प्रहरीको बन्दुककाे चुच्चाेले छातीमा घाेचिएपछि महिला घाइते
विराटनगरमा चेकिङका क्रममा मोटरसाइकलमा सवार महिलालाई बन्दुकले हिर्काएको विरोधमा स्थानीयले प्रहरीलाई लखेटेका छन् ।
शनिबार राति ८ः३० मा विराटनगर ८ अमरटोलमा प्रहरीले चेकिङका क्रममा मोटरसाइकल नरोकेपछि राइफलले हिर्काएको स्थानीयको भनाइ छ ।
भाइ नागेन्द्र यादवले चलाएको मोटरसाइकल पछाडि बसेकी कोशी अञ्चल अस्पतालमा कार्यरत राजमनीदेवी यादवको छातीमा बन्दुकको चुच्चोले घोचिएपछि उनलाई अस्पताल भर्ना गरिएको छ ।
प्रहरी जवान लक्ष्मेश्वर यादवले मोटरसाइकल नरोकिएपछि राइफल तेर्स्याएर रोक्ने प्रयास गर्दा महिलाको छातीमा घोचिएको थियो ।
भेला भएका स्थानीयले लखेटेपछि भ्यानसहित प्रहरी भागेर ट्राफिक प्रहरी कार्यालयमा छिरेको थियो । स्थानीयले भ्यानलाई मोटरसाइकलबाट पिछा गरेर छेक्ने प्रयास गरेका थिए ।
महिलाको नोबेल अस्पतालमा उपचार भई रहेको छ । प्रहरीले ताकेर आफ्नी दिदीलाई बन्दुकले हानेको घाइतेका भाइ धर्मेन्द्रले बताए ।
रोक्ने क्रममा दाहिने, देब्रे चलाएर भागेको मोटरसाइकल राइफल लिएर बसेको प्रहरी भए ठाउँमा आएर आफैं ठोकिएको प्रहरीले दाबी गरेको छ ।
सीआरभी प्रहरीका नायब निरीक्षक टायमप्रसाद सिवाकोटीले प्रहरीले अगाडि राइफल बोकेर उभिएका ठाउँमा भाग्दै गरेको मोटरसाइकल आएर आफैं ठोकिएको दाबी गरे ।
चेकिङ स्थलमा रहेका प्रहरी सहायक निरीक्षक बलकुमार राईलाई स्थानीयले कुटपिटको प्रयास गरेपछि उनी लाठीले हान्दै भागेका थिए ।
स्थानीयले लखेटेपछि जिल्ला प्रहरी कार्यालयले चेकिङमा बसेका सबै प्रहरीलाई रातिनै अस्पताल लगेर मादक पदार्थ सेवन गरे नगरेको परीक्षण गरेर छाडेको छ ।
राईफलले हान्ने जवान यादवलाई भने जिल्ला प्रहरीमा तानिएको छ । प्रहरी उपरीक्षक विश्व अधिकारीले तीन जना चढेको मोटरसाइकल रोक्ने क्रममा सामान्य चोट लागेको भएपनि प्रहरीको गल्ती पाइए कारवाही हुने बताए ।
सीआरभी प्रहरीका अनुसार, सो ठाउँमा चेकिङका क्रममा यसअघि पनि स्थानीयले प्रहरीलाई लखेट्ने गरेका थिए ।