जोगवनी नाकामा सशस्त्र र एसएसबीकाे संयुक्त सहायता कक्ष
विराटनगर र भारतीय बजार जोगबनीको बीचमा रहेको दशजगा क्षेत्रमा सोमबारदेखि नेपालको सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले संयुक्त रूपमा सहायता कक्ष सञ्चालन गरेका छन् ।
सीमा क्षेत्रमा रहने सशस्त्र प्रहरी र एसएसबीले दुवै देशतर्फ आवत जावत गर्नेलाई निगरानी र आवश्यक सहयोग गर्ने बताइएको छ ।
नजिकिंदो दशैं र तिहारलाई लक्षित गरी दुवै देशका सुरक्षाकर्मी रहने गरी नागरिक सहायता कक्ष सञ्चालनमा ल्याइएको सशस्त्र प्रहरी बल ३ नम्बर गणका उपरीक्षक नेत्रबहादुर कार्कीले बताए ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारी, भारततर्फ अररिया जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी, एसएसबी ५६ औं बटालियनका कमाण्डेण्ट मुकेश त्यागी लगायतको उपस्थितिमा संयुक्त कक्षको आरम्भ गरियो ।
सहायक प्रजिअ सुनारले सीमामा रहने संयुक्त कक्षले खुला सिमानामा हुने अपराध नियन्त्रणमा पनि सहयोग पुग्ने बताए ।
“सीमा क्षेत्रका बासिन्दाले भोग्नु परेका अफ्ठ्यारालाई सहायता कक्षले सहयोग गर्नेछ”, सुनारले भने, “यसले क्रस बोर्डर क्राइमलाई पनि कम गर्ने आशा गरिएको छ ।”
सीमामा आइपर्ने भारु, नेरुको समस्या समाधान गर्न कक्षले सहयोग गर्ने तथा दुई देशबीच आवत जावत गर्ने नागरिकको चेकजाँच पनि गरिने उनले बताए । चाडबाडलाई लक्षित गरी स्थापना गरिएको कक्षलाई आवश्यकता अनुसार लम्ब्याएर लैजान सकिने उनको भनाइ छ ।