सेना सडकमा खटाउनुपर्ने गरी किन अशान्त बन्यो वीरगन्ज?
राज्यले नै धार्मिक गतिविधिमा लगानी गरेर सद्भाव खलबल्याउने क्रियाकलापलाई बढावा दिइरहेको जानकारहरू बताउँछन्।
वीरगन्ज–१४ बहुअरीका शोयब अन्सारी बिर्यानी बेच्छन्। भाटभटेनी सुपरमार्केटको स्थानीय शाखाअगाडि खोलेको लजिज बिर्यानी राम्रो चलेपछि उनले व्यवसाय विस्तार गरे। वीरगन्ज–२ छपकैयामा ५ वटा शटर भएको घर भाडामा लिए। झन्डै ६० लाख खर्चिएर गत मंसीर १० मा त्यहाँ शाखा खोले। त्यहाँ पनि व्यापार राम्रै हुँदै थियो। तर चैत ३० गते शनिबार अपरिचित युवाले पसल तोडफोड गरिदिए। शटर फोडेर सामान बाहिर निकाले। कति नालामा फाले, कति जलाइदिए। उनले प्रहरीलाई बुझाएको प्रारम्भिक विवरणमा ६५ लाख २ हजार ५ सय रुपैयाँको क्षति भएको उल्लेख छ।
“पसल बन्द गरेर घर गएका थियाैं, शटर फोडेर भित्र पसेछन्। ६ वटा फ्रिज, ४ वटा एसी, १० वटा सिलिङ पङ्खा, टेबल–कुर्सी, सोफा केही बाँकी राखेका छैनन्,” उनी भन्छन्।
भारतको उत्तर प्रदेशका अब्दुल अजिजले पनि ५ वर्षअघि छपकैयामा समा बिर्यानी खोले। त्यहाँ प्रायः ग्राहकको भिड टुट्दैन। चैत ३० गते उनको पसलमा पनि पहेंलो लुगाएका मानिसहरूले ढुंगामुढा गर्न थाले। उनीहरू ढोका लगाएर पसलभित्रै बसे। उच्छृंखल युवाले पसलबाहिर रहेका सामग्री नालामा फालिदिए। गेटमा लात्ता हाने, सीसीटीभी क्यामेरा फुटाइदिए। प्रहरीलाई खबर गरे पनि नआएको छोरा शेख युसुफ बताउँछन्। “ठूला सामान र तयार भएको बिर्यानी बाहिरै राख्ने गर्छौं, तन्दुरी बनाउने चुलो पनि बाहिरै थियो,” उनी भन्छन्, “उनीहरूले सबै सामान नालामा फालिदिए, मटन बिर्यानी, रोटी, २५ केजी आँटा, चटनी छरिदिए।” २ लाख ५० हजार जतिको क्षति भएको युसुफको अनुमान छ।
वीरगन्ज महानगरपालिका–२ छपकैयाका सम्साद समानी चैत २९ गते विवाहमा सरिक हुन भारत गएका थिए। पसल १५ वर्षे छोरालाई जिम्मा लगाएर गएका थिए। तर पसलमै छोरालाई केही व्यक्तिहरूले हातपात गरेको, रेडबुल, पसलका सामान र पैसा लगेको र बाइक समेत जलाइदिएको खबर पुग्यो। उनी शनिबार राति कर्फ्यू छिचोल्दै घर आए। तत्काल छपकैया सामुदायिक बिटका प्रहरीलाई खबर गरे। “गाउँको महिला समूहबाट ३ लाख रुपैयाँ ऋण लिएर पसलमा लगानी गरेको थिएँ,” उनी भन्छन्, “३० हजार रुपैयाँ जति नगद र अरू २० हजारको सामग्री क्षति भएको छ। बाइक पनि जलेको छ।” उच्छृंखल गतिविधिमा संलग्नलाई कारबाही गर्नुपर्ने र क्षतिपूर्ति पाउनुपर्ने समानीको माग छ।
तोडफोड गरिएको बिर्यानी पसल ।
नेपाली नयाँ वर्ष वैशाख १ को पूर्वसन्ध्यामा वीरगन्ज अशान्त बन्न पुग्यो। वीरगन्जवासीको मात्र हैन, देशको मुख्य नाका हुँदै आउजाउ गर्ने सर्वसाधारणको नयाँ वर्ष आगमन सुखद हुन सकेन। अर्थतन्त्र चलायमान् बनाउन भनी वीरगन्जमा आयोजित रात्रि मेला समेत स्थगन गर्नुपर्यो।
चैत ३० मा हनुमान जयन्तीका अवसरमा हिन्दू समाजले शोभायात्रा निकालेको थियो। वीरगन्जका विभिन्न स्थानबाट घण्टाघरमा भेला भई निस्केको र्याली दिउँसो छपकैया पुग्यो। यो मुस्लिम समुदायको बाहुल्य रहेको क्षेत्र हो। त्यहाँ पुगेपछि फरक धार्मिक समुदायबीच तनाव उत्पन्न भई उग्र रूप लियो। यसबाट दुईवटा बिर्यानी पसल, एउटा किराना पसल र तीनवटा मासु पसलमा क्षति पुगेको छ। स्थानीयका अनुसार ५ वटा मोटरसाइकल जलाइएका र पाँचवटा तोडफोड गरिएको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले १ सय ४९ राउन्ड अश्रुग्यास हान्यो। रबरको समेत गरी ११ राउन्ड गोली चलायो।
घटनामा प्रहरी उपरीक्षक गौतम मिश्र सहित १५ जना, सशस्त्र प्रहरीका ८ जना र १६ जना सर्वसाधरण गरी ३९ जना घाइते भए। कतिपय ढुंगा लागेर घाइते भएका थिए भने कतिपयलाई गोलीको छर्रा लागेको थियो। उनीहरूको नारायणी अस्पताल तथा अन्य निजी अस्पतालमा उपचार गरिएको छ। क्षतिको विवरण संकलन गर्न प्रशासनले छुट्टै टोली बनाएको प्रहरीले जनाएको छ।
बल प्रयोग गरेर स्थिति नियन्त्रणमा लिन नसकेपछि स्थानीय प्रशासनले चैत ३० गते बेलुकी साढे ७ बजेदेखि कर्फ्यू लगायो। सडकमा सेना खटायो। चैत ३१ गते बिहान सर्वदलीय–सर्वपक्षीय बैठक डाकेर दुवै धार्मिक समुदायका अगुवासँगको छलफल गरेको जिल्ला सुरक्षा समिति, पर्साले आइतबार मध्यरातिदेखि कर्फ्यू हटाएको छ। वैशाख १ देखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ। यसका लागि पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटलाई सीमा तोकिएको छ।
घटनामा संलग्न भएको अरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। प्रहरीले आफ्ना समर्थकलाई पक्राउ गरेको विरोधमा केही युवाहरूले प्रहरी कार्यालय घेराउ गरेका छन्। प्रहरी उपरीक्षक गौतम मिश्रले भने, “थप केहिको पहिचान भइसकेको छ, केहि पहिचानको क्रममा छन्, आगजनी, तोडफोड र लुटपाटमा संलग्न हुन वा छतबाट ढुंगा हान्ने र अन्य कानून उल्लंघन गर्ने कसैलाई छोड्दैनौं।”
स्थिति सामान्य भइनसकेकोले निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी गणेश अर्याल बताउँछन्। “इदगाह चोकसम्म जान पाउनुपर्छ भन्ने माग शोभायात्रा निकाल्ने पक्षको थियो, शान्तिपूर्ण ढंगले गएर फर्कन्छौं भनेपछि अनुमति दिएका थियौं,” उनी भन्छन्, “छपकैयाको श्रीराम हल अगाडि अपरिचित व्यक्तिले शोभायात्रामा सहभागीको झन्डा खोसेपछि विवाद भएको थियो। सुरक्षा निकाय संयमित भएर कमभन्दा कम क्षतिमा स्थिति नियन्त्रणमा लिएको छ।”
कर्फ्यु हटाएपछि प्रशासनले जारी गरेको सूचना ।
नेपालमा हिन्दू र मुस्लिम समुदायबीच वैमनस्य देखिएको घटना यो पहिलो होइन। देशभित्रका अन्य भू–भाग वा भारतमा हुने घटनाको असर पछिल्ला दिन वीरगन्जमा पनि देखिने गरेको छ। २०८० फागुन ७ मा पनि दुई धार्मिक समूहबीच विवाद उत्पन्न हुँदा स्थानीय प्रशासनले कर्फ्यू लगाएर स्थिति नियन्त्रणमा लिएको थियो। रौतहटको ईशनाथ नगरपालिका, मोतीपुरमा श्रीपञ्चमीका दिन सरस्वतीको मूर्ति सेलाउने क्रममा फागुन ३ मा झडप भएको थियो। विवाद फैलँदै जाँदा फागुन ५ मा त्यहाँ पनि प्रशासनले कर्फ्यू लगाएरै स्थिति नियन्त्रणमा लिनुपरेको थियो।
निहुँ शोभायात्रा
वीरगन्जमा मुस्लिम समुदाय अल्पसंख्यकमा पर्छ। राष्ट्रिय जनगणना २०७८ का अनुसार यहाँको जनसंख्या २ लाख ७२ हजार ३ सय ८२ छ। तिनमा ७८.८ प्रतिशतले हिन्दू र २०.८ प्रतिशतले मुस्लिम धर्म मान्छन्। बाँकी बौद्ध, किरात, क्रिस्चियन, बोन, जैन, शिख धर्मावलम्बी हुन्।
शनिबारको शोभायात्रा प्रशासनको समन्वयमै भएको र रुट समेत बुझाएको हिन्दू समाजका अगुवा बताउँछन्। हिन्दू समाज र प्रशासनले शोभायात्रामा सहभागीको झन्डा खोसिएपछि स्थिति बिग्रिएको दाबी गरेका छन्। तर स्थानीय त्यो मान्न तयार छैनन्।
उनीहरूका अनुसार शोभायात्रा हेर्न सडकमा उभिएका मुस्लिम समुदायका मानिसलाई चिढ्याउने, चर्को स्वरमा डीजे बजाउने, तरबार लगायत हतियार घुमाउने, मोटरसाइकल चलाएर ‘सर्कल’ जस्ता गतिविधि भएका थिए। इदगाह चोकमा शोभायात्रामा सहभागी केही मानिस लामो समय बसेका थिए।
शोभायात्रा मुख्य सडकमा मात्र भएकोले सहभागीलाई पश्चिमतर्फ जान अनुमति थिएन तर हेल्मेट नलगाएका तीन जना मानिस सवार एउटा बाइक ‘जय श्रीराम’को नारा लगाउँदै छपकैया चोकबाट पश्चिमतर्फ हुइँकियो। त्यसतर्फ मक्की जामे मस्जिद छ। स्थानीय डायमन्ड युवा क्लबका अध्यक्ष सम्साद अलीका अनुसार चोकमा शोभायात्रा हेर्न बसेका उनीसहितका युवा बाइक गएतर्फ हेर्न गएका थिए। बाइक भएतिर भीड गएको देखेपछि शोभायात्रामा सहभागी अन्य युवाले ढुंगामुढा गरे। तब मुस्लिम समुदायका युवाले पनि प्रतिकार गरेका थिए। घटनास्थलमै रहेको जनपद प्रहरीले गाउँ पस्ने युवालाई रोक्ने प्रयास नगरेको उनको आरोप छ।
“पहिला झन्डा खोसेको भनेर प्रशासनबाटै भ्रम छर्ने कार्य भएको छ। तर शोभायात्रामा सहभागी मोटरसाइकल चलाएर गाउँ छिरेपछि स्थिति बिग्रिएको हो। पछि इदगाह चोकमा झन्डा खोसिएको हो,” उनले भने
अर्का प्रत्यक्षदर्शी गनी अब्दुल शोभायात्राका सहभागीले बियर र स्प्राइटको बोतल मस्जिदतर्फ फालेको दाबी गर्छन्। “छपकैया चोकमा २०-२५ जना उभिएर शोभायात्रा हेरिरहेका थियौं। र्यालीमा सहभागीहरू आउने–जाने गरिरहेका थिए, मोटरसाइकल सर्कसमा जसरी घुमाएर हामीलाई लल्कारे। पहिला तीन जना मोटरसाइकलमा र पछि अन्य मानिस दौडेर गाउँतर्फ गए। मस्जिदमा आगो लगाउने भनेर गेटमा लात हान्न थाले। उनीहरूले नमाज पढ्न आएका जमातीको मोटरसाकल समेत जलाए, त्यसपछि बल्ल हाम्रा १०-१५ जना केटाले प्रतिकार गरेका हुन्,” उनी भन्छन्।
अब्दुल शुरूमा सुरक्षाकर्मीले पनि रोक्न प्रयास नगरेको बताउँछन्। “उनीहरूले घुमी–घुमी आगजनी गरेका छन्। मुसलमानको पोस्टर हेरी–हेरी तोडफोड गरे,” उनी भन्छन्, “प्रहरीले चाहेको भए नियन्त्रण हुन्थ्यो।”
सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाका सदस्य अब्दुल कैश दोषी जुनसुकै समुदायको भए पनि कारबाही हुनुपर्ने बताउँछन्। “शोभायात्राका सहभागीले छपकैया चोकबाट पश्चिम गल्ली छिरेर आगजनी र तोडफोड गर्न थालेपछि उग्र रूप लिएको हो। त्यतिखेर प्रहरी मूकदर्शक बनेर बसेको थियो,” उनी भन्छन्, “यहाँ मुस्लिम समुदायले इँटा–पत्थर चलाउनुअघि के भएको थियो, त्यो पहिचान गरिनुपर्छ। साथै घरीघरी यस्ता घटना हुन नदिन के रणनीति अपनाउने हो, दुवै समुदायका अगुवा र सुरक्षा निकायका अधिकारीले बेलैमा सोच्नुपर्छ।”
हिन्दू समाजको दाबी
हिन्दू समाजले भने शोभायात्रा छपकैया पुग्दा योजनाबद्ध तरीकाले पहिलेदेखि बसेको अर्को समुदायका युवाले ढुंगा प्रहार गरेपछि प्रतिकार गरिएको दाबी गरेको छ। हिन्दू समाजका प्रतिनिधि रञ्जित साह उक्त घटनालाई ‘एक्सनको रियाक्सन’ बताउँछन्। “मुख्य सडकमा शोभायात्रा थियो, मस्जिदतर्फ कोही गएका थिएनन्, उताबाट २ नं वडाका हिन्दू समुदाय आएका हुन्,” उनी भन्छन्, “श्रीराम हलनिर झन्डा खोसियो, मदरसा, मस्जिदमा पहिल्यैदेखि ढुंगा राखिएको रहेछ, त्यहाँबाट एकैचोटि आक्रमण भयो।”
असंगठित अवस्थामा रहेका हजारौंको भिडलाई भड्काउने काम भए पनि आफूहरूले रोकेका कारण क्षति कम भएको हिन्दू समाजका अगुवाहरू बताउँछन्। वीरगन्ज १८ का दीपक तिवारी सद्भाव बिगार्ने कामको निष्पक्ष छानबिन हुनुपर्ने माग गर्छन्। उनी हिन्दू समाजको तर्फबाट प्रशासनसँगको बैठकमा सहभागी थिए। “तपाईंको समुदाय बलियो भएको ठाउँमा तपाईंले ढुंगा हान्नुहुन्छ भने तपाईं कमजोर भएको ठाउँमा अर्कोले पेल्छ,” उनी भन्छन्, “प्रोभोक गर्ने गीत बजेको छ भने प्रमाण ल्याउनुस्, मुखले बोलेर हुँदैन, प्रमाण बोल्नुपर्छ।” छपकैयामा पटकपटक यस्तै समस्या देखिएको भन्दै उनले प्रहरीले दोषीलाई कारबाही गर्नुपर्नेमा जोड दिए।
मक्की जामे मस्जिदका मौलाना अली असगर मदनीले मदरसामा ८ देखि १५ वर्षसम्मका बालबालिका मात्रै अध्ययन गर्ने गरेको र घटना अघि नै उनीहरू आफन्तकोमा गएको बताए। “बदला लिने भावनाको विकास गरिएको छ, यस्तै उद्दण्ड खालका मानिसले सद्भाव बिगार्ने हुन्,” उनी भन्छन्, “जसको तर्फबाट भयो, नराम्रो भयो, यसको समाधान हुनुपर्छ, गल्ती गर्नेलाई कारबाही हुनुपर्छ।”
मुटुको बाइपास सर्जरी गरिएका कारण चर्को आवाजमा बस्न गाह्रो हुने र सोही कारण घरमा आराम गर्न गएका वेला घटना भएकाले आफूलाई यकिन जानकारी नरहेको उनी बताउँछन्।
प्रहरीले भने सूक्ष्म ढंगले छानबिन भइरहेको जनाएको छ। प्रहरी उपरीक्षक मिश्रका अनुसार शोभयात्राका क्रममा ड्रोनबाट खिचिएका, सीसीटीभी क्यामेरामा देखिएका फुटेज र सार्वजनिक अन्य भिडिओ संकलन गरेर अध्ययन भइरहेको छ। “विभिन्न कोणबाट कुरा आएका छन्,” उनले भने, “घटनाबारे सूक्ष्म ढंगले अध्ययन गरिरहेका छौं। दोषीलाई कारबाहीको दायरामा ल्याउँछौं, यस्ता घटना दोहोरिन नदिन लागिपरेका छौं।”
अपरिपक्व सुरक्षा रणनीति
जिल्ला सुरक्षा समिति पर्साको सर्वदलीय–सर्वपक्षीय बैठकले घटनाबारे विस्तृत अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने, घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्ने, पीडितलाई क्षतिपूर्तिका लागि प्रशासनले पहल गर्ने लगायत पाँचबुँदे निर्णय गरेको छ।
बैठकले धार्मिक-साम्प्रदायिक सद्भाव र सहिष्णुता कायम राख्न सबै पक्ष पूर्ण प्रतिबद्ध रही शान्ति सुरक्षाको प्रत्याभूतिमा सहयोग पुर्याउने, धार्मिक–सांस्कृतिक सम्प्रदायले गर्ने कुनै पनि जात्रा, पर्व, कार्यक्रममा हातहतियार प्रदर्शन नगर्ने, त्यसो गरे कारबाहीको दायरामा ल्याउने निर्णय पनि गरेको छ।
साथै पर्सामा सञ्चालित सबै धार्मिक संघ–संस्था तथा तीबाट सञ्चालित विद्यालय÷मदरसा इत्यादिको सूक्ष्म अनुगमन गरी त्यहाँ अवाञ्छित गतिविधि भएको पाइए कारबाहीको दायरामा ल्याउने निर्णय गरिएको जिल्ला प्रशासनमा आयोजित पत्रकार सम्मेलनमा प्रजिअ अर्यालले बताए।
‘२४ घण्टाभित्र दोषी पत्ता लगाएर कारबाही गर्नुपर्ने जोडदार माग साथीहरूबाट आएको थियो। वैशाख ३ गतेका दिन सबैलाई अनुभूति हुने गरी कारबाहीको दायरामा ल्याउँछौं,” उनी भन्छन्, “कसैलाई पनि आपराधिक दायित्वबाट उन्मुक्ति दिँदैनौं। अनियन्त्रित भिड थियो, सुरक्षा चुक भएको भए धेरै क्याजुअल्टी हुन्थ्यो।”
नाम खुलाउन नचाहेका एक सुरक्षा अधिकारीले भने कानूनको दण्ड चलाउन नसक्दा वीरगन्जमा दुर्घटना भएको प्रतिक्रिया दिएका छन्। “दुवै समुदायमा उग्र मानिस छन्, देखिने–नदेखिने पात्रले सहयोग गर्छन्,” उनी भन्छन्, “यो सुरक्षा संवेदनशील क्षेत्र हो। त्यसैले विगतका निर्णय हेरेर रणनीति बनाउनुपर्ने हो। त्यसो हुन सकेको देखिँदैन। समन्वयको पाटोमा होस् वा परिस्थिति नियन्त्रण लिने कुरामा, सुरक्षा निकाय चुकेका छन्।”

शोभायात्रा कुनै पनि ठाउँमा रोकिन दिन नहुने, घरेलु हतियार प्रदर्शनमा रोक लगाउनुपर्ने, हिन्दू र मुस्लिम अगुवालाई बोलाएर तलमाथि भएको खण्डमा कारबाही गर्ने चेतावनी दिनुपर्ने र फिल्डमा आवश्यकता अनुसार बल प्रयोग गर्नुपर्नेमा त्यसो नभएको उनको भनाइ छ।
एउटा धार्मिक समुदायले आयोजना गरेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारीको उपस्थिति अशोभनीय रहेको टिप्पणी गर्दै ती अधिकारीले घटनाको जिम्मेवारी नैतिक रूपमा आयोजकले लिनुपर्नेमा जोड दिए।
शिख समुदायका अगुवा जसपाल सिंह धर्म नभई व्यक्तिगत स्वार्थका कारण समस्या उत्पन्न भएको र यो घटनाले समुदायहरू मिलेर बस्नुपर्छ भन्ने भावना कमजोर हुँदै गएको संकेत गरेको बताउँछन्। प्रशासनको भूमिका पनि कमजोर देखिएको उनको टिप्पणी छ। “प्रशासनले कडाइसाथ सुरक्षा व्यवस्था मिलाउन सकेन,” उनी भन्छन्, “संवेदनशील क्षेत्र पहिचान गरेर सुरक्षा सतर्कता अपनाएको भए दुर्घटना हुने थिएन।”
एकीकृत समाजवादी पार्टीका पर्सा जिल्ला अध्यक्ष बालगोपाल थापा पनि सुरक्षा रणनीतिमा कमजोरी देखिएको बताउँछन्। “प्रजिअले उनीहरूले शान्तिपूर्ण रूपमा शोभायात्रा निकाल्छौं भनेकाले इदगाह चोकसम्म जान दिएको भन्छन्। प्रशासनले सुरक्षा संवेदनशीलता नबुझी अनुमति दिनु गलत हो,” उनी भन्छन्।
‘धार्मिक कार्यमा राज्यको लगानीको परिणाम’
ठाकुरराम बहुमुखी क्याम्पसका पूर्वसहप्राध्यापक समेत रहेका थापा सबै कार्यकर्ताले पार्टीको सिद्धान्त नमाने जस्तै धार्मिक कार्यकर्ताले धर्मको मर्म नबुझ्दा समस्या आएको बताउँछन्। “बाइबल, वेद, कुरान पढेर धर्म पालना गर्ने कम छन्। आस्थाको कुरालाई प्रदर्शनतिर जोड दिइएको छ,” उनी भन्छन्, “डिजे बजाउने, झन्डा बोक्ने, ट्राफिक नियम विपरीत मोटरसाईकल कुदाउने, हतियार देखाउने कार्य भइरहेको छ। धार्मिक ज्ञानको अभावमा अतिवादी सोचले काम गर्न थालेको देखिन्छ।” ढुंगा हान्ने र तोडफोड गर्ने कार्यमा बालबालिका र युवाको प्रयोग हुनु दुःखद रहेको उनको भनाइ छ।
सोही क्याम्पसको समाजशास्त्र विभागका प्रमुख उपप्राध्यापक वीरेन्द्र साह मुलुक संघीयतामा गएपछि धार्मिक सहिष्णुतामा खलल पुग्ने क्रियाकलाप बढेको बताउँछन्। उनका अनुसार अहिले धार्मिक गतिविधि गर्न र मठ–मन्दिर बनाउन प्रदेश र स्थानीय सरकारले नै लगानी गर्ने प्रवृत्ति छ। महम्मद डे, सीता जयन्ती, हनुमान जयन्ती, गहवामाईको रथयात्रा, छठ पूजामा राज्यले नै बिदा दिन्छ, लगानी गर्छ। “आ–आफ्नो हिसाबले चाडपर्व मान्नु ठिकै हो तर राज्यको लगानी नै गरिनु उचित होइन,” उनी भन्छन्, “स्थानीय सरकारले धार्मिक गतिविधिमा लगानी गर्छ भने आएको परिणामको जिम्मा पनि उसले लिनुपर्छ।” धर्मगुरु मौलाना, धार्मिक अगुवाहरूसँग छलफल गरेर सद्भाव कायम गर्नुपर्ने, धार्मिक कार्यमा राज्यको लगानी रोक्नुपर्ने र धार्मिक गतिविधिका नाममा अरूलाई चिढ्याउन नहुनेमा उनी जोड दिन्छन्। यस्ता घटना बढीजसो सीमाक्षेत्रतिर हुनुले यसमा छिमेकी देशको प्रभावले पनि भूमिका खेलेको साहलाई लाग्छ।
वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम सामाजिक सद्भावमा खलल पुर्याउँदा शान्ति बिथोलिने हुँदा अर्थतन्त्रमा पनि नकारात्मक असर पर्ने बताउँछन्। “शान्तिपूर्ण प्रदर्शन गर्न पाउनु संवैधानिक अधिकार हो। आफूभन्दा अर्कोलाई स्वीकार गर्न नसक्ने प्रवृत्ति चाहिँ गलत हो,” उनी भन्छन्, “मान्छेले रमाइलो गर्ने, बजार आउने, किनमेल गर्ने दिनमा कर्फ्यू लगाउनुपर्ने स्थिति बन्यो, रात्रि बजार बन्द भयो। यसले अर्थतन्त्रमा नराम्रो असर पार्छ।”
याे पनि पढ्नुहाेस्
धर्मको राजनीति