अनिल कपुरको संघर्ष: सात वर्षसम्मको असफलतापछि एउटा फिल्मले फेर्यो जिन्दगी
बलिउड अभिनेता अनिल कपुर (६२) सहज अभिनय र मिजासिलो व्यवहारका कारण लोकप्रिय छन्। 'मिस्टर इन्डिया' र 'राम लखन' जस्ता स्मरणीय फिल्म दिएका अभिनेता कुनै समय असफलताले हैरान रहेछन्। फिल्मी करिअरमा आफूले गरेको संघर्षबारे उनले हालै ट्विटर मार्फत सार्वजनिक गरेका छन्।
अनिलले ट्विटमा लेखे अनुसार सन् १९७७ देखि सात वर्षसम्म उनले काम गरेका फिल्महरु एकपछि अर्को असफल भएका थिए। उनले लेखेका छन्, "सन् १९७७ देखि १९८३ मा काम गरिरहेको थिएँ र जिन्दगीमा एउटा यस्तो मौका पाउन संघर्ष गरिरहेको थिएँ, जसले सबै कुरा परिवर्तन गरोस्। फिल्म 'वो सात दिन' मेरो लागि त्यही अवसर थियो।"
त्यो फिल्मले आफ्नो सारा सपना पूरा गरेको उनले उल्लेख गरेका छन्। "त्यस बेलादेखि म अभिनय क्षेत्रमा काम गरेकोमा आफूलाई निकै सौभाग्यशाली ठान्छु", उनले लेखेका छन्। 'वो सात दिन' मा अनिल कपुरले 'प्रेम प्रताप' को चरित्रमा अभिनय गरेका थिए, जसले निकै प्रशंसा पाएको थियो। उक्त फिल्ममा नसिरूद्दीन शाह र पद्मिनी कोल्हापुरे पनि मुख्य भूमिकामा थिए।
४० वर्षको फिल्मी करिअरमा अनिल कपुरले 'मशाल', 'तेजाब', 'बेटा', 'मेरी जंग', 'कर्मा', 'जांबाज', 'दिल धडकने दो' जस्ता फिल्म दिएका छन्। यस बाहेक उनले 'बधाई हो बधाई' र 'आयशा' फिल्म पनि निर्माण गरेका छन्। - एजेन्सी