मजदुर आन्दोलनका योद्धा गुप्ताको निधन
२००७ सालको मजदुर आन्दोलनका योद्धा रघुनाथप्रसाद गुप्ता (९५) को शुक्रबार राति विराटनगरमा निधन भएको छ ।
विराटनगर जुट मिल्समा मनमोहन अधिकारीका निकट भएर राणा शासन विरुद्धको आन्दोलनमा लागेका गुप्ताको शनिबार विराटनगरस्थित सिंघिया घाटमा अन्त्येष्टि गरिने भएको छ ।
रघुनाथका दाजु विश्वनाथ गिरिजाप्रसाद कोइरालाको निकट भएर सोही आन्दोलनमा लागेका थिए । उनको यसअघि नै निधन भइसकेको छ ।
रघुनाथको पार्थिव शरीरमा नेकपाका नेताहरूले झण्डा ओढाउने कार्यक्रम छ । दुई साता विराट नर्सिङहोममा राखेर गुप्तालाई विराटनगर १५ स्थित निवासमा लगेपछि उनको निधन भएको हो ।
उनका छोरा तथा नेपाली कांग्रेस जिल्ला सदस्य राजेश गुप्ताका अनुसार, बाबु बिरामी भएर अस्पतालमा राखिएका बेला पार्टी सभापति शेरबहादुर देउवा भेट्न आएपनि नेकपाका नेताहरू भने गएका थिएनन् ।
स्वतन्त्रता सेनानी दाजुभाइ रघुनाथ र विश्वनाथले २००७ सालको मजदुर क्रान्तिमा राणा शासन विरुद्ध लड्न डोजरलाई ट्याङ्क बनाउन सहयोग गरेका थिए । त्यस बेला दुवै दाजुभाइ जुटमिलका हेडमिस्त्री थिए ।
विराटनगर जुटमिलका मजदुरले सैनिकले प्रयोग गर्ने जस्तै ट्याङ्क बनाएर अञ्चलाधीश कार्यालयमा आक्रमण गरेका थिए।