नारायणी नदीमा दशैं अघि मिनी पानीजहाज परीक्षण
सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा निर्माण भइरहेको रिभर क्रुजसिप (मिनी पानीजहाज) को परीक्षण यात्रा दशैँअघि गरिने राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले जनाएको छ ।
क्रुजको बाह्य निर्माणकार्य सम्पन्न भई रङरोगन र सजावटको काम शुरु भएको क्रुज निर्माण गरिरहेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले बताएको छ । सोमबारसम्ममा क्रुजको मुख्य इन्जिन पनि नेपाल भित्रिने बताइएको छ ।
इन्जिन जडानलाई धेरै समय नलाग्ने भएकाले सजावट र रङरोगनको काम १५ दिनभित्र सम्पन्न गरी नदीमा परीक्षण गरिने प्रालिले बताएको छ ।
उक्त परीक्षण पछि नियमित सञ्चालन भने दशैंपछि मात्र गर्ने तयारी गरिएको छ ।
भुईंतला मात्र वातानुकूलित बनाइने भनिएकोमा पहिलो तल्ला पनि वातानुकूलित बनाइने भएको छ । पहिलो तल्लाको अगाडिको भाग र दोस्रो तल्ला समेतमा पर्यटकले उभिएर अवलोकन गर्न सक्नेछन् । क्रुजमा २०० जना सिटमा अट्ने छन् भने ३० जना उभिएर यात्रा गर्न सक्ने गरी स्वरुप परिमार्जन गरिएको छ ।
क्रुजमा बिहानको खाजा खाँदै नदीमा सयर गर्न चाहनेले ब्रेकफाष्ट, अपरान्ह खाना खाँदै रमाउन चाहनेका लागि लञ्च र साँझमा डिनरको पनि क्रुजमा नै व्यवस्था हुने बताइएको छ ।
प्रत्येक क्रुजिङ यात्रा करीब तीन घण्टा लामा हुनेछ । काभ्रेघाटदेखि यात्रा शुरु भई देवघाट पुगेर गोलाघाटसम्म २५ किलोमिटरको दूरी रहेको यो जलयात्राका लागि बाटोसमेतको अध्ययन भइसकेको छ । क्रुज दुई तल्ला, १०० फिट लम्बाइ र २५ फिट चौडाइको हुनेछ ।