के चिनियाँ राष्ट्रपति नेपाल आउलान् ?
साँध–सीमा जोडिएको नेपालमा प्रतिस्पर्धी मुलुकहरूको बढ्दो सक्रियताले झस्किएका चीनका राष्ट्रपति सी चिनफिङ काठमाडौं आउने सम्भावना बढेको छ।
सन् २०१८ को मार्चमा चिनियाँ राष्ट्रिय जनकंग्रेसले दोस्रो कार्यकालका लागि पनि अनुमोदन गरेपछि राष्ट्रपति सी चिनफिङले डेढ वर्षमा २१ वटा अन्तर्राष्ट्रिय भ्रमण गरिसके ।
गत जूनमा मात्रै उनी चार छिमेकी मुलुक रसिया, किर्गिस्तान, ताजकिस्तान र उत्तरकोरियाको राजकीय भ्रमण र जी–२० देशहरूको बैठकमा सहभागी हुन जापान गए ।
नोभेम्बर दोस्रो साता उनी चिली र ब्राजिल भ्रमणमा निस्किंदैछन् । त्यसअघि अक्टोबरमा राष्ट्रपति सी उहान शिखर वार्ताको दोस्रो चरणको भेटघाटका लागि भारत आउने र त्यही मेसोमा काठमाडौं ओर्लने ‘अपुष्ट खबर’ बाहिरिएका छन् ।
२२–२४ भदौमा भएको चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणपछि त राष्ट्रपति सीको सम्भावित नेपाल यात्राबारे अड्कल काट्न सजिलो भएको छ । सुरक्षा स्थितिको ‘रेकी’ गर्न आगामी साता चिनियाँ सुरक्षा अधिकारीहरूको सम्भावित आगमनले पनि राष्ट्रपति सी भ्रमणको तारतम्य मिलेको अनुमान गर्न सकिन्छ ।
सन् २०१३ मा राष्ट्रपति निर्वाचित भएपछिको पहिलो कार्यकालमै सीले दक्षिण एशियाका भारत, पाकिस्तान, माल्दिभ्स, श्रीलङ्का, बाङ्लादेश र सीमा जोडिएका छिमेकी मुलुकहरूको भ्रमण गरे । तर, गृहयुद्धमा होमिएका अफगानिस्तान र बर्मा जस्तै नेपाल पनि राष्ट्रपति सीको भ्रमण गन्तव्यको सूचीमा परेन ।
यसबाट पनि चीनका लागि नेपाल कम प्राथमिकताको छिमेकी भएको बुझ्न कठिन थिएन । सन् २०१६ को अक्टोबरमा भारतको गोवामा भएको ब्रिक्स सम्मेलनको क्रममा राष्ट्रपति सी नेपाल आउने चर्चा थियो, तर त्यो अनुमानमा सीमित भयो ।
नेपाली पक्षले राष्ट्रपतिको भ्रमणका लागि अनुरोध गर्दा सधैं ‘उपयुक्त समय’ मा भन्ने जवाफ दिंदै आएको चीनको बुझाइमा सम्भवतः त्यो समय अहिले आएको हुन सक्छ, नेपालको राजनीतिक स्थिरतासँगै ।
अमेरिकासँगको कूटनीतिक सन्तुलन खस्किएको बेला सिमाना जोडिएका छिमेकीहरूसँगको सम्बन्धलाई प्राथमिकतामा राखिरहेको चीनका राष्ट्रपति नेपाल आउने विषयमा संकेत गरे पनि सरकारी अधिकारीहरूले औपचारिक पुष्टि भने गरेका छैनन् ।
२२–२४ भदौमा भएको चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणपछि त राष्ट्रपति सीको सम्भावित नेपाल यात्राबारे अड्कल काट्न सजिलो भएको छ । सुरक्षा स्थितिको ‘रेकी’ गर्न आगामी साता चिनियाँ सुरक्षा अधिकारीहरूको सम्भावित आगमनले पनि राष्ट्रपति सी भ्रमणको तारतम्य मिलेको अनुमान गर्न सकिन्छ ।
सी नेपाल भ्रमणमा आए यो चिनियाँ राष्ट्रपतिको २३ वर्षपछिको नेपाल यात्रा हुनेछ । यसअघि सन् १९९६ मा चीनका तत्कालीन राष्ट्रपति च्याङ चमिन नेपाल आएका थिए ।
विशेष दूत वाङ
राष्ट्रपतिमा चुनिएर आउने बित्तिकै सीले ताइवान मामिला कार्यालयको निर्देशकका रूपमा कार्यरत वाङ यीलाई बेइजिङ बोलाएर विदेश मन्त्रीको जिम्मेवारी दिएका थिए । सन् २०१८ को मार्च १९ मा त जनकंग्रेसले उनलाई केन्द्र सरकारको कार्यकारी अङ्ग स्टेट काउन्सिलभित्रको उच्च तह स्टेट काउन्सिलरमै राख्यो ।
उपप्रधानमन्त्री (भाइस प्रिमियर) भन्दा एक तह मुनि र क्याबिनेट मन्त्रीभन्दा एक तह माथिका तिनै वाङ करीब ४२ घण्टा फुर्सद निकालेर पाकिस्तानको इस्लामावादबाट विशेष विमान मार्फत नेपाल आइपुगे ।
विदेशमन्त्री वाङ शरद ऋतुका दिनहरूमा नेपाल आउन सक्नेबारे केही महीनाअघि नै सूचित गरिए पनि २२ भदौमै आउने जानकारी भने केही दिनअघि मात्रै पाएको परराष्ट्र मन्त्रालयका एक अधिकारी बताउँछन् । यसबाट भ्रमणहरूलाई गोप्य राख्ने चिनियाँ कूटनीतिक शैलीको छनक मिल्छ।
सी भ्रमणको तयारीका लागि नभए विदेशमन्त्री वाङको गत साताको नेपाल भ्रमण अजेण्डाविहीन मात्र होइन, परिणामविहीन समेत देखिन्छ । चिनियाँ कूटनीतिका जानकारहरूका अनुसार, विदेशमन्त्री कार्यसूची विना विदेशको भ्रमणमा हत्तपत्त जाँदैनन् ।
चीनका लागि पूर्व राजदूत टंक कार्की पनि चिनियाँ विदेशमन्त्री त्रिपाल बाँड्न मात्रै नेपाल आएको ठान्नु गलत बुझाइ हुने बताउँछन् । “विदेश भ्रमणहरूमा सधैं लेनदेनको मुद्दा हुँदैन, अहिलेको भ्रमण उच्चस्तरीय भ्रमणको तयारीस्वरुप भएकाले अर्थपूर्ण छ”, कार्की भन्छन् ।
औपचारिक घोषणा नगरिए पनि विदेशमन्त्री वाङ राष्ट्रपति सीको भ्रमणका लागि विशेष प्रतिनिधि बनेर आएको देखिने चीन मामिलाका जानकार डा. रूपक सापकोटा बताउँछन् । “सम्भवतः राष्ट्रपति सीको भ्रमणको कार्यसूचीबारे तयारी गर्नुपर्ने भएकाले अहिले द्विपक्षीय अन्य विषय प्राथमिकतासाथ छलफलको कार्यसूचीमा परेनन्”, उनी भन्छन् ।
वाङको भ्रमणलाई सरकारले पनि विशेष महत्व दिएर राष्ट्रपति सीलाई स्वागत गर्न आतुर रहेको सन्देश दिएको थियो । वार्ता स्थल र कुर्सी व्यवस्थापनको विषयमा पहिल्यै चासो जनाउने चीनका विदेशमन्त्रीसँग प्रधानमन्त्रीसँगको भेटवार्तामा बसाइ व्यवस्थापन समकक्षी वार्तामा झैं मिलाएर त्यस्तो सन्देश दिएको देखिन्थ्यो ।
विश्लेषक सापकोटा अधिकांश छिमेकी मुलुकको भ्रमण गरिसकेका सीलाई नेपालमा विदेशी मुलुकहरूको प्रभावका माझ चिनियाँ उपस्थितिको सन्देश दिन समेत भ्रमण गर्नुपर्ने महसूस भएको देखिएको बताउँछन् । “चीनका राष्ट्रपतिलाई नेपाल आउन राजनीतिक स्थिरताका कारण अहिले जस्तो उपयुक्त मौका अर्को हुँदैन भन्ने बुझिएको देखिन्छ”, सापकोटा भन्छन् ।
हङकङ आन्दोलनका कारण त्यानआनमन स्क्वायर काण्डपछिकै सर्वाधिक अप्ठ्यारो खेपिरहेको र पश्चिमी देशहरूले सिन्चियानको विषयमा उठाइरहेको मानवअधिकारको मुद्दाका कारण दबाबमा परेको चीन तिब्बत मामिलामा थप अप्ठ्यारो नआओस् भन्नेमा सतर्क छ ।
त्यसका लागि नेपालसँगको सम्बन्धलाई थप बलियो पार्नुपर्ने बुझाइ बेइजिङको भएको परराष्ट्र मन्त्रालयको चीन हेर्ने उत्तरपूर्वी एशिया महाशाखामा काम गरिसकेका एक अधिकारी बताउँछन् ।
यसै पनि, अमेरिकी इण्डो प्यासिफिक रणनीतिमा नेपालको संलग्नता तथा ५०० मिलियन डलर अनुदानको मिलेनियम च्यालेन्ज कर्पोरेसन कार्यक्रमले चीनलाई झस्काएको हुन सक्छ ।
उता, बीआरआईलाई टक्कर दिन अमेरिकाले अघि सारेको मानिने इण्डो प्यासिफिक रणनीतिमा नेपाल सहभागी भएको विषयले चीनलाई चस्का पसेको जानकारहरूको बुझाइ छ ।
नेपाल अमेरिकी रणनीतिको पोल्टामा पुगे यहाँ तिब्बती शरणार्थीको अभियान चर्किन सक्छ भन्ने बुझाइले चीनलाई नेपालमा आफ्नो प्रभाव विस्तार गर्नुपर्ने दबाब सिर्जना गरेको ती अधिकारी बताउँछन् । “साँध जोडिएको छिमेकमा आफ्नो प्रभावको सन्देश दिन पनि चिनियाँ राष्ट्रपतिको नेपाल यात्रा तय हुन सक्छ”, उनी भन्छन् ।
उत्तिकै संशय
६ वैशाख २०७५ मा बेइजिङस्थित चाइना रिफर्म फोरमको कार्यक्रममा चिनियाँ बुद्धिजीवी छङ सिचोङले लिखित मन्तव्य राख्दै नेपालमा गैरसरकारी संस्थाहरूले अस्थिरता ल्याएको र चीनविरोधी भावना फैलाएको बताएका थिए ।
छङ ती अधिकारी हुन्, जो काठमाडौंको चिनियाँ दूतावासमा सैनिक सहचारीका रूपमा सात वर्षभन्दा लामो समय बिताएर चार वर्षअघि चीन फर्किएका थिए । तिब्बती शरणार्थीको विषय विभिन्न गैरसरकारी संस्थाले उठाउँदै आएकोमा चीनको संशयलाई छङले अभिव्यक्त गरेका थिए ।
छङले संकेत गरे जस्तै चिनियाँ विदेशमन्त्री वाङको नेपाल भ्रमणको क्रममा यस पटक महिला अधिकारकर्मीहरूले ‘चिनियाँ दादागिरी बन्द गर’ लेखिएका ब्यानर सहित काठमाडौंको भाटभटेनीमा प्रदर्शन गरे । कूटनीतिमा असाध्यै संवेदनशील चीनका लागि यो घटनाले झस्काउन सक्छ ।
चीन मामिलाका एक जानकार, सरकारभित्रै यस्ता अभियान चलाउनेहरू रहेको चिनियाँ बुझाइले संशय सिर्जना गरेको बताउँछन् । सुरक्षाको सुनिश्चितता चिनियाँ राष्ट्रपतिको भ्रमणका लागि अर्को संशय हुन सक्छ । त्यसै कारण, उच्च चिनियाँ सुरक्षा अधिकारीहरूले अर्को साता नै नेपालको सुरक्षा स्थितिको जाँच गर्ने तयारी भएको स्रोत बताउँछ ।
महत्वाकांक्षी परियोजना ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई) अन्तर्गत राखिएका आयोजनाको कार्यान्वयनमा नेपालको ठोस प्रतिबद्धता नआउनु र इण्डो प्यासिफिक रणनीतिमा नेपालको संलग्नता चीनका लागि अर्को संशयको मुद्दा हो ।
दुई वर्षअघि नेपालले बीआरआईमा सहभागिता जनाए पनि परियोजनाहरूको काम भने अघि बढेका छैनन् । रसुवागढी–काठमाडौं सडकखण्ड विस्तार, अन्तरदेशीय प्रसारण लाइन निर्माण, केरुङ–काठमाडौं रेलमार्ग, तमोर तथा फुकोट–कर्णाली जलविद्युत् आयोजना सहितका आठ परियोजना बीआरआईमा छनोट भए पनि नेपालले कार्यान्वयनका लागि पर्याप्त गृहकार्य गरेको छैन ।
उता, बीआरआईलाई टक्कर दिन अमेरिकाले अघि सारेको मानिने इण्डो प्यासिफिक रणनीतिमा नेपाल सहभागी भएको विषयले चीनलाई चस्का पसेको जानकारहरूको बुझाइ छ ।
अमेरिकी विदेशमन्त्री माइक पोम्पिओले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग ३ पुस २०७५ मा वासिङ्टन डीसीमा भएको भेटवार्तामा नेपाललाई उक्त रणनीतिको हिस्साका रूपमा तान्न खोजेका थिए । अमेरिकी विदेश मन्त्रालयले ज्ञवालीको भ्रमणपछि जारी वक्तव्यमा नेपाल उक्त रणनीतिको केन्द्रमा रहेको उल्लेख छ ।
परराष्ट्र मन्त्रालयका अधिकारी नेपालको इण्डो–प्यासिफिक रणनीतिको सहभागितालाई चीनले चासोपूर्वक नियालिरहेको बताउँछन् । उनी अहिलेको भ्रमणमा पनि विदेशमन्त्री वाङले यही विषयमा नेपालको प्रष्ट दृष्टिकोण खोजेको बताउँछन् । “बीआरआईमा नेपालको प्रतिबद्धताको सुनिश्चितता र इण्डो प्यासिफिक रणनीतिप्रति नेपालको दूरी उनीहरूको मुख्य शर्त हो”, ती अधिकारी भन्छन् ।
राष्ट्रपति सीको भ्रमणका लागि नेपालको यही प्रष्टता र सुनिश्चितता आवश्यक हुन सक्छ । नेकपा अध्यक्ष पुष्पकमल दाहालले विदेशमन्त्री वाङसँग व्यक्त गरेको इण्डो प्यासिफिक रणनीतिमा नेपाल नरहेको भन्ने विचारलाई चीनले महत्व दिएर अभिलेखमा राख्नुले पनि यस मामिलामा उसको गम्भीर चासो देखाउँछ ।
चिनियाँ चासोलाई प्रष्ट सम्बोधन गर्दै आश्वस्त पार्न सक्नु\नसक्नुमा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण निर्क्याेल हुने जेनेभाका लागि पूर्व राजदूत डा. दिनेश भट्टराई बताउँछन् । “माहिर खेलाडीलाई छेवैको खेलाडीको चाल पहिल्यै थाहा हुन्छ, नेपालबारे अझै चीन आश्वस्त भए जस्तो देखिंदैन”, उनी भन्छन् ।