मरेका कुखुरा नेपाल ल्याउने ८ भारतीय पक्राउ
भारतको जोगवनीबाट विराटनगर तर्फ मरेका खुकुरा ल्याउने ८ जना भारतीय नागरिकलाई मोरङ प्रहरीले आइतबार अपरान्ह पक्राउ गरेको छ ।
सीमावर्ती क्षेत्र विराटनगर १५ स्थित हुलासमेटल चोकबाट प्रहरीले अपरान्ह पौने ६ बजे १ सय ४४ वटा ब्रोइलर कुखुरासहित उनीहरूलाई पक्राउ गरेको हो । बरामद कुखुरामध्ये १ सय २ वटा मरेका थिए ।
जिउँदो कुखुरा ल्याउँदा थाहा पाइने भएकाले अचेल कारोबारीले मारेर, मरेका तथा मासु बनाएर नेपाल भित्र्याउने गरेको प्रहरीको भनाइ छ ।
भारतबाट क्वारेन्टाइन जाँच नगरी ल्याइएका कुखुरा विराटनगर बजारमा बिक्री गरिने गरिएको छ ।
प्रहरी नायब उपरीक्षक राजकुमार खिउजुका अनुसार पक्राउ पर्नेमा जोगवनी इस्लामपुरका मोहमद सेनदेन (२१), आजाद अली (२२), मोहमद इरफान (१७), मोहमद अजबुल (२२), मोहमद अजबुल (२२), मोहमद मजेबुल (१८), मोहमद पुस्तक (१८) र मोहमद मनु रहेका छन् ।
उनीहरूलाई कारवाहीका लागि क्वारेन्टाइन कार्यालय विराटनगरको जिम्मा लगाइएको प्रहरीले बताएको छ ।