अदुवाको मूल्य अहिलेसम्मकै उच्च
खोटाङमा अदुवाको मूल्य अहिलेसम्मकै उच्च भएको छ । प्रतिकेजी रु. २५ देखि ३० मा पाइने अदुवाको मूल्य बढेर प्रतिकेजी रु. २२० सम्ममा खरीद तथा बिक्री भइरहेको छ ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र समेत रहेको दिक्तेलबजारमा शनिबार र बुधबार लाग्ने हटियामा अदुवा किन्नेको तछाडमछाड नै चल्ने गरेको छ । अदुवा मसलाका रुपमा प्रयोग गरिन्छ ।
विकसित शहरमा अदुवाबाट केण्डी, सुठो, जुसलगायत विभिन्न परिकार बनाइए पनि यहाँ प्रविधिको अभावमा मसलाका रूपमा मात्रै प्रयोग गरिन्छ । मूल्य बढ्नुको कारण भने उत्पादनमा कमी आएकाले हो ।
आदिवासी जनजाति समुदायको बाहुल्यता रहेको जिल्लामा अदुवालाई मसलाका साथै पितृकार्यमा समेत प्रयोग गर्ने गरिएको छ । तर, उत्पादन कम हुँदा पितृकार्यमा प्रयोग गर्न समेत अनुदाको अभाव देखिएको स्थानीय बताएका छन् ।
जिल्लाका किराँत राई र मगर समुदायले पितृकार्यमा अदुवा प्रयोग गर्ने गरेका छन् । आफूले उत्पादन गरेको अदुवा बिक्री नभएपछि दुई वर्षदेखि खेती नै गर्न छाडिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका अगुवा कृषक धर्मराज राईले बताउँछन् ।
“यसअघि उद्योग वाणिज्य सङ्घले खरीद गर्ने भनेर अन्य सबै खेती छाडेर अदुवाखेती गरियो” उनले भने, “पछि आएर वाणिज्य सङ्घले खरीद नगरेपछि कुहिएर नष्ट हुँदा अहिले खेती नै गर्न छाडियो ।”