डेङ्गीबाट नडराऔं
–डा.नारायण ज्ञवाली
नयाँ वर्ष आरम्भ भएसँगै पूर्वी–तराईबाट शुरु भएको डेङ्गी अहिले देशका ४० बढी जिल्लामा फैलिएर लगभग पाँच हजार मानिस सङ्क्रमित भइसकेका छन् । यद्यपि यो सरकारी तथ्याङ्क यथार्थपरक छैन ।
डेङ्गी खोक्दा, हाच्छिउँ गर्दा वा शरीरबाट निस्कने र्याल, पीप अथवा थुक जस्ता तरल पदार्थका माध्यमबाट सर्दैन । यो एडिस जातिका (एजिप्टाइ र अल्बोपिक्टस) पोथी लामखुट्टेको टोकाइबाट सङ्क्रमण हुने भाइरल ज्वरो हो ।
यसको सङ्क्रमण हुँदा केही दिन ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुने जस्ता लक्षण देखिन्छन् । सङ्क्रमितमध्ये केही सिकिस्त हुन पनि सक्छन् ।
डेङ्गी सङ्क्रमितमा रगतमा पानीको मात्रा कम भई रक्तचाप घट्छ । प्लेटलेटको संख्या कम हुन थाल्छ । रक्तनलीहरूबाट शरीरका अन्य तन्तुमा रगत जान थालेपछि शरीरमा राता डाबर देखा पर्न सक्छन् ।
रक्तचाप निकै कम हुने र शरीरमा आवश्यक रगतको अभाव हुँदा बिरामीको मृत्युसम्म हुन सक्छ । डेङ्गी भाइरसको संरचना, विविधता, बिरामीको रोग प्रतिरोधात्मक शक्ति, वंशाणुगत पृष्ठभूमि, डेङ्गी लामखुट्टेले सार्ने अरू भाइरसको उपस्थिति आदिले डेङ्गी भाइरसको रोग वृद्धि हुने क्षमता निर्धारण गर्छ ।
डेङ्गी हो होइन भनेर खुट्याउने किट छैन वा अभाव छ जस्ता टिप्पणी सार्वजनिक हुनु सरकारको गैर–जिम्मेवारी र रोग नियन्त्रणप्रतिको बेवास्ताको परिणाम हो ।
सन् २०१० देखि बढिरहेको डेङ्गी कुनै बेला महामारी बन्न सक्ने भविष्यवाणी विज्ञहरूले गर्दैै आए पनि सरकारले पूर्व तयारी स्वरुप र्यापिड किट समेत प्रबन्ध गर्न सकेन । त्यस्तो किट खासै महँगो पर्ने पनि होइन । पाँच महीना अघिदेखि फैलन शुरु भएको डेङ्गी नियन्त्रण हुनुको साटो अनपेक्षित रूपले बढ्दै गएको छ । यसको अर्थ हामी कहीं चुकिरहेका छौं ।
सरकारले डेङ्गी नियन्त्रण गर्ने कार्य प्राथमिकतामा नराख्नु पनि एक प्रमुख कारण हो । तीन तहका सरकारबीच समन्वयको कमी हुनु र एकले अर्कालाई दोषारोपण गरेर समय बिताउनु अन्य कारण हुन् । अहिले, लामखुट्टे मार्न औषधियुक्त धुवाँ उडाउने कार्य ‘फगिङ’ भइरहेको छ ।
‘फगिङ’ ले पानीमा रहेका अन्डा, प्युपा र लार्भा नष्ट गर्न नसक्ने हुँदा तीन–चार दिनमै लामखुट्टे फेरि देखापर्न थाल्छन् । डेङ्गी फैलाउने लामखुट्टे सामान्यतया मानिसकै वरिपरि, घरभित्रै बस्ने भएकाले बाहिरको फगिङ त्यति प्रभावकारी नहुँदा प्रकोपको जोखिम रहिरहन्छ ।
लामखुट्टे अनुकूल जीवनशैली
शहरमा अव्यवस्थित र घना बस्ती छ । घर वरिपरि जम्मा भएको पानी लामखुट्टेका लागि लार्भा उत्पादन गर्न उपयुक्त स्थान हो । बाटाघाटामा अनगिन्ती खाल्टाखुल्टी भएकाले पानी जम्छ । सडक छेउका नालीहरू नढाकिएका र सधैं पानी जमिरहने खालका छन् ।
हाम्रा पवित्रस्थल मन्दिरमा समेत पूजाअर्चना गर्दा थोरै–धेरै जल रहेकै हुन्छ । पालाहरूमा वर्षाको पानी जमेको हुन्छ । चियापसल, भट्टी जस्ता ठाउँहरू जहाँ मानिस गफिएर बसेका हुन्छन्, त्यसकै छेउछाउमा पानी जमेको हुन्छ । यसरी हेर्दा हाम्रा संरचना र दैनिकीहरू लामखुट्टेमैत्री छन् भन्ने सकिन्छ ।
जलवायु परिवर्तन र पहाडी क्षेत्रका शहरहरूमा बढ्दो तापक्रमका कारण पनि लामखुट्टेको वृद्धि–विकासमा सहयोग पुगेको छ । तापक्रमको अनुकूलतासँगै लामखुट्टे तराईबाट पहाडतिर स्थानान्तरण हुँदैछन् ।
प्लास्टिकका बोतल, चाउचाउ जस्ता जङ्क फूडका खोल यत्रतत्र फाल्ने गरिएको छ । सडक, बसपार्क, मठमन्दिर, पार्क लगायतका सार्वजनिक स्थानहरूमा डस्टबिन नहुँदा मानिसहरू यत्रतत्र फोहोर फाल्न बाध्य छन् । फोहोर हुन नदिन सडक विभाग, नगरपालिका, वडा र गाउँबाट कसैले अग्रसरता नदेखाउनु र आआफ्नो भूमिका बुझ्न नसक्नु अर्को चुनौती हो ।
शहरी क्षेत्रमा खानेपानीको अभाव हुन नदिने र हरेकले सङ्कलन गरेर राखिएको पानी छोपेर राख्ने बानी नगरेसम्म लामखुट्टेको संख्यामा कमी ल्याउन सकिंदैन । यहाँ डा.शेरबहादुर पुनको भनाइ स्मरणीय छ– “यो समस्या समाधानको चाबी स्वास्थ्य मन्त्रालयसँग नभई खानेपानी मन्त्रालयसँग छ ।”
यसपटकको डेङ्गी महामारी पहिलेको भन्दा फरक छ । डाक्टरहरूका अनुसार अहिले बिरामीहरूले घाँटी र कान दुख्ने गुनासो गरेका छन् । पहिलेका प्रकोप सामान्यतया कुनै निश्चित स्थानका हुन्थे ।
त्यस कारण पनि अहिले ‘सर्कुलेट’ भएका डेङ्गी भाइरसहरू वंशानुगत रूपमा पहिलेका भन्दा फरक रहेको अनुमान गर्न सकिन्छ । अहिले दुई वा बढी ‘सेरोटाइप्स’ एकै चोटि फैलिएको हुन सक्छ । यसबारे सूक्ष्म अध्ययन जरूरी छ ।
प्रायः हरेक वर्ष देखिएका डेङ्गी के–कस्ता छन्, कुन ‘सेरोटाइप्स’ र कुन ‘जिनोटाइप्स’ हुन् ? कुन सेरोटाइप्सको प्रवृत्ति कस्तो छ, वंशानुगत परिवर्तन भएको छ कि ? लामखुट्टे के कसरी कता र किन स्थानान्तरण हुँदैछन् ?
जस्ता विषयमा अनुसन्धान गर्न सकियो भने महामारीको पूर्वानुमान र नियन्त्रण गर्न सजिलो हुन्छ । अहिलेसम्म विदेशीहरूले गरेका पूर्वानुमान, प्रकोपका कारण, बच्ने उपाय र योजनामा निर्भर हुनु परेको छ । ती सबै हाम्रा लागि जस्ताको तस्तै लागू नहुन सक्छन् ।
अहिलेसम्म डेङ्गीको औषधि अथवा खोप नेपालमा छैन तर प्रारम्भिक लक्षणका आधारमा चिकित्सकले डेङ्गी सजिलै निको पार्न सक्छन् । डेङ्गी सङ्क्रमण र महामारीबाट बच्ने सरल र उत्तम उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु नै हो ।
(डा. ज्ञवाली अष्ट्रेलियाको क्विन्सल्यान्डस्थित मेडिकल रिसर्च इन्ष्टिच्युटको लामखुट्टे नियन्त्रण प्रयोगशालामा पोस्ट–डक्टरल वैज्ञानिकका रूपमा कार्यरत छन्।)