किशोरी बलात्कारका ४ आराेपी पक्राउ
एक किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा आइतबार बिहान मोरङमा ४ जना पक्राउ परेका छन् ।
ग्रामथान गाउँपालिका–७ स्थित केराघारीमा १७ वर्षीया किशोरीलाई शनिबार राति बलात्कार गरेको आरोपमा पक्राउ परेकाहरूलाई आइतबार नै प्रहरीले सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा ग्रामथान–५ का सुरेश थानदार (२०), कमल पुरी (२५), प्रकाशकुमार थारु (२२) र बेलबारी ५ का सन्तोषकुमार माझी (२२) रहेका छन् । उनीहरूलाई आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ ।
सुन्दर हरैंचा–१ निवासी किशोरीलाई सो समूहले स्थानीय चिनारी खनालको केराबारीमा राति साढे ९ बजे लगेर बलात्कार गरेको प्रहरीले बताएको छ।
राति १ बजे पीडितको परिवारले इलाका प्रहरी कार्यालय हरैंचामा जानकारी गराए लगत्तै चारै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बलात्कारमा संलग्न व्यक्तिहरूका बारेमा अनुसन्धान भई रहेको पनि प्रहरीले बताएको छ ।
यसैबीच मोरङ प्रहरीले नजिकिंदो चाडलाई लक्षित गरी मठमन्दिरको सुरक्षा र जुवा, तास तथा पटका नियन्त्रणका लागि सुरक्षा योजना बनाएको छ।
दशैं, तिहार, छठ सुरक्षा योजनामा बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसलमा हुन सक्ने चोरी तथा लुटपाट, जुवाजन्य खेल, दैनिक उपभोग्य वश्तु तथा इन्धनको कृत्रिम अभाव, सीमा नाकामा चोरी, निकासी, लगायत रोक्न विराटनगरमा दैनिक ९२ जना प्रहरी परिचालन गरिने भएको छ ।
विराटनगर महानगरपालिका बाहिरको सुरक्षाका लागि पिकेट, पैदल, गाडी र मोटरसाइकल गस्ती गरी १ सय ६२ जना प्रहरी परिचालन गरिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दशैं, तिहार र छठको अवधिमा मोरङमा ९ सय ६० जना प्रहरी परिचालित हुने बताइएको छ ।