तस्वीरमा मनमाेहक सुर्खेत सौन्दर्य
–शब्द\तस्वीरः भरतबन्धु थापा
कर्णाली प्रदेशको राजधानी सुर्खेत विभिन्न प्राकृतिक र धार्मिक गन्तव्यले सिङ्गारिएको छ ।
सुर्खेत बजारदेखि सवारी साधनमा १५ मिनेटमै पुगिन्छ काँक्रेविहार मन्दिर, जुन पश्चिम नेपालकै प्रमुख पर्यटकीय स्थलमध्ये एक हो । मन्दिरको पुनर्निर्माण कार्य भर्खरै सम्पन्न गरेर अन्तिम रूप दिइँदैछ । जङ्गलको बीचमा शान्त वातावरणमा अवस्थित मन्दिरमा ढुङ्गाको कलात्मक नमूना हेर्न पाइन्छ ।
धार्मिक दृष्टिले प्रख्यात अर्को मन्दिर हो, वीरेन्द्रनगरको पिपरामा रहेको गङ्गामाला देउती बज्यैको मन्दिर । यो मन्दिरमा अक्षता र ध्वजा उठाई भाकल गर्ने चलन छ । भाकल गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । मन्दिरमा एकादशी, औंसी, संक्रान्ति र आइतबारको दिन पशुबलि दिन पाइँदैन ।
काँक्रेविहार नजिकै रहेको बुलबुले ताल आन्तरिक पर्यटकलाई मोहित पार्ने अर्को आकर्षण हो । सुर्खेत उपत्यका नगर विकास समितिले बुलबुले ताललाई प्रमुख केन्द्र मानेर बाल उद्यान, वनभोज स्थल, कलात्मक धारा आदि संरचना निर्माण गर्ने गरी गुरुयोजनाको काम अघि बढाइरहेको छ ।
पहिले निकै फराकिलो रहेको बुलबुले ताल अहिले खुम्चिंदै डेढ बिघा क्षेत्रफलमा सीमित छ । गुरुयोजना अनुसार काम भएमा ताल साढे तीन बिघा क्षेत्रफलमा फैलिनेछ ।
चराले झैं आकाशमा सयर गर्दै सुर्खेतको विशाल उपत्यका अवलोकन पनि गर्न सकिन्छ । आन्तरिक पर्यटकलाई लक्षित गरी गोठीकाडादेखि प्याराग्लाइडिङ सञ्चालन गरिएको छ । त्यस्तै, भेरी नदीमा र्याफ्टिङको मजा लिने अर्को सुविधा पनि छ ।