वन्यजन्तुबाट मानवीय क्षति बढेपछि हात्ती र अर्नालाई सुई
सुनसरीस्थित कोशीटप्पु वन्यजन्तु आरक्षमा मानवीय क्षति बढ्दै गएपछि जंगली हात्ती र अर्नालाई सुईबाट शक्ति कम गर्ने औषधि दिइएको छ ।
आरक्ष प्रशासनले बन्दुक मार्फत सुई हानेर (डार्ट गरेर) एक हात्ती र एक अर्नालाई शनिबार अपरान्ह औषधि दिइएको छ ।
१५ भदौमा कोशी गाउँपालिका ३ का अनमोल मुखिया (३२) लाई जंगली हात्तीले कोशी नदीको किनारमा मारेको थियो । माछा मारेर जीविकोपार्जन गर्दै आएका मुखियाको छातीमा हात्तीले कुल्चिएको प्रहरीले बताएको छ ।
उन्मत्त हात्तीको बल कम गर्ने औषधि दिएर थप मानवीय क्षति हुनबाट रोक्ने प्रयास गरिएको आरक्षले जनाएको छ । आरक्षको पूर्वी भागमा रहेको हात्तीसारमा जंगली मत्ता हात्ती आइतबार बिहान ६ः३० बजे पस्ने प्रयास गरेको थियो ।
आरक्ष सुरक्षामा रहेका नेपाली सेनाले हात्तीलाई वन तर्फ नै लखेटेका छन् । आरक्षको हात्तीसारमा ५ ढोई र २ छावा छन् ।
आरक्षका सहायक संरक्षण अधिकृत गणेश तिवारीका अनुसार, मानवबस्ती नजिकै घुम्ने गरेको एक अर्नालाई पनि बेहोश गराएर कोशीको पूर्व छेउबाट पश्चिम तर्फ लगिएको छ । सो अर्नाले पनि आरक्ष प्रवेश गर्ने मानिसलाई लखेट्ने गरेको थियो ।
केही दिन यता कोशीको पश्चिमी भागमा बस्ने अर्नाका बथान पूर्वी भाग तिर सरेका छन् ।
मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष राजकुमार सिंहका अनुसार, आहाराको खोजीमा आरक्ष बाहिर निस्कने अर्ना र हात्तीको आक्रमणमा वर्षौंदेखि मानिसको ज्यान जाने क्रम रोकिएको छैन ।
आरक्षभित्रका जनावर र स्थानीयबीच हुने द्वन्द्व न्यूनीकरणमा आरक्ष प्रशासनले खासै चासो नदिएको उनको भनाइ छ । “जनावर र मानिसबीचको द्वन्द्व कम गर्न आरक्षले महीनामा रु ५\१० हजार खर्च गर्छ त्यसले केही हुँदैन”, अध्यक्ष सिंहले भने ।