विराटनगरमा सीसीटीभी सञ्चालनमा
प्रदेश १ को राजधानी विराटनगर र आसपासका क्षेत्रको निगरानी गर्न ५८ वटा सीसीटीभी क्यामेरा सञ्चालनमा ल्याइएको छ ।
सोमबार एक समारोहका बीच मुख्यमन्त्री शेरधन राईले सीसीटीभी सुचारुको सुरुवात गरेका छन् ।
प्रदेश सरकारको लगानीमा भारतीय सीमावर्ती विराटनगरदेखि उत्तर राजमार्गमा पर्ने पथरी र उर्लाबारी क्षेत्रमा जडान गरिएको क्यामेरा विधिवत रुपमा सुचारु गरिएको छ ।
विराटनगर महानगर क्षेत्रमा ३२ ठाउँमा जडान गरिएका क्यामेराको कन्ट्रोल रुम जिल्ला प्रहरीमा र राजमार्गमा जडित क्यामेरालाई इलाका प्रहरी पथरी र उर्लाबारीले निगरानी गर्नेछ ।
मुख्यमन्त्री राईले क्यामेरा सुचारु गरेर प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई हस्तान्तरण गरे । “शान्तिको अनुभूति नभई विकास अघि बढ्न नसक्ने भएकाले प्रविधियुक्त प्रहरी बनाउने हाम्रो सुरुवात हो” राईले भने ।
प्रविधियुक्त सुरक्षा नभए विकास सम्भव नभएको बताउँदै राईले सुरक्षा मजबुत बनाउन प्रदेश सरकारले कुनै कसुर नछाड्ने जानकारी दिए ।
कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीलाई प्रविधियुक्त र अन्तर्राष्ट्रिय स्तरको बनाउने बताए ।
“प्रविधियुक्त प्रहरी बनाउन प्रदेश १ बाटै १ नम्बर कामको थालनी भएको छ”, महानिरीक्षक खनालले भने, “हामी पनि नेपाल प्रहरीलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन चाहन्छौं ।”
उनले संघ, प्रदेश र स्थानीय सरकारको सहयोग बिना प्रहरीबाट मात्रै सुरक्षा र अनुसन्धान सम्भव नभएको बताउँदै बजेट अभावमा प्रहरीले डिजेल र टायर बापत रकम माग्नु पर्ने अवस्था कम हुँदै गएको जानकारी दिए ।
विराटनगर महानगरका मेयर भिम पराजुलीले नगरभित्रको सुरक्षाका लागि यस वर्ष रु २० लाख र सीसीटीभीका लागि रु १० लाख बजेट छुट्याइएको बताए ।