कैलालीमा शनिबारदेखि डल्फिन महोत्सव हुने
कैलालीको टीकापुरमा आगामी शनिबारदेखि डल्फिन महोत्सव हुने भएको छ ।
विश्वमै दुर्लभ डल्फिन संरक्षण र यसको प्रचारप्रसारका लागि महोत्सवको आयोजना गरिएको मुख्य आयोजक कैलाली होटल व्यवसायी संघले जनाएको छ ।
‘डल्फिनको संरक्षण, सम्वर्द्धन तथा पहिचान, पर्यटन विकासको अभियान भन्ने नारासहित हुन लागेको महोत्सवको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले गर्ने आयोजकको भनाइ छ ।
३ दिन चल्ने महोत्सवका क्रममा डल्फिन तथा जलचर प्राणी अवलोकन गराईने, स्थानीय जातजातीहरुको संस्कृति झल्कने झाँकीहरु प्रदर्शन गरिने, विभिन्न खानाका परिकारहरुसँगै र्याफ्टिङ देउडा प्रतियोगिता पनि हुने आयोजक कैलाली होटल व्यवसायी संघका अध्यक्ष नरबहादुर शाहीले बताए ।
नेपाल राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले संरक्षण सूचीमा राखेको २६ स्तनधारी जन्तुमध्ये डल्फिन कैलालीको टीकापुर र भजनी नगरपालिका तथा जोशीपुर गाउँपालिकाको संगमस्थल पथरैया, काँडा र मोहना नदीको त्रिवेणीमा पाइने संघका सचिव तेज बोहोराको भनाइ छ ।
नदीको वहाव बढेसँगै पथरैया, काँडा र मोहना नदीमा देख्न पाइने डल्फिन महोत्सवको माध्यमबाट प्रचारप्रसार गर्दै सो क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न महोत्सवले महत्वपूर्ण सहयोग पुग्ने आयोजकको विश्वास छ ।