माथिल्लो तामाकोशी तोकिएको समयमै पूरा हुने
माथिल्लो तामाकोशी जलविद्युत् आयोजना तोकिएको समयमा नै पूरा गर्ने गरी निर्माण कार्य अगाडि बढाइएको छ ।
आयोजनाको सबैभन्दा अप्ठ्यारो मानिएको ठाडो सुरुङमा पाइप राख्ने कामलाई योजनाबद्ध रुपमा अगाडि बढाइएको आयोजनाका प्रवक्ता डा गणेशप्रसाद न्यौपानेले जानकारी दिए ।
लामो समयको प्रयासपछि अत्यन्तै जटिल र चुनौतीपूर्ण मानिएको तल्लो ठाडो सुरुङमा गत १ असार र माथिल्लोमा ९ असारबाट पेनस्टक पाइप जडान शुरु गरिएको थियो । उनका अनुसार हालसम्म कूल ५२.५ मिटर पेनस्टक पाइप जडान भइसकेको छ ।
यसै सातामा थप २५ मिटर पेनस्टक पाइप राख्ने तयारी गरिएको छ । आयोजनाका अनुसार तल्लो ठाडो सुरुङ ३७२ मीटर लामो रहेको छ भने माथिल्लो ठाडो सुरुङ ३१० मिटर लामो छ । पेनस्टक पाइप आपूर्ति तथा जडानको ठेक्का पाएको भारतीय कम्पनी टेक्स्म्याकोले काम गर्न ढिलाइ गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा इलेक्ट्रोमेकानिकलको ठेकेदार अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको छ ।
अपर तामाकोशी हाइड्रोपावर लिमिटेड, टेक्सम्याको र एन्ड्रिजबीच गत २३ पुसमा आयोजनालाई थप वित्तीय भार नपर्ने गरी यो काम गर्न त्रिपक्षीय सम्झौता भएको थियो । माथिल्लो ठाडो सुरुङमा पाइप जडान भने टेक्स्म्याकोले नै गरिरहेको छ ।
प्रवक्ता न्यौपानेका अनुसार माथिल्लो ठाडो सुरुङमा पाइप जडानका लागि भारतीय ठेकेदार कम्पनीले थप २० कामदार कोलकाताबाट ल्याएको छ । कामदार थपिएपछि ठाडो सुरुङ निर्माण प्रक्रियाले थप गति लिने विश्वास लिइएको छ । आयोजनाको अवस्थालाई हेरेर सरकारले सबै प्रकारको सहयोग उपलब्ध गराएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हरेक महिनाजसो नै आयोजनास्थल पुगी समस्या समाधानमा सहजीकरण गरिरहेका छन् ।
गत ६ साउनमा माथिल्लो ठाडो सुरुङमा पाइप जडानको काम सन्तोषजनक नपाइएपछि कार्यकारी निर्देशक घिसिङले भारतको कोलकातास्थित टेक्स्याकोका प्रमुख कार्यकारी अधिकृत जीसी अग्रवाललाई आयोजनास्थलबाटै फोन गरी विगतमा जनाइएका प्रतिबद्धता पूरा गर्न आग्रह गरे ।