संविधान दिवसमा तीनजनालाई रु ५ लाखसहित सम्मान
संविधान दिवसका अवसरमा प्रदेश १ सरकारले विभिन्न विधामा ख्याति कमाएका प्रदेशभित्रका ३ जनालाई जनही रु ५ लाख राशिसहितको पुरस्कारले सम्मान गरेको छ ।
राष्ट्रगानका रचनाकार प्रदीपकुमार राई (ब्याकुल माइला), २४ पटक सगरमाथा आरोहण गर्ने विश्वकीर्तिमानी कामीरिता शेर्पा र अल्ट्रा म्याराथनबाट नेपालको झण्डा विश्वमा पुर्याउने मिरा राईलाई प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङले सम्मान गरे । व्याकुल माइला ओखलढुङ्गा, शेर्पा सोलुखुम्बु र राई भोजपुर निवासी हुन् । शेर्पा अनुपस्थित भएकाले उनको पुरस्कार आफन्तलाई दिइयो ।
संविधान दिवसका अवसरमा आयोजित सभामा प्रदेश प्रमुख तुम्बाहाङले प्रदेशबासीलाई शुभकामना दिए । मुख्यमन्त्री शेरधन राईले सग्लो नेपालको बलियो जग र राष्ट्र निर्माणको बलियो आधार स्तम्भ नै संविधान भएको बताए ।
उनले गरीबी निवारण, रोजगारी सिर्जना, आयस्तरमा वृद्धि गर्ने प्रदेश सरकारले लक्ष्य रहेको बताउँदै गुणस्तरीय शिक्षा, प्राविधिक ज्ञान, सीप र तालिमको माध्यमबाट युवाको सशक्तीकरण गर्ने जानकारी दिए ।
दिवसका अवसरमा निकालिएको प्रभातफेरीले नगर परिक्रमा गरेको थियो । प्रभातफेरीपछि आयोजित सभामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्काउट, विभिन्न जाति लगायतका झाँकी र परेड प्रदर्शन गरियो । झाँकी र परेडमा प्रथम, द्वितीय र तृतीय हुनेहरूलाई पुरस्कृत गरियो ।