घिमिरे युवराजको नाट्य कृति सार्वजनिक
नाटक लेखक एवं निर्देशक घिमिरे युवराजले नाटक 'आँधीको मनोरम नृत्य' पुस्तकाकार स्वरुपमा ल्याएका छन्।
बालबालिका र किशोरकिशोरीको मनोविज्ञान विपरीतको शैक्षिक प्रणाली र परिवारको व्यवहारले निम्त्याउन सक्ने दुर्घटना र दूरगामी असरलाई विषय बनाइएको नाटकको पुस्तक रंगकर्ममा क्रियाशील आठ युवाले मंगलबार काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा संयुक्त रुपमा सार्वजनिक गरे। रंगकर्मी आशान्त शर्मा, पशुपति राई, प्रियंका झा, प्रवीण खतिवडा, बिपिन कार्की, सुषमा कोइराला, रविन्द्र झा र राज शाहले पुस्तक लोकार्पण गरेका हुन्।
पुस्तकमाथि टिप्पणी गर्दै डा. शिव रिजालले पुँजीवादले जकड्याएको मध्यम वर्गको मनोदशा उधिनेको नाटकले बालबालिकाहरुको यात्रा र पारिवारिक-सामाजिक परिवेश केलाएको बताए। एउटा चरणबाट अर्कोमा परिवर्तनलाई थिएटर मार्फत देखाउन सक्नु गजब काम हुने र त्यो 'आँधीको मनोरम नृत्य' को सफलता भएको पनि उनले उल्लेख गरे।
नाटकका पुस्तक लेख्ने, छाप्ने र प्रवर्द्धन गर्ने संस्कृति आवश्यक रहेको भन्दै डा. रिजालले नाटक मञ्चनसँगै पुस्तक प्रकाशनमा पनि जोड दिने घिमिरे युवराजको गतिशीलता सराहनीय रहेको बताए। शब्दलाई नाटक निर्देशक र कलाकारले सम्मानजनक व्यवहार गर्नुपर्ने भन्दै उनले थपे, "अब शब्दमा गम्भीर भएर समालोचकीय हिसाबले अघि बढ्ने वेला आएको छ।" यसलाई नाटकको पुस्तक छाप्ने र छलफल हुने क्रमले सघाउ पुर्याउने उनको भनाइ थियो।
नाटक लेखक घिमिरेले एकातिर नेपाली नाटकको अभाव भएको र अर्कातिर आफ्नो लेख्ने चाहना पनि भएकाले नयाँ सिर्जना तयार पारेको बताए। "शहरी क्षेत्रका बालबालिकाको मनोविज्ञान प्रस्तुत गर्ने प्रयास गरेको हुँ", उनले भने, "यो किताब मेरै चेतना र ज्ञानको थर्मोमिटर हो।"
यो नाटक गत वैशाख-जेठमा शिल्पी थिएटरमा मञ्चन गरिएको थियो।
पुस्तकको लोकार्पण अघि शिल्पीमा तीन महीने कोर्स पूरा गरेका ११औं ब्याचका १६ जना विद्यार्थीको नाट्य प्रस्तुति र दीक्षान्त समारोह राखिएको थियो। त्यस क्रममा 'निर्जीवहरुको जीवन', 'तार्तुफको स्त्री स्वरुप' र 'ही इज नट माई टाइप' नाटक मञ्चन गरिएका थिए।
उनीहरुलाई शताब्दी पुरुष एवं संस्कृतिविद् सत्यमोहन जोशी र चलचित्र निर्देशक यादव खरेलले प्रमाणपत्र हस्तान्तरण गरे।
कार्यक्रमको मैझारोमा देखाइएको 'आँधीको मनोरम नृत्य'को एक अंश र सांगीतिक प्रस्तुति मार्मिक थियो। किशोरकिशोरीको मनोविज्ञानलाई घरपरिवार र विद्यालयले नबुझ्दा खेप्नुपरेको मानसिक प्रताडनाबारे कलाकार संगीता उराँवको जीवन्त अभिनयलाई व्याख्या गर्ने स्मारिका फुयालको गायन र निमन चित्रकारको गितार वादनले दर्शकदीर्घालाई स्तब्ध पारेको थियो।