‘गुलाबी उमेर’ विद्यार्थीले दिएको गृहकार्य: अमर न्यौपाने
उपन्यासकार अमर न्यौपानेको चौथो कृति ‘गुलाबी उमेर’ लोकार्पण गरिएको भएको छ ।
काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको डबलीमा शनिबार आयोजित कार्यक्रममा साहित्यकार कृष्ण धरावासी, अभिनेत्री केकी अधिकारी र लेखक न्यौपानेले पुस्तक लोकार्पण गरे ।
कार्यक्रममा मदन पुरस्कार विजेता साहित्यकार कृष्ण धरावासीले पुस्तक किशोर मनोविज्ञानमा आधारित रहेर लेखिएको बताए । उपन्यासमा फ्रायड प्रतिपादित इलेक्ट्रा कम्प्लेक्सलाई चित्रण गरिएको धरावासीको टिप्पणी छ ।
नेपाली साहित्यमा किशोर साहित्यको अभाव रहेको र त्यसलाई पूर्ति गर्न यो उपन्यासले सघाउने उनको भनाइ छ ।
अभिनेत्री केकी अधिकारीले पुस्तक एकदमै फरक लागेको प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘पुस्तक पढिरहँदा मलाई आफैं किशोरवयमै फर्किएको अनुभूति भयो । यो पुस्तकमा प्रत्येक किशोरीले आफूलाई भेटाउँछन् भने महिलाहरुले आफ्नो किशोरावस्थाका घटनापरिघटना सम्झन्छन् ।’
कार्यक्रममा मदन पुरस्कार विजेता लेखक न्यौपानेले आफूले १२ वर्षसम्म पढाउँदा किताबको कुरा पढाएको र किताबकै गृहकार्य दिए पनि विद्यार्थीहरुले भने आफूलाई जीवनको कुरा पढाएर जीवनकै गृहकार्य दिएको बताए ।
उनले भने, ‘मैले भनेर गृहकार्य दिएँ, उनीहरुले नभनेरै गृहकार्य दिए । यो उपन्यास विद्यार्थीहरुले दिएको त्यही गृहकार्य हो ।’
लेखकले पुस्तकमा उमेरलाई पाँच भागमा विभाजन गरेका छन् । जन्मदेखि १२ वर्षसम्म पल्लवी उमेर, जो सबैभन्दा अबोध र निश्छल हुन्छ । १३ देखि १९ वर्षसम्म गुलाबी उमेर, जुन सबैभन्दा तरल र कल्पनाशील उमेर हो । र २० देखि ४० वर्षसम्म मखमली उमेर, जसलाई ऊर्जावान् र शक्तिशाली उमेरका रुपमा बुझ्न सकिन्छ ।
४१ देखि ६० वर्षसम्म बैजनी उमेर, जुन सबैभन्दा चिन्तनशील र दार्शनिक उमेर हो । ६१ देखि मृत्युपर्यन्तको समयलाई लेखकले अस्मानी उमेरका रुपमा चित्रण गरेका छन्, जो सबैभन्दा आध्यात्मिक अवस्था हो ।
फाइनप्रिन्टले प्रकाशनमा ल्याएको पुस्तकको मूल्य ४९८ रुपैयाँ रहेकोे छ ।