सडकमा सारङ्गी बजाउने लोक–संगीतका स्नातकोत्तर मिनु
लोक–सङ्गीतमा स्नातकोत्तार मिनु वाइबा सारङ्गीप्रतिको चिन्ताले सडक–सङ्गीत अभियान चलाइरहेकी छिन्।
मिनु वाइबा (४२) लाई सडकमा सारङ्गी रेटेर गाउन मन लाग्छ । पोलियोका कारण शारीरिक अपाङ्गता भएकी उनी महीनामा एक–दुई पटक सडकमा सारङ्गी रेट्दै गरेको भेटिन्छिन् । सडकमा निस्कँदा उनलाई ललितकलाकै पूर्व विद्यार्थीले पनि साथ दिन्छन् ।
मिनु जहाँ गए पनि सारङ्गी साथमै हुन्छ । ललितकलामा लोक–सङ्गीत पढाउँदा उनी सारङ्गी बोकेरै कक्षामा पस्थिन् । उनले ललितकलामा २०६६ सालदेखि २०७५ सालसम्म पढाइन् । लोक–सङ्गीत विषय पढाउँदा यसप्रतिको मोह र आत्मीयता बढेको उनी बताउँछिन् ।
क्याम्पसमा कक्षा ११ र १२ बन्द भएपछि उनी लोक–सङ्गीत अनुसन्धानका लागि पोखराको बाटुलेचौर पुगिन् । बाटुलेचौरमा गन्धर्व समुदायको बाक्लो बस्ती छ ।
चर्चित लोकगायक झलकमान गन्धर्वको जन्म पनि त्यहीं भएको हो । मिनु बाटुलेचौरमा एक वर्ष बसिन् । उनले त्यहाँ लोक–सङ्गीत र सारङ्गीबारे बुझ्ने मौका पाइन् । खिमबहादुर गन्धर्वसँग सारङ्गीमा धुन भर्न सिकिन् । उनी भन्छिन्, ”गन्धर्व समाजमा एक वर्ष बिताउँदा मैले मोटा–मोटा किताबका ठेलीबाट पाउन नसक्ने ज्ञान पाएँ ।”
बाटुलेचौरमा लोक–सङ्गीत अनुसन्धान गर्दा ‘सडक सङ्गीत’ को अवधारणा सोचेको मिनु बताउँछिन् । यसको पहिलो प्रयोग पनि उनले बाटुलेचौरमा नै गरेकी थिइन् ।
उनले अभियान थालेको सात वर्ष भइसकेको छ । सारङ्गी बोकेर सडकमा गाउँदै उनी पूर्वको इलाम, झापासम्म पुगेकी छिन् । काठमाडौंका बसन्तपुर, स्वयम्भू, पाटन लगायत ठाउँमा सडक सङ्गीत कार्यक्रम गरेकी छिन् ।
सारङ्गी बजाउने पुरुष नै कम भइरहेको वेला महिला भेट्टाउनु मुश्किल थियो । महिला सारङ्गी वादक टीका गन्धर्व र बर्ता गन्धर्व बाहेक अरुले बजाएको उनलाई थाहा छैन ।
“सारङ्गीलाई मागिखाने बाजाको रुपमा हेरिदिने समस्या छ, सारङ्गी बजाउनु पनि कला हो, यसलाई सम्मान दिनुपर्छ”, मिनु भन्छिन् ।
मिनुलाई सङ्गीतमा लाग्ने प्रेरणा भने आमा मायादेवी वाइबाले दिएकी हुन् । आमा मायादेवी फुर्सदमा टुङ्ना बजाउँदै गीत गाउँथिन् । बाँसुरी पनि बजाउँथिन् । आमाकै प्रेरणाले सङ्गीत अध्ययनका लागि ललितकला क्याम्पस भर्ना भइन् ।
उनी कक्षा ११ मा शास्त्रीय सङ्गीतको विद्यार्थी थिइन् । शास्त्रीय सङ्गीत अन्तर्गत लोक–सङ्गीतमा २०६८ सालमा स्नातकोत्तर गरिन् । सारङ्गीकै बारेमा शोधपत्र लेखिन् ।
मिनुलाई सारङ्गी नै लोप होला कि भन्ने चिन्ता छ । परम्परादेखि नै सारङ्गीको संरक्षण गरिरहेका गन्धर्वले पनि आर्थिक दुरवस्थाका कारण सारङ्गी बजाउन छाड्नुपर्ने अवस्था आएकोमा मिनु चिन्तित छिन् ।