टेकु अस्पतालमा डेंगीको परीक्षण नि:शुल्क गर्ने व्यवस्था, बिरामीको चाप
काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पछिल्ला नौ दिनमा डेङ्गी परीक्षण तथा उपचार गर्न आउने बिरामीमध्ये एक हजार ३५० मा डेङ्गु रोगको सङ्क्रमण भेटिएको छ। अस्पतालमा सो अवधिमा स्वास्थ्य परीक्षण गराएका करीब दुई हजार ५०० बिरामीमध्ये झण्डै आधामा सो रोग देखा परेको अस्पतातले जनाएको छ।
अस्पताल तथा केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा सो रोगको परीक्षण गराउने बिरामीको सङ्ख्या अत्यधिक बढिरहेको छ। अस्पतालका सरुवा रोग विशेषज्ञ चिकित्सक अनुप बाँस्तोलाले स्वास्थ्यकर्मीलाई बिरामीको स्वास्थ्य परीक्षण गर्न भ्याइनभ्याइ भएको बताए।
सोमबार मात्रै अस्पतालमा ४४८ जनाले डेंगीको परीक्षण गराएका थिए। तीमध्ये ३११ जनामा सो रोगको सङ्क्रमण देखा परेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताललाई डेङ्गी परीक्षण तथा उपचार गर्न आउने बिरामीसित शुल्क नलिन निर्देशन दिएपछि अस्पतालमा बिरामीको चाप अत्यधिक बढेको जनाइएको छ।
पछिल्लो समय काठमाडौँसहित देशभर डेंगी रोग प्रकोपका रुपमा देखा पर्न थालेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ४८ जिल्लामा यो रोग देखा परिसकेको छ।
टेकु अस्पतालमा बिरामीको चाप बढेसँगै भर्नाका लागि शय्या अभाव भएको छ। अस्पतालमा डेंगीका लागि २४ शय्या मात्र छन्। अस्पतालका निर्देशक चिकित्सक वासुदेव पाण्डेले रोगको परीक्षण गर्ने क्रम बढेसँगै अस्पताल परिसरमा डेङ्गी हेल्थ डेस्क स्थापना गरी सेवा थप सहज बनाएको जानकारी दिए। “अस्पतालले सोमबारबाट छुट्टै फिभर क्लिनिक समेत सञ्चालनमा ल्याएको छ, क्लिनिकमा ज्वरो आएका बिरामीलाई छुट्टै कोठामा राखी विशेष जाँच गर्न शुरु गरेका छौं”, उनले भने।
स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत १ साउनयता डेंगीका कारण ६ जनाको मृत्यु भइसकेको छ।