पोर्चुगलमा जमेका नेपाली कराँते खेलाडी हिक्मत घर्तीमगर
युरोपेली मुलुक पोर्चुगलमा रहेर कराँतेमा सङ्घर्ष गरिरहेका एक नेपाली युवा अब्बल अन्तर्राष्ट्रिय कराँते खेलाडीका रुपमा स्थापित हुन सफल भएका छन् ।
ती नेपाली युवा खेलाडीमा मात्र सीमित छैन, विदेशीका कराँते गुरु पनि बन्न सफल भएका हुन् । उनले विदेशीलाई कराँते सिकाउँछन् । पश्चिम नेपालको पूर्वी रुकुम, पुथा उत्तरगङ्गा गाउँपालिका–१० तक्सेराका २६ वर्षीय हिक्मत घर्तीमगर पोर्चुगिजका कराँतेगुरुसमेत बन्न सफल भएका हुन् ।
नेपालमा राम्रा खेलाडी उत्पादन गर्नका लागि महङ्गो रकम खर्चेर विदेशी प्रशिक्षक झिकाउने प्रचलन छ । तर घर्तीमगरजस्ता नेपाली खेलाडी पनि छन् । जो विदेशीका प्रशिक्षक बनेर नेपाल र नेपालीको गौरव बढाइरहेका छन् ।
सन् २०१५ मा पोर्चुगल आएका घर्तीमगरले कराँतेमा अदभूत कला, कौशल र क्षमता प्रदर्शन गरेकै कारण पोर्चुगलमा अब्बल खेलाडीका रूपमा स्थापित हुन सफल भएका हुन् । कुमेटी र कातामा अब्बल मानिने घर्तीमगरले आफ्नो तौल समूहअन्तर्गत पोर्चुगलमा अब्बल खेलाडीमध्येकै एक भएको दाबी गर्छन् ।
घर्तीमगरले स्थानीय सरकारी विद्यालयसँगको समन्वयमा बालबालिकालाई कराँते खेलको प्रशिक्षण दिँदै आएका छन् । प्रशिक्षणसँगै उनी खेलाडीको रूपमा समेत विभिन्न प्रतियोगितामा भाग लिने गर्दछन् ।
राष्ट्रिय कराँते महासङ्घ पोर्चुगलले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी भएको र विशेष तालीमप्राप्त गरेकोलगायत मापदण्डका आधारमा प्रशिक्षकको प्रमाणपत्र दिएपछि आफू कराँते प्रशिक्षक बन्न सफल भएको उनी बताउँछन् ।
सानो उमरमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएका घर्तीमगरले थुप्रै राष्ट्रिय तथा अन्तराष्ट्रिय पदकसमेत जित्न सफल भएका छन् ।
“एउटा नेपाली भएको नाताले विदेशीभूमि पोर्चुगलमा कराँते प्रशिक्षक बन्न पाउँदा अत्यन्तै गौरवको महशुस हुन्छ”, घर्तीमगर भन्छन्।
रुकुमबाट २०६१ मा घर्तीमगरको परिवार काठमाडौँ आएको थियो । काठमाडौँ आएका घर्तीमगरलाई उनका मामा राजबहादुर बुढामगरले ललितपुरको एकान्तकुनास्थित रहेको महेन्द्र भृकुटी माविको कक्षा ६ मा भर्ना गराएका थिए । सो विद्यालयमा भर्ना भएसँगै घर्तीमगरको खेल जीवन शुरु भयो ।
बाह्र वर्षको उमेरबाटै घर्तीमगरले मार्शलआर्ट सिक्न शुरु गरेको बताउँछन् । भर्खरै मार्शलआर्ट सिक्दै गरेका घर्तीमगरले १४ वर्षको उमेरमै उपत्यकाव्यापी जीत कुन–डो मार्शलआर्ट प्रतियोगिताका लागि छनोट भए । २००७ मा भएको उपत्यकाव्यापी जीत कुन–डो मार्शलआर्ट प्रतियोगितामा ३५ केजी तौल समूहतर्फ आफूले प्रथम स्थान हासिल गर्न सफल भएको बताउँछन् ।
काठमाडौँ, भक्तपुर र ललितपुरसहित तीन जिल्लाका खेलाडीका बीचमा भएको पहिलो प्रतिस्पर्धामै आफू प्रथम हुँदा निकै खुशी लागेको उनी सुनाउँछन् ।
त्यसलगत्तै घर्तीमगरले सन् २००८ मा काठमाडौँमा भएको राष्ट्रिय विभूति भीमसेनसिहं थापा कपमा ४० केजी तौल समूहतर्फ प्रथम हुन सफल भएका थिए ।
२००८ मै काठमाडौँमा भएको इण्डो नेपाल जितकुण्ड मार्शलआर्ट च्यापियनसीपमा घर्तीमगरले कास्यपदक जित्न सफल भए । सन् २००९ मा भएको इन्टरडोजो जित कुन–डो मार्शलआर्ट प्रतियोगितामा दोस्रो स्थान हासिल गर्न सफल भए । सन् २००९ मा भारतमा भएको जित कुन–डो मार्शलआर्ट सेमिनारमा घर्तीमगरले सहभागिता जनाएका थिए ।
बाल्यकालमा शिक्षक बन्ने सपना थियो, घर्तीमगरको । शिक्षक बन्ने सपना बुनेका उनै घर्तीमगरलाई खेलप्रतिको मोह र लगावले बाल्यकालको कलिलो उमेरमै मार्शलआर्टको खेलाडी बनायो ।
१६ वर्षकै उमेरमा घर्तीमगर ४६औँ केडब्लुएफ कराँते च्याम्पियनसीपमा भाग लिन थाइल्याण्ड गए । सन् २०१० मा राजधानी बैंककमा भएको उक्त प्रतिस्पर्धामा घर्तीमगरले नेपाललाई स्वर्ण दिलाउन सफल भए ।
बाल्यकालमा प्राप्त गरेको यही सफलताले नै आज आफूलाई अन्तरराष्ट्रिय कराँते खेलाडी बनाएको घर्तीमगरको भनाइ छ। घर्तीमगरले राष्ट्रिय मात्र होइन, बाल्यकालमै अन्तरराष्ट्रिय प्रतिस्पर्धामा समेत भाग लिएका थिए ।
सन् २०१० मा काठमाडौँमा भएको इण्डो नेपाल जीत कुन–डो मार्शलआर्ट फ्रि कम्ब्याटतर्फ उनले स्वर्ण पदक हात पारे । त्यसबखत तत्कालीन राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव युवराज लामाले खुशी भएर रु पाँच हजार नगद दिएको अहिले पनि ताजै स्मरण रहेको घर्तीमगर बताउँछन् ।
जित कुन–डो बाट मार्शलआर्ट शुरु गरेका घर्तीमगरले आफ्नो खेलयात्रालाई कराँतेतर्फ मोडे । १६ वर्षकै उमेरमा घर्तीमगर ४६औँ केडब्लुएफ कराँते च्याम्पियनसीपमा भाग लिन थाइल्याण्ड गए । सन् २०१० मा राजधानी बैंककमा भएको उक्त प्रतिस्पर्धामा घर्तीमगरले नेपाललाई स्वर्ण दिलाउन सफल भए ।
सन् २०११ मा मेक्सिको गएका उनले दोस्रो स्थान हासिल गर्न सफल भए । नेपाली टोलीमा सहभागी भई मेक्सिको गएका घर्तीमगरले एक दर्जन बढी देशका खेलाडीसँग प्रतिस्पर्धा गरेका थिए । मेक्सिकोको यात्रा घर्तीमगरको मानसपटलमा अझै पनि ताजै छ ।
काठमाडौँदेखि दुबई र दुबईदेखि मेक्सिकोसम्मको २१ घण्टाको हवाईयात्रा जीवनकै अविस्मरणीय रहेको उनी बताउँछन् ।
एशियाका विभिन्न मुलुक र मेक्सिको हुँदै घर्तीमगरको कराँते यात्रा युरोपतर्फ सोझियो । सन् २०१४ मा जर्मनीमा भएको अन्तर्राष्ट्रिय जर्मन वाडो कपमा ५५ केजी तौल समूहअन्तर्गत घर्तीमगरले कुमेटीतर्फ नेपाललाई रजत पदक दिलाउन सफल भए ।
यस्तै २०१४ मै इटालीमा भएको दोस्रो युरोकप तथा नोमेची कराँते प्रतियोगितामा कातातर्फ नेपाललाई रजत पदक दिलाउन सफल भए । यसपछि कराँतेसम्बन्धी सैद्धान्तिक ज्ञान पनि हासिल गर्नुपर्छ भन्ने लागेर घर्तीमगरले २०१४ मा इटालीबाटै कराँते नोमेचीमा डिप्लोमा कोर्ष गरे ।
२०१४ मै इटालीमै भएको दोस्रो केडब्लुएफ च्याम्पियनसीपमा उनले कातातर्फ प्रथम स्थान हासिल गर्न सफल भए । २०१४ मै बेल्जियमको गेण्ट शहरमा भएको प्रथम गेण्टसिटी अन्तरराष्ट्रिय प्रतियोगितामा ६० केजी तौलतर्फको एकल प्रतिस्पर्धामा क्यूवाका खेलाडीलाई पराजित गर्दै घर्तीमगरले नेपाललाई स्वर्णपदक दिलाउन सफल भए ।
सन् २०१४ मै फ्रान्समा भएको केडब्लुएफ अन्तरराष्ट्रिय च्याम्पियनसीपमा ६७ केजी कातातर्फ स्वर्ण पदक हात पारे भने सोही प्रतियोगिताको ५५ देखि ६२ केजी तौल समूहमा कुमेटीतर्फ रजत पदक दिलाउन सफल भए ।
२०१४ मै जर्मनीको हेम्बर्गमा भएको एलबी कप इन्टरनेशनल २०१४ मा नेपाललाई कास्य पदक दिलाउन सफल भएका थिए ।
घर्तीमगर भारत, मेक्सिको, थाइल्याण्ड, फिलीपिन्स, जर्मनी, इटाली, पोर्चुगललगायत दर्जन बढी देशहरुमा भएका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेका छन् ।
हेम्बर्गमा भएको प्रतियोगितामा सहभागी भएसँगै ब्राजिलीयन गुरु लुइस लिमसँगै पोर्चुगल आएका घर्तीमगरले पोर्टो शहरमा बसेर नौ महीना उनै ब्राजिलियन गुरुसँग विशेष कराँते तालीम लिए । २०१६ मा पोर्टोमै भएको ओ पोर्टो इन्टरनेशनल कराँते २०१६ मा सहभागी भए पनि सफलता भने हात पार्न नसकेको उनले बताए ।
२०१८ मा राजधानी लिस्बनमा भएको अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगितामा कास्यपदक हात पार्न सफल भएको घर्तीमगरले बताए।
खेलमार्फत राष्ट्रलाई योगदान प-याएका खेलाडीलाई विदेशिनबाट रोक्नका लागि सरकारले विशेष खालको व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । विदेशमा रहेका अब्बल नेपाली खेलाडीलाई नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागिताका लागि सरकारले विशेष पहल गर्नुपर्ने उनको धारणा छ ।
घर्तीमगरले अमेरिकामा हुने कराँते प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्ने भएका छन् ।
यही सेप्टेम्बर २२ मा अमेरिकाको न्यूयोर्क शहरमा हुने अमेरिका कराँते कपमा घर्तीमगरले प्रतिस्पर्धा गर्ने भएका हुन् । तीन दिनसम्म चल्ने उक्त प्रतियोगितामा ४० देशका कराँते खेलाडीले भाग लिनेछन् ।
घर्तीमगरले ६७ किलो तौल समूहमा कुमेटी र एकल कातातर्फ प्रतिस्पर्धा गर्नेछन् । घर्तीमगरले ‘अमेरिका कराँते कप’ जित्ने विश्वास पनि व्यक्त गरे । प्रतिस्पर्धामा सहभागिता जनाउनका लागि घर्तीमगर सेप्टेम्बर २१ मा न्यूयोर्क प्रस्थान गर्नेछन् ।