाई अर्घ अर्पण गर्छन् ।
त्यसपछि व्रतको संकल्प गर्छन् र घरमा आएर डाली भर्ने गरिन्छ । डालीमा नरिवल, काँक्रो, स्याउ, केरा लगायत फलफूल राखेर नयाँ कपडाले छोपिन्छ ।
मध्यान्हतिर टोलभरिका आमा एक ठाउँमा भेला भई जिमुतवाहन व्रतको महत्व, पर्वको शुभारम्भ र जिमुतवाहन देवताका बारेमा कथा सुन्ने गर्छन् । साँझतिर आँगनमा गाईको गोबरले लिपपोत गरी एउटा सानो खाल्डो खनेर पोखरीको निर्माण गरिन्छ ।
त्यो पोखरीको डिलमा पाकडी रूखको सानो हाँगा गाड्नुका साथै हाँगाको माटोको चिलको आकृति र हाँगामुनि स्यालको आकृति बनाउँछन् । त्यहाँ जलले भरिएको कलशमा कुशको जिमुतवाहनको मूर्ति राखिन्छ र फलफूल लिएर जिमुतवाहनको व्रतालुले पूजापाठ गर्छन् ।
नवमी तिथिका दिन व्रतालुले स्नान गरी पवित्र भई पूर्ववत् जिमुतवाहन, चिल, स्याल र दिवङ्गत महिलालाई नैवेद्य अर्पण गरी प्रसाद लिई पारण गरी व्रत सम्पन्न गरिने परम्परा छ ।