प्रधानमन्त्री ओलीका समकालीन केआर खम्बूको आत्मकथा ‘छायाँको लस्कर’ आउँदै
झापा आन्दोलनताका वर्तमान प्रधानमन्त्री केपी ओली र उनका समकालीन कम्युनिष्ट नेताहरूसँग राजनीतिक सहयात्रा गरेका केआर खम्बू ‘छायाँको लस्कर’पुस्तक लिएर आउँदै छन् ।
उभयचर र सरीसृप प्राणीमाथि विद्यावारिधि गर्ने पहिलो नेपाली प्राध्यापक खम्बूले ‘छायाँको लस्कर’लाई आत्मपरक शैलीमा लेखेका छन्।
पब्लिकेसन्स नेपालयबाट प्रकाशित हुन लागेको केआर खम्बूको आत्मकथामा उनको वैयक्तिक कथासँगै त्यसबेलाको सामाजिक र राजनीतिक परिवेशको चित्रण छ ।
मोहनचन्द्र अधिकारी, सिपी मैनाली, केपी ओली, मदन भण्डारी, माधव नेपाल, गोविन्द न्यौपानेहरूसँगै राजनीतिक यात्रा थालेका खम्बूले पढाइकै क्रममा नेत्र ज्योति गुमाएका थिए ।
‘छायाँको लस्कर’मा विगतका अविस्मरणीय क्षण र सम्झनालाई उधिनेका छन् । खुट्टामा जुत्ता नहुने पूर्वी पहाड खोटाङको बाल्यकालदेखि तराई झरेको तरुनो अवस्था र राजधानीको विद्यार्थी राजनीतिको सेरोफेरोमा उनको कथा घुमेको छ ।
प्राध्यापक केआर खम्बूको कथाले सामान्य व्यक्तिको असामान्य साहस र सङ्घर्ष बोलेको छ । यसले एउटा राजनीतिक कालखण्डको सङ्घर्षको प्रतिनिधित्व पनि गर्छ । प्राध्यापक खम्बूले आफ्नो जीवनको कथा लेखनमा सरल र रसिलो भाषाको प्रयोग गरेका छन् ।
दशैं अगावै सार्वजनिक गरिने तयारीमा रहेको पुस्तकको मूल्य हाललाई पाँच सय ४५ रुपैयाँ तोकिएको छ ।