७४ छाडा कुकुरकाे बन्ध्याकरण
बजार क्षेत्रमा दिन प्रतिदिन छाडा कुकुरको संख्या बढ्दै गएपछि हेलम्बु गाउँपालिकाले नियन्त्रण गर्न थालेकोे छ।
कुकुरको संख्या बढ्न नदिन गाउँपालिकाले स्थायी बन्ध्याकरण शुरु गरेको हो ।
उक्त गाउँपालिका र नेपाल एनिमल वेलफेयर एण्ड रिचर्सको आर्थिक सहयोगमा जिल्ला पशुसेवा कार्यालयले कुकुर आतंक नियन्त्रणका लागि ४३ भाले कुकुरलाई भ्यासेक्टोमी र ३१ पोथी कुकुरलाई मिनिल्याप गराएको छ ।
छाडा कुकुरको संख्या बढ्दै जाँदा बजार क्षेत्रमा बढी होहल्ला हुने र कुकुरको टोकाइले रेबिज रोगको संक्रमण हुने खतरा भएकाले तिनलाई स्थायी बन्ध्याकरणका साथै रेबिजविरुद्धको सुई लगाइएको पशुसेवा कार्यालयका प्रमुख टोपबहादुर बरुवालले जानकारी दिए ।
गाउँपालिकाभित्रको मुख्य बजार क्षेत्रका ७४ छाडा कुकुरलाई नियन्त्रणमा लिएर सुरक्षित साथ बन्ध्याकरण गरिएको उक्त गाउँपालिकाले जनाएको छ ।
यो अभियानमा स्थानीयवासीको उल्लेखनीय सहयोग हुनाका साथै उनीहरूमा खुशी छाएकाले यस्तो कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिइने प्रमुख बरुवालले बताए ।