क्यानको निर्वाचन १० र ११ असोजमा
नेपाल क्रिकेट सङ्घ (क्यान)को केन्द्रीय निर्वाचन आगामी १० र ११ असोजमा हुने भएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)का प्रतिनिधि इमरान ख्वाजा र अमर शेख, राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवाल र स्वतन्त्र कमिटीका कानूनी परामर्शदाता राजेश्वर श्रेष्ठसहितको सोमबार बसेको बैठकले क्यान निर्वाचनको मिति तय गरेको हो ।
यसअघि जिल्ला र प्रदेशको निर्वाचन सकिएपछि स्वतन्त्र समितिले ३ र ४ असोजका लागि केन्द्रीय निर्वाचनको मिति तोकेको थियो । तर, त्यसमा राखेपले असहमति जनाएपछि चुनाव हुने\हुनेबारे अन्योल भएको थियो ।
राखेप सदस्यसचिव सिलवालले निर्वाचन, निर्वाचनलाई कसरी स्वतन्त्र पारदर्शी बनाउने र आईसीसीको बैठकमा क्यानको निलम्बनलाई कसरी फुकुवा गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको जानकारी दिए ।
उनले अब बस्ने आईसीसीको बैठकमा क्यानको निलम्बन फुकुवा हुनेमा आफू आशावादी रहेको बताए । त्यस्तै नेपालमा क्रिकेट पूर्वाधारका साथै प्रतियोगिता आयोजना र खेलाडीको प्रशिक्षणलाई कसरी राम्रो गर्न सकिन्छ भन्ने विषयमा आईसीसी सकारात्मक रहेको सदस्यसचिव सिलवालको भनाइ थियो।
त्यसैगरी आईसीसीका प्रतिनिधि इमरान ख्वाजाले नेपाली क्रिकेटमा विद्यमान विवाद समाधानको अन्तिम चरणमा रहेको बताए । उनले निर्वाचन भएपछि औपचारिक रुपमा क्रिकेटमा नयाँ नेतृत्व आउने र त्यसपछि आईसीसीको आगामी बैठकमा क्यानको निलम्बन फुकुवाका लागि पहल गर्ने बताए।