बेसहारा र मानसिक रोगीको उद्धारमा मन्त्रीको सक्रियता
प्रदेश १ सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेले बेसहारा भएर सडकमा हिंड्ने मानसिक रोगीको उद्धार सुरु गरेका छन् ।
शनिबार बिहान विराटनगर ३ बाट एक महिलाको उद्धार गरिएको छ भनें अर्की महिलाको असहमतिका कारण उद्धार सम्भव भएन ।
मन्त्री घिमिरे, मन्त्रालयका सचिव वीरबहादुर राईसहितको टोलीले लामो समयदेखि मानसिक रोगी भएर घर आसपास बस्दै आएकी महिलालाई फकाएर मानव सेवा आश्रमको जिम्मा लगाएको छ ।
घरबार विहीन अर्की महिलालाई भनें चिकित्सकसहित गएर औषधि खुवाई महिला प्रहरी मार्फत उद्धार गरिने बताइएको छ ।
स्थानीयका अनुसार, ती महिला ६ वर्षदेखि एउटै टोलमा घुमेर बस्दै आएकी छन् । “बेला बेला घरपरिवारको सन्चो बिसन्चो सोध्नुहुन्छ होसका कुरा गर्नुहुन्छ बिरामी जस्तो लाग्दैन”, स्थानीय एक महिलाले भनिन्, “कहिलेकाहीँ मात्रै होस गुमेका कुरा गर्नुहुन्छ, कुदिरहनु हुन्छ ।” उद्धारमा गएको समूहले फकाउने प्रयास गर्दा अञ्चलाधीश, सीडीओले धनको लोभ दिए पनि आपूm नगएको बताउँदै उनले भनेकी थिइन्, “मेरो उपचार हैन आफ्ना छोराछोरी र परिवारको ख्याल गर्नू ।”
“सडकमा रहने महिलामा यौनहिंसा बढी हुने गरेको छ”, मन्त्री घिमिरेले भने, “पहिलो चरणमा महिलाको उद्धार गरेर पछि अरुको उद्धार गरिने छ ।”
१ असोजदेखि विराटनगरमा सञ्चालनमा आएको मानव सेवा आश्रममा भोजपुरमा यौनहिंसामा परेकी एक महिलालाई उनको शिशुसहित उद्धार गरेर ल्याइएको छ । सडकमा बस्ने जो कोहीलाई पनि उद्धार गरेर उपचारमा लैजाने मन्त्री घिमिरे बताउँछन् ।
“सडकमा माग्न बस्नेहरूको पनि निगरानी सुरु भएको छ, उनीहरु किन माग्न बाध्य भए ? त्यो पत्ता लगाएर उद्धार गरिन्छ”, घिमिरेले भने, “सडक मानव रहित प्रदेश बनाउने हाम्रो लक्ष्य छ ।”
उनका अनुसार, उद्धार गरिएकाहरूलाई आवश्यकता अनुसार अस्पतालमा वा आश्रममा राखेर चिकित्सकको निगरानीमा उपचार गराई परिवारमा पुनरस्थापना गराइने योजना रहेको छ ।
उद्धार गरिएका मानिसको संख्या धेरै हुन सक्ने भएकाले यसमा सरकार र एक मात्र सामाजिक संस्थाको पहल पर्याप्त नहुने भएकाले सबै क्षेत्रको सहयोग आवश्यक रहेको उनको भनाइ छ ।
सडकमा बेवारिसे बनेर कसैले पनि बस्नु नपरोस् भनेर कार्ययोजना बनाइँदै गरेको जानकारी दिंदै मन्त्री घिमिरेले बिरामी वा सडकमा बस्दै आएका मानिसहरूका परिवारलाई पनि यस योजनालाई सघाउन आग्रह गरे ।