नेपालमै छैन प्लाज्माफेरेसिस मेसिन
प्रधानमन्त्री केपी ओलीको शरीरबाट एण्टिबडी हटाउन सिङ्गापुरको न्याशनल युनिभर्सिटी अस्पतालमा प्लाज्माफेरेसिस प्रविधिको प्रयोग गरिएको छ ।
नेपालका अस्पतालमा भने ‘प्लाज्माफेरेसिस मेशिन’ नै नभएको वीर अस्पतालबाट अवकाश पाइसकेका मिर्गौला रोग विशेषज्ञ डा.राजेन्द्र अग्रवाल बताउँछन् । नेपालमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र वीर अस्पतालमा मात्र मिर्गौला प्रत्यारोपण सेवा उपलब्ध छ ।
ती अस्पतालको प्रत्यारोपण इकाइमा हेमोडाइलासिस मेशिनबाटै प्लाज्माफेरेसिस गरिन्छ । उक्त मेशिनमा हुने ‘डाइलाइजर’ को ठाउँमा छुट्टै प्रकारको ‘फिल्टर’ राखेर प्लाज्माफेरेसिस गरिने डा.अग्रवालको भनाइ छ । नेपालमा करीब सात वर्षदेखि यसरी नै उपचार भइरहेको छ ।
मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले चिकित्सा विज्ञानले समेत ‘प्लाज्माफेरेसिस मेशिन’ नै प्रयोग गर्न सुझाएको बताउँछन् । उनी भन्छन्, “प्लाज्माफेरेसिस मेशिन नबनेको अवस्थामा संसारभर हेमोडाइलासिस मार्फत प्लाज्माफेरेसिस हुन्थ्यो ।
अहिले संसार कहाँ पुगिसक्यो, तर हामी जहाँको त्यहीं छौं ।” चिकित्सकहरूका अनुसार ‘प्लाज्माफेरेसिस मेशिन’ बाट सजिलै र छिट्टै प्लाज्माफेरेसिस गर्न सकिन्छ ।
चितवन मेडिकल कलेजका प्राध्यापक तथा मिर्गौला रोग विशेषज्ञ डा.अरुण सेढाईं प्लाज्माफेरेसिस मेशिनको सट्टा हेमाडाइलासिस मेशिनको प्रयोग गर्दा यसको प्रभावकारितामा नै फरक पर्ने बताउँछन् । ‘प्लाज्माफेरेसिस मेशिन’ भएमा न्यूरोका बिरामीको पनि उपचार गर्न सकिने चिकित्सकहरु बताउँछन् ।
प्रधानमन्त्रीका निजी चिकित्सक डा.दिलीप शर्माले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे ५ भदौमा गरेको पत्रकार सम्मेलनमा भनेका थिए, “स्वास्थ्य उपचारमा हामीले प्रयोग गरिरहेका भन्दा कतिपय प्रविधि नयाँ आइसकेका छन्, त्यसैले भीभीआईपीको उपचारमा कुनै कसर बाँकी नराख्न सिङ्गापुर जान सिफारिश गरेका हौं ।”
चिकित्सकहरूका अनुसार प्लाज्माफेरेसिस मेशिनको मूल्य रु.३० लाखदेखि रु.८० लाखसम्म पर्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिलेसम्म यो मेशिन खरीद गर्न पहल गरेको छैन । मन्त्रालयले निजी अस्पताललाई समेत मेशिन आयातका लागि भन्सार छुट दिएको छैन । हेमोडाइलासिस मेशिनको आयातमा भने भन्सार छुट दिइएको छ ।
मन्त्रालयले मिर्गौला प्रत्यारोपण गर्ने विपन्न नागरिकलाई आर्थिक सहयोग गर्छ । विपन्न प्रमाणित प्रत्येक बिरामीले रु.४ लाख, औषधि खर्चबापत थप रु.१ लाख र प्रत्यारोपण पूर्व गरिने ‘क्रसम्याच’ का लागि रु.५० हजार पाउँछन् ।
स्वास्थ्य सेवा विभागको सामाजिक सुरक्षा शाखाका अनुसार आर्थिक वर्ष २०७४/७५ मा जम्मा १४१ जनाको मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसमध्ये प्रत्यारोपण गर्ने विपन्नलाई उक्त आर्थिक वर्षमा जम्मा रु.८ करोड ८४ लाख सहयोग दिइएको थियो । प्रत्यारोपणपछि गरिने औषधि सेवन र प्रत्यारोपणपूर्व गरिने क्रसम्याचका लागि रु.४ करोड २७ लाख दिइएको थियो ।
त्यस्तै मिर्गौला डायलासिस सेवा विभिन्न ५२ अस्पतालमा उपलब्ध छ । सरकारले विपन्न नागरिकको डायलासिस बापत लाग्ने खर्च पनि बेहोर्छ । आर्थिक वर्ष २०७४/७५ मा ४ हजार ८३५ जनाको डायलासिस बापत रु.९३ करोड ६९ लाख ३६ हजार ४८ खर्च भएको थियो ।