अमेरिका दुर्घटनाः शोक मनाउनै पाएनन् परिवारले
अमेरिकामा बुधबार बिहान ३ बजे भएको सवारी दुर्घटनामा मृत्यु भएका तीनजना नेपालीको परिवारले शोकमा रुन समेत पाएका छैनन् ।
एकै परिवारका तीन जनाको मृत्युको खबर घरमुली ९७ वर्षीय बाबु र ८७ वर्षीया आमालाई सुनाइएको छैन । छोरा गोविन्द खनाल (६६), बुहारी शान्ता (५०) र नातिनी श्रद्धा (२५) को दुर्घटनामा मृत्यु भएको खबर मुटुको समस्या भएकी आमालाई सुनाइएको छैन । मृत्यु भएको तीन दिन भएपनि परिवारका सदस्यले शोकमा रुनसम्म नपाएको छिमेकी बताउँछन् ।
विराटनगर–२ सोमबारे हाटका खनाल दम्पती छोरी श्रद्धालाई भेट्न २ महिनाअघि अमेरिका गएका थिए । मृतक गोविन्दका कान्छा भाई योगेश्वर खनालका अनुसार दुर्घटनामा कार चालक श्रद्धाका श्रीमान् प्रभास ओझा र उनका ४ वर्षीय छोरा शौर्य घाइते छन् ।
“ज्वाइँ प्रभासको होश आयो अरे, नातिको अझै होश आएको छैन अस्पतालमै छन्”, उनले भने । बालकको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
शुक्रबार अपरान्ह खनालको घरमा जम्मा भएका आफन्तका आँखामा आँसु थिएन । आमाबाबुले शंका नगरून् भनेर उनीहरू दुर्घटना बारे बेखबर जस्तो भएर बसेका थिए । “अमेरिकामा दुर्घटना भएर छोरा बुहारी घाइते भएका छन् आफन्तहरू त्यही खबर बुझ्न आएका भनेर बुबाआमालाई सम्झाएका छौं”, योगेश्वरले भने ।
मुटुको समस्या भएकी आमा र बढी उमेर भएका बाबुलाई घटना सुनाउँदा असर पर्ने देखेर गोप्य राखिएको उनको भनाइ छ ।
मृतक खनाल दम्पतीका दुई छोरा घरमा छन् भने दुईमध्ये कान्छी छोरी श्रद्धा डीभी परेर अमेरिका गएकी थिइन् । उनका अनुसार आमाबाबुलाई घुमाउन लिएर हिंडेकी छोरी श्रद्धाले कार चलाएर लामो यात्रा पार गरेपछि ज्वाइँ प्रभासलाई चलाउन लगाएकी थिइन् ।
कार सडक किनारमा रोकेर प्रभास चालकको सीटमा बस्ने बित्तिकै तीव्र गतिमा पछाडिबाट आएको पिकअप भ्यानले ठक्कर दिएको थियो । पछाडि सीटमा बसेका तीनै जनाको तत्कालै मृत्यु भएको खनालले बताए ।
छोरी, ज्वाइँ र नातिनीलाई यसपालिको दशैंमा टीका लगाइदिएर बडा दशैंकै दिन नेपाल फर्कन जहाजको टिकट काटिसकेका थिए खनाल दम्पतीले ।
तर, मृत्युपछि पनि उनीहरूको शव नेपाल नआउने भएको छ । एक जनाको शव ल्याउन रु २५ लाख जति खर्च हुने भएकाले अमेरिकामै काजक्रिया गर्ने तयारी गरिएको छ । २१ भदौमा प्रहरीले आफन्तलाई शव जिम्मा लगाएपछि २२ भदौबाट अमेरिका र विराटनगर घर दुवै ठाउँमा संस्कार गरिने योगेश्वरले बताए ।