व्यवसायीलाई घाँडो बनेका हात्ती
सफारीबाट हुने आम्दानी घटिरहेको र पहिले जसरी हात्ती बेच्न नपाएका कारण खर्च धान्नै मुश्किल परिरहेको व्यवसायी बताउँछन्।
सौराहाका व्यवसायी ओम रिजाल आफूले पालेका हात्ती बेच्न चाहन्छन्। यसमा मुख्य तीन कारण छन्। पहिलो, आम्दानी पहिले जस्तो नहुनु। दोस्रो, चराउन पहिले जसरी जंगल लैजान नपाउनु। अर्को, गाउँलेले तिनै हात्तीका कारण जंगली हात्ती आएर दुःख दिएको भनी गनगन गर्नु।
नौ वटा हात्ती पालिरहेका रिजालले तिनको रेखदेख गर्न १३ जना माहुते राखेका छन्। तिनको तलब र हात्तीको खुराक गरी मासिक खर्च आठ लाख रुपैयाँ हाराहारी पुग्छ। तर आम्दानी त्यो अनुपातमा हुन छाडेको उनको भनाइ छ। आम्दानी घट्नुको एउटा कारण हात्ती सफारी गर्ने पर्यटक कम हुनु हो।
जनावर अधिकारकर्मीले हात्ती सफारीको विरोध गर्दै आएको र जनावर अधिकारप्रतिको समर्थन बढ्दै गएकाले पछिल्लो समय हात्ती चढ्ने क्रम घटेको व्यवसायीको अनुभव छ। रिजालले पनि सौराहा घुम्न आएका पर्यटकलाई हात्ती सफारी गराएर आम्दानी गर्दै आएका थिए। “अब हात्ती पाल्न नसकिने भयो। तर यिनलाई न बेच्न पाइएको छ न त छाड्न,” उनी भन्छन्।
सौराहाकै होटल व्यवसायी विनोद तिमिल्सेनासँग पनि एउटा हात्ती छ। “हात्तीलाई खुवाउन घाँस छैन, वनमा काट्न पाइँदैन। बेचूँ भन्दा पनि पाइएको छैन,” उनी भन्छन्।
नेपालमा हात्ती बेचबिखन गर्न पाउने कानून नभए पनि चार-पाँच वर्षअघिसम्म भने व्यवसायीले बेच्दै आएका थिए। कोरोनाका वेला पर्यटक ठप्प हुँदा घाटा टार्न उनीहरूले धमाधम हात्ती भारतमा बेचेका थिए। आम्दानी हुन छाडेपछि भारतबाट भाडामा ल्याइएका हात्ती पनि फिर्ता पठाइएका थिए।
“त्यति वेला एउटा मात्र हात्ती हुनेहरूले पनि राम्रै दाममा बेचेका थिए, तर अहिले सरकारले रोक लगाइदिएपछि समस्या परेको छ,” तिमिल्सेना भन्छन्। उमेर, स्वास्थ्य र प्रयोगका आधारमा हात्तीको मूल्य निर्धारण हुने गर्छ। व्यवसायीका अनुसार नेपालमा वयस्क हात्तीको मूल्य ८० लाख रुपैयाँसम्म पर्छ। भारतमा एक करोड भारुसम्म बिक्री हुन्छ। “हात्तीको मूल्य यति नै भन्ने निश्चित त हुँदैन, तर यो महँगो नै पर्छ,” सौराहाका हात्तीपालक ध्रुव गिरी भन्छन्।
हात्तीको बिक्रीमूल्य जत्तिकै महँगो छ यसलाई पाल्न लाग्ने खर्च। गिरीका अनुसार एउटा हात्तीले धान मात्र दिनमा ३०-४० केजीसम्म खान्छ। यस बाहेक त्यत्तिकै मात्रामा घाँस र अरू खानेकुरा चाहिन्छ। एउटा हात्ती स्याहार्न दुई जना माहुते राख्नुपर्छ।
.jpg)
सौराहामा अहिले घरपालुवा हात्ती ४५ वटा रहेको अभिलेख छ।नेपालमा हात्ती बेच्ने क्रमसँगै तिनको संख्या घट्दै गएको भन्दै जनहित संरक्षण मञ्चका तर्फबाट अधिवक्ता सञ्जय अधिकारी र अर्णव चौधरीले हात्तीको खरीद, बिक्री र निकासीमा रोक लगाउन माग राखी २०७८ भदौ २५ गते सर्वोच्च अदालतमा मुद्दा हालेका थिए। अदालतले त्यसको पाँच दिनपछि संकटापन्न वन्यजन्तु हात्तीको तस्करी, बिक्री, हस्तान्तरण लगायत काम तत्काल रोक्न अन्तरिम आदेश दिएको थियो।
नेपालमा हात्ती पाल्ने परम्परा नयाँ भने होइन। ऐतिहासिक रूपमा हात्तीहरू शाही परिवारको सुविधा र सैन्य प्रयोजनले पालिन्थे। सन् १९७० यता पर्यटन उद्योगको विकाससँगै सौराहा आदि क्षेत्रमा पर्यटकीय दृष्टिले हात्ती पाल्न थालियो। चितवनमा निकुञ्जको स्थापना भएदेखि नै हात्ती सफारी गराइँदै आएको छ। पछि सरकारी तवरबाट सफारीका लागि हात्ती पुर्याउन नसकिंदा व्यक्तिगत रूपमा पनि पाल्न थालियो। “४०-४५ वर्ष भयो, सौराहामा व्यक्तिगत रूपमा पाल्न थालिएकोे,” व्यवसायी गिरी भन्छन्।
पछिल्ला दिन यी व्यवसायीलाई चरिचरन ठूलो समस्या बनेको छ। वनमा लगेर चराउन पाए हात्तीपालनमा हुँदै आएको खर्चको भार ३५ प्रतिशतसम्म कम हुने उनीहरूको भनाइ छ। गिरीका अनुसार हरियोपरियो खान पाए हात्ती स्वस्थ भई आयु पनि बढ्छ। “वनको काँस हरेक वर्ष जलेर सिद्धिनुभन्दा त हात्तीलाई खुवाउनु राम्रो होला नि ?” उनी भन्छन्, “हामीले पालिरहेको हात्ती मर्नु भनेको सरकारको पनि त नोक्सानी हो। त्यसैले यसलाई बचाउने जिम्मा सरकारको पनि हुन पर्यो।” पाल्न नसघाउने हो भने बेच्न दिइनुपर्ने गिरीको अडान छ। “भारतबाट किन्न माग पनि आइरहेको छ। सरकारले भारतमा लगेर बेच्न पाउने बनाइदिएको भए राम्रो हुन्थ्यो,” उनी भन्छन्।
अर्कातिर अरू स्थानीयले यिनै घरपालुवाका कारण जंगली हात्तीले दुःख दिएको गुनासो गर्दै आएका छन्। तिनले अन्नबालीमा क्षति पुर्याउनुका साथै मानिसको ज्यान समेत लिने गरेका छन्। व्यवसायी ओमप्रकाश पाण्डे भने सरकारले निकुञ्जका जंगली हात्ती व्यवस्थापन नगरिदिंदा आफूहरूले दुःख खेप्नुपरेको आरोप लगाउँछन्। “सरकारले व्यवस्थापन गरिदिए जंगली हात्ती हाम्रा हात्तीसम्म आउने थिएनन्,” उनी भन्छन्।
जंगली हात्ती बस्ती पस्नुको एउटा कारण त्यहाँका घरपालुवा पोथी हात्ती पनि रहेको विज्ञको भनाइ छ। “प्रजननको समयमा पोथी हात्तीले जंगली भालेलाई आफ्नो सुगन्ध छोड्छे। भाले हात्ती आफैं आउने होइन, पोथीले आकर्षण गर्ने हो,” हात्तीविज्ञ सञ्जिता शर्मा पोख्रेल भन्छिन्।
कानूनी पाटो
घरपालुवा हात्ती व्यवस्थापन नीति, २०६० मा अवैध शिकार र वासस्थान अतिक्रमण आदि कारणले संकटापन्न स्थितिमा पुगेको भन्दै हात्तीको ओसारपसार र बिक्रीवितरणमा रोक लगाइएको छ।
दुर्लभ वन्यजन्तु र वनस्पतिहरूको अन्तर्राष्ट्रिय व्यापार सम्बन्धी महासन्धि (साइटिस)को अनुसूची १ मा एशियाली हात्तीलाई पनि समेटिएको छ। उक्त सूचीमा समाविष्ट संकटापन्न जन्तुको शिकार, ओसारपसार आदि प्रतिबन्धित छ। उक्त महासन्धिको पक्षराष्ट्र नेपालले संकटापन्न वन्यजन्तु र वनस्पतिको संरक्षण तथा अन्तर्राष्ट्रिय व्यापारमा नियमन र नियन्त्रण गर्न २०७३ सालमा ऐन जारी गरेको छ। ऐनलाई प्रभावकारी बनाउन २०७६ सालमा नियमावली पनि तयार पारिएको छ।
.jpg)
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले पनि हात्तीको खरीद-बिक्री वा स्थानान्तरण गरिनुलाई आपराधिक कार्य मान्छ। यद्यपि धार्मिक प्रयोजन देखाएर भारतबाट हात्ती ल्याइँदै आएको छ। नेपाल प्रवेश गराएपछि ती हात्तीको गैरकानूनी रूपमा किनबेच हुने गरेको पाइन्छ।
समाधान के ?
हात्तीलाई सफारीमा प्रयोग गर्दा तिनको शोषण हुने भन्दै पशु अधिकारकर्मीले विरोध जनाउँदै आएका छन्। व्यवसायीलाई अहिले देखिएको समस्या आउन सक्ने भन्दै हात्तीलाई फरक तरीकाले पर्यटनमा उपयोग गर्न पहिल्यै सुझाव दिइए पनि उनीहरूले बेवास्ता गरेको पशु अधिकारकर्मी सृष्टि सिंह बताउँछिन्। “भूकम्पअघि उहाँहरूलाई थाइल्यान्ड लगेर सेन्चुरी मोडल देखाइयो। त्यसमा हात्तीलाई शोषण नगरी व्यावसायिक रूपमा उपयोग गर्न सकिन्छ। तर उहाँहरूले त्यो मोडलमा नजाने निर्णय गर्नुभयो,” उनी भन्छिन्, “सफारी गराउन नसक्ने, उमेर पुगिसकेका हात्तीलाई पनि आफ्नो फाइदाका लागि दुःख दिन छोडेका छैनन्।”
थाइल्यान्ड पुगेका व्यवसायीमध्ये ध्रुव गिरीले मात्र सेन्चुरी मोडल लागू गरेका छन्, तीन वर्षयता। “अरू साथीले यो मोडलमा जान मान्नुभएन,” उनी भन्छन्, “मकहाँ आउने ९५ प्रतिशत पर्यटक खुशी भएरै गएका छन्।”
सेन्चुरी मोडेल भनेको हात्तीको संरक्षण, पुनःस्थापना र उनीहरूको प्राकृतिक जीवनशैलीलाई सम्मान गर्दै बनाइएको व्यवस्थापन प्रणाली हो। खासगरी पहिले सवारी, सर्कस वा शारीरिक परिश्रम पर्ने अन्य काममा प्रयोग गरिएका हात्तीमा केन्द्रित यो मोडल अन्तर्गत हात्तीलाई सुरक्षित, खुला र हरियालीयुक्त क्षेत्रमा राखिन्छ। त्यहाँ उनीहरू स्वतन्त्र रूपमा हिंडडुल गर्न, पोखरीमा नुहाउन र अन्य हात्तीसँग पारस्परिक सम्बन्ध बनाउन सक्छन्।
यसमा पर्यटकलाई टाढाबाट हात्ती हेर्ने, खाना खुवाउने र नुहाइमाग्ने जस्ता सम्मानजनक अन्तरक्रियाको अवसर दिइन्छ। “यसरी हात्तीको कल्याणलाई प्राथमिकतामा राखेर पनि पर्यटकीय आम्दानी सम्भव छ,” हात्तीविज्ञ पोख्रेल भन्छिन्। उनका अनुसार थाइल्यान्डमा रहेको हात्ती–पार्क यो मोडलको उत्कृष्ट उदाहरण हो। त्यहाँ पर्यटक मात्र होइन, अनुसन्धाता, विद्यार्थी र पशु अधिकारकर्मी समेत सहभागी भएर हात्ती संरक्षणमा योगदान गर्न सक्छन्। यसमा स्थानीय समुदायको पनि सहभागिता रहने भएकाले रोजगार सिर्जना हुन्छ।
कतिपय व्यवसायी भने पर्यटकको संख्यामा निकै कमी आएको भन्दै यो मोडलमा जाँदा पनि ढुक्क हुने स्थिति नरहेको बताउँछन्। त्यसैले उनीहरूको जोड हात्ती बेच्न पाउनुपर्नेमै छ। “यति महँगो पैसामा ल्याएका छौं। फ्रीमा निकुञ्जलाई दिन पनि सकिंदैन,” व्यवसायी पाण्डे भन्छन्।
घरपालुवा हात्ती सम्बन्धी समस्या कसरी समाधान गर्ने भन्नेबारे छलफल भइरहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका प्रवक्ता वेदकुमार ढकाल बताउँछन्। “होटल व्यवसायीबाट निवेदन आएको छ व्यवस्थापन गर्ने सम्बन्धमा, तर यहाँबाट निर्णय गरेका छैनौं। व्यवसायीले लिखित रूपमा हात्ती पाल्न, व्यवस्थापन गर्न सकेनौं भनेपछि मात्र सरकारको दायित्व हुन्छ,” उनी भन्छन्।