भक्तपुरमा १२ जनामा डेंगु
देशभरि फैलँदै गएको डेंगुको असरले भक्तपुर जिल्लालाई पनि उच्च जोखिममा पारेको छ ।
जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत पार्थमणि न्यौपानेले गत वर्षभन्दा यस वर्ष चार गुणा डेंगुका बिरामी भेटिएकाले यो जिल्ला डेंगुको उच्च जोखिममा परेको जानकारी दिए ।
भक्तपुर अस्पतालमा कार्यरत एक कर्मचारीसहित अहिलेसम्म १२ जनामा डेंगुको संक्रमण फेला परेको हो । अहिले दुई जनाको सोही अस्पतालमा र अन्यको टेकु अस्पतालमा उपचार भइरहेको उक्त अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रविभूषण सुवालले जानकारी दिए ।
यहाँ डेंगुको संक्रमण परीक्षण कीटको व्यवस्था नहुँदा टेकु अस्पतालमा जँचाउन पठाउनु परेको उनले बताए ।
जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत न्यौपानेका अनुसार गत वर्ष तीन जनामा मात्रै डेंगु देखिएको र यस वर्ष डेंगु संक्रमण बढेपछि जिल्लाका सबै स्वास्थ्य चौकी, नगर जनस्वास्थ्य चौकी र सञ्चारमाध्यम मार्फत गाउँ–गाउँमा यसबारे जनचेतना फैलाउने अभियान शुरु गरिएको छ ।
कार्यालयले डेंगु संक्रमणबाट जोगिन दिउँसो टोक्ने लामखुट्टेबाट बच्न र घरवरिपरि पानी जमेका खाल्डाखुल्डी नराख्न, झ्याम्म भएका झाडी नराख्न, फोहोर नगर्न र इन्सेक्टिसाइड छरेर डेंगुको संक्रमणबाट जोगिन सर्वसाधारणलाई आग्रह गरेको छ ।