'मीटू' का आरोपित निर्देशकसँग काम गर्दै आमिर खान
बलिउड अभिनेता आमिर खान अलग विषयवस्तुका फिल्म छनोटका लागि परिचित छन्। सामाजिक, शैक्षिक मुद्दा तथा अलग विषयका फिल्म उनको रोजाइमा पर्छन्। तिनै गम्भीर विषयवस्तुले आमिरको स्टारडमबाट व्यावसायिकता र चर्चा पाउँछन्।
तर यस पटक आमिर चर्चामा आउनुको कारण फिल्म होइन, यसका निर्देशक हुन्। आमिरले दिवंगत फिल्म निर्माता गुलशन कुमार (सन् १९५६-१९९७) को बायोपिक फिल्म 'मोगुल' मा काम गर्ने भएका छन्। तर यस फिल्मका निर्देशक सुभाष कपुरका कारण आमिर समाचारको विषय बन्न थालेका छन्। कारण, सन् २०१८ मा चलेको यौन उत्पीडन विरुद्धको मीटू अभियानमा सुभाषको नाम पनि मुछिएको थियो।
२०१८ अक्टोबरमा आमिर र उनकी पत्नी किरण रावले संयुक्त विज्ञप्ति जारी गर्दै 'मोगुल' फिल्मबाट अलग भएको घोषणा गरेका थिए। विज्ञप्तिमा यौन उत्पीडनको आरोप लागेका कुनै पनि व्यक्तिसँग काम नगर्ने उल्लेख थियो। फिल्म 'मोगुल' टी सिरिज कम्पनीसँग मिलेर आमिर र किरणले निर्माण गर्न लागेका थिए।
त्यतिवेला विज्ञप्तिमा सुभाष कपुरको नाम भने लेखिएको थिएन। आमिर दम्पतीले विज्ञप्तिमा लेखेका थिए, 'हामीलाई कुनै पनि प्रकारको यौन उत्पीडन स्वीकार्य छैन। हामी यस्ता घटनाको कडा निन्दा गर्छौं। हामी कसैप्रति आक्षेप लगाइरहेका छैनौं र आरोपको सत्यतथ्य आउनु अगाडि नै फिल्मबाट अलग भएका छौं।'
तर पछि जब 'मोगुल' बाट सुभाष अलग भए, आमिर फेरि फिल्ममा फर्किएका थिए। अहिले फेरि सुभाष फिल्ममा जोडिएपछि आमिरले अर्को विज्ञप्ति सञ्चारमाध्यममा जारी गरेका छन्।
'मेरो कारण कसैको रोजीरोटी गुम्यो, दुःखी छु'
आमिरका अनुसार पहिले 'मोगुल' फिल्मबाट अलग हुने निर्णय गर्दा उनी कैयौं रात निदाउन सकेनन्। किनकि, आफूबाट अञ्जानमा भएको कामबाट एउटा व्यक्तिको रोजीरोटी गुमेको र सुभाष अझै पनि कानूनी प्रक्रियाबाट गुज्रिरहेको उनले बताएका छन्।
आमिरले आफूलाई इन्डियन फिल्म एन्ड टेलिभिजन डाइरेक्टर्स एशोसिएसनबाट एक पत्र आएको र त्यसमा सुभाषलाई अहिलेसम्म अदालतले दोषी नबताएको उल्लेख गरिएको बताएका छन्। आमिरले उक्त पत्रको जवाफ दिंदै आफू 'मोगुल' मा सुभाषसँग काम गर्नेमा सकारात्मक रहेको बताएका हुन्। न्यायालयले दोषी किटान नगरेका कारण सुभाषको काम गर्ने र कमाउने हक गुम्न नहुने आमिरको भनाइ छ।
सुभाषमाथि सन् २०१४ फेब्रुअरीमा अभिनेत्री गीतिका त्यागीले उत्पीडनको आरोप लगाएकी थिइन्। गीतिकाका अनुसार, एक पार्टीका क्रममा सुभाषले आफूलाई एउटा कोठामा लगेर जबर्जस्ती गर्न खोजेका थिए। उक्त घटनामा सुभाष विरुद्ध उजुरी दर्ता भएपछि उनी पक्राउ पनि परेका थिए। तर पछि जमानतमा रिहा भएका थिए।
सुभाषले 'फस गए रे ओबामा' (२०१०), 'जोली एलएलबी' (२०१३), 'जोली एलएलबी २' (२०१७) लगायत फिल्म निर्देशन गरेका छन्।- एजेन्सी