नेपालले राष्ट्रसंघको ७४औँ महासभामा विकासका मुद्दा उठाउने
गत मंगलबारदेखि शुरु भएको संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभाअन्तर्गत आगामी सोमबारदेखि शुक्रबारसम्म न्यूयोर्कमा हुने उच्चस्तरीय बैठकमा नेपालले विकासका विषयलाई जोडदार रूपमा उठाउने भएको छ ।
सम्मेलनमा विश्वका १८८ देशका राष्ट्राध्यक्ष वा सरकार प्रमुख वा उपराष्ट्रपति वा उपप्रधानमन्त्री अथवा विदेशमन्त्री र प्रतिनिधिको सहभागितामा हुनेछ ।
जलवायु परिवर्तन, दिगो विकास, विश्वव्यापी स्वास्थ्य सरोकार, दिगो विकासका लागि उच्चस्तरीय राजनीतिक मञ्च, विकास लागि लगानी, अल्प विकसित मुलुकका मामिलालगायत विषय सम्मेलनमा हुनेछन् ।
बैठकमा नेपालले पनि सक्रिय भएर आफ्ना विकासका प्राथमिकता र साझा चासोका अन्तर्राष्ट्रिय मुद्दामा आफ्नो अभिमत प्रस्तुत गर्नेछ ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको नेतृत्वमा यही ६ असोजमा हुने जलवायु परिवर्तनसम्बन्धी बैठकमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसहितको नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ ।
बैठकमा नेपाल सरकारले जलवायु परिवर्तन–२०७६ कार्यान्वयनका साथै अनुकूलन क्षमता वृद्धिका दिशामा अपनाएका उपाय, कृषि र खाद्य सुरक्षा, वन तथा जैविक विविधता, संरक्षणका क्षेत्रमा गरेका प्रगतिबारे जानकारी गराउनेछ ।
प्रतिनिधिमण्डलका नेता ज्ञवालीसहित उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव र स्वास्थ्य सचिव डा पुष्पा चौधरी सम्मिलित उक्त बैठकमा नेपालले स्वास्थ्यका क्षेत्रमा हासिल गरेका उपलब्धि र चुनौतीबारे अन्तर्राष्ट्रिय समुदायलाई सुनाइनेछ ।