सिलिगुडी-काठमाडौं बस सेवा बन्द गर्न माग
पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै दुई साता अघि शुरु गरिएको भारतको सिलिगुडीदेखि काठमाडौंसम्म सीधा बस सेवाको झापा काँकडभिट्टाका व्यवसायीले विरोध गरेका छन्।
भारतको पश्चिम बङ्गालस्थित सिलिगुडीबाट सीधै काठमाडौं बस सञ्चालनले आर्थिक गतिविधि धरासायी बन्ने भन्दै स्थानीय व्यवसायी विरोधमा उत्रिएका हुन्। उनीहरुले ‘काँकडभिट्टा बचाउ सरोकार समिति’ नै गठन गरेर विरोधका कार्यक्रम शुरु गरेका छन्।
नेपालको पर्यटकीय तथा धार्मिक महत्व बोकेको ऐतिहासिक शहर काठमाडौंमा कुनै पनि महत्व नभएको शहर सिलिगुडीबाट सीधै बस प्रवेश हुनु नेपाल–भारतबीच भएको सम्झौता विपरीत रहेको तर्क राख्दै उनीहरुले सरकारसँग सो बस सञ्चालन तत्काल रोक्न माग गरेका छन्।
प्रदेश-१ का सांसद श्रीप्रसाद मैनालीले सन् २०१४ को डिसेम्बरमा नेपाल–भारतमैत्री बस सञ्चालनबारे सम्झौता हुँदा राजधानीदेखि राजधानीसम्म या पर्यटकीय र धार्मिक शहरबाट सञ्चालन गरिने भनेर सम्झौता भए पनि सो विपरीत देखिएको हुँदा स्थानीय विरोधमा उत्रिएको बताए।
मैनालीले भने, “नेपाल र भारत सरकारबीच सम्झौता भइसकेका कारण कोलकाता, गुहावटीदेखि काठमाडौंसम्म सञ्चालन गरे हाम्रो आपत्ति छैन, तर सम्झौता विपरीत भारतका महत्वहीन शहरबाट काठमाडौं जस्तो ऐतिहासिक धार्मिक पर्यटकीय क्षेत्रमा सीधै बस सेवा सञ्चालन गर्नु उचित छैन।" उनले केन्द्रीय र प्रदेश सरकारको ध्यानाकर्षण गराएको समेत बताए।
झापा जिल्ला ट्राभल्स सङ्घका अध्यक्ष निरबहादुर कार्कीले पनि बस सेवाले पर्यटन प्रवर्द्धनमा सहयोग नपुग्ने बताए।