नेकपाको शपथ कार्यक्रममा तोडफोड
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश २ का ६ जिल्लाको शपथ कार्यक्रम रोकिएको छ।
महोत्तरीको बर्दिवासमा महोत्तरी, धनुषा, सर्लाही, रौतहट, सिरहा र सप्तरीसहित ६ जिल्लाका लागि तय भएको शपथ कार्यक्रम पार्टीभत्रको असन्तुष्ट पक्षको विरोधपछि स्थगित भएको हो ।
अन्तिम समयमा महोत्तरीसहित धनुषा, सर्लाही र रौतहट जिल्लाको शपथ कार्यक्रम स्थगित गरिए पनि सिरहा र सप्तरीको शपथ गराउने तयारी भइरहेका बेला झडप भएपछि कार्यक्रम अघि बढ्न नसकेको बताइएको छ ।
असन्तुष्ट पक्षले बर्दिवास सेवा समितिको सभा भवनमा कुर्सी तोडफोड गर्नुका साथै प्रदेश अध्यक्ष प्रभु साहलाई हातपात नै गरेपछि कार्यक्रमस्थल तनावग्रस्त बनेको छ। प्रहरीले अध्यक्ष साहलाई सुरक्षित रुपमा बाहिर निकालेका छन् ।
प्रदेशका सचिव सुमनराज प्याकुरेल भने सभा भवनभित्रै बसेका छन् । बाहिर भइरहेको चर्को नाराबाजीलाई सचिव प्याकुरेलले अराजक भीड बताएका छन् ।
पूर्वएमाले र पूर्वमाओवादी केन्द्र एकीकरणको एक वर्षपछि गत साउनमा जिल्ला कमिटी समायोजन गरिँदा पार्टी विधानअनुसार मापदण्ड नबनाई केही नेताले आफूखुशी बनाएका जिल्ला कमिटी मान्य नहुने असन्तुष्ट पक्षले बताउँदै आएका छन् ।
मापदण्ड निर्धारण गरेर मात्र पार्टी कमिटी समायोजन गर्नुपर्नेमा केही नेताले आफूखुशी नाम राखेपछि असन्तुष्टि बढेको प्रदेश कमिटी सदस्य महोत्तरी भटौलियाका विजय कर्णले बताए ।