संक्रमणकालको कूटनीति चियाउने आँखीझ्याल
कूटनीतिज्ञ डा. मदनकुमार भट्टराईद्वारा लिखित ‘नेपालको परराष्ट्र सम्बन्धः सङ्क्रमणकाल र प्रो. नरेन्द्रमणि दीक्षित’ पुस्तक २००७ साल आसपासको नेपालको परराष्ट्रनीति चियाउने आँखीझ्याल बनेको छ।
भुवन पौडेल
भर्खरै राधिका शाक्यद्वारा लिखित पुस्तक ‘करुणा’ पढेर भ्याएको थिएँ। लगत्तै नयाँ पुस्तक आइपुग्यो, ‘नेपालको परराष्ट्र सम्बन्धः सङ्क्रमणकाल र प्रो. नरेन्द्रमणि दीक्षित’। कूटनीतिज्ञ एवं पूर्व परराष्ट्रसचिव डा. मदनकुमार भट्टराईद्वारा लिखित यो पुस्तक जतिसक्दो छिटो पढेर सकाउन मन लाग्यो।
विमोचन कार्यक्रमबाट घर आइपुग्ने वितिक्कै पुस्तक पल्टाउन थालें। भूमिकामै भएका कपितय विषय चाखलाग्दा छन्। कतिपय कूटनीतिज्ञका भनाइ महत्त्वपूर्ण छन्। पाकिस्तानी कूटनीतिज्ञ इकबाल अहमद अखुंडको भनाइले झकझकायो। उनको भनाइ छ- परराष्ट्र नीति लगायत महत्त्वपूर्ण विषयमा निर्णयको जस राजनीतिक नेतृत्वले लिने र अपजसको भागीदार नोकरशाहलाई बनाउने परिप्रेक्ष्यमा कूटनीतिक अधिकारी घटनाका केवल कोल्टे बस्ने साक्षी बन्न बाध्य हुन्छन्।
पुस्तक पढ्दै जाँदा सन् १९४० देखि १९६० सम्मको नेपालको सङ्क्रमणकाललाई बुझ्न सकिन्छ। त्यो समयका शासक, प्रशासक, छिमेक, त्यसमा पनि औपनिवेशिक भारत र ब्रिटिससँगका सम्बन्ध, पत्राचार तथा गतिविधिलाई नै केन्द्रित गरिएको छ, पुस्तकमा।
त्यस्तै, नेपालको पहिलो पटक अन्तर्राष्ट्रिय सम्मेलन (एशिया सम्मेलन) मा सहभागिता, कोलम्बो योजनामा सदस्यता र नेपालको सहभागिता, संयुक्त राष्ट्रसंघको एशिया प्यासिफिकको लागि क्षेत्रीय कार्यालय स्थापना, राणा शासनको अन्त्य र राजाको यथोचित भूमिका सहितको प्रजातन्त्र स्थापनाको अवधिमा भएका राजनीतिक तथा कूटनीति घटनाक्रमलाई पुस्तकमा उधिनिएको छ। कतिपय जानकारी तथा विवरण नयाँ भएकाले पढ्न चाख लाग्छ।
कतिपय पादटिप्पणी पनि रोचक छन्। नेपालको मात्र नभएर भारतीय विदेश मन्त्रालयमा रहेका पात्रहरू, जवाहरलाल नेहरूको विदेश नीति तथा त्यो समयका भारतीय विदेश नीतिका सम्बन्धमा यथेष्ट जानकारी र सूचना पाइन्छ। पुस्तकमा उल्लेखित पात्रहरूको वैयक्तिक विवरणको यति फेदसम्म पुगिएको छ कि त्यो सायदै पुस्तकमा पाइन्छ। यसका लागि सानो मेहनत र समयले पुग्दैन।
नेपालको विदेश सम्बन्ध त्यसमा पनि भारतसँगको सम्बन्धमा सन् १९५० को शान्ति तथा मैत्री सन्धिको सन्दर्भका विषयलाई तत्कालीन परिस्थिति तथा विश्वको भूराजनीति जटिलता र नेपालको नगन्य अन्तर्राष्ट्रिय सहभागिता र उपस्थितिको वस्तुस्थितिलाई लेखकले विस्तृत व्याख्या गरेका छन्। यसले पुस्तकलाई अझ पठनीय र रुचिकर बनाएको छ।
पुस्तकको शीर्षक बमोजिम केन्द्रिकृत पात्र तथा नेपालको पहिलो परराष्ट्र सचिवका सवल तथा दुर्वल पक्ष उधिन्ने प्रयास गरिएको छ। अत्यन्तै तरल राजनीतिक अवस्था र विषम परिस्थितिमा नरेन्द्रमणी दीक्षितले परराष्ट्रसचिव पद सम्हालेका थिए।
त्यहि वेला उता भारतमा ‘ब्रिटिस लिगेसी’बाट प्रभावित भई परराष्ट्र सेवालाई बलियो बनाउँदै र बलियो संस्थागत आधार दिने काममा स्वयं प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री जवाहरलाल नेहरू नै खटिएका थिए। यता केवल दीक्षित एक्लैले गर्न सक्ने अवस्था थिएन।
दीक्षितले किन परराष्ट्र मन्त्रालय तथा सेवालाई सुदृढीकरणमा योगदान गर्न सकेन भनेर लेखकले प्रश्न पनि गरेका छन्। फेरि उपसंहारमा भने परराष्ट्रसचिव एक्लैले गर्न सक्ने अवस्था नहुने कुरालाई स्वीकार पनि गरेका छन्, लेखक भट्टराईले।
त्यो वेला राणाहरू आफूमा शक्ति केन्द्रित गर्न चाहन्थे। परराष्ट्र मन्त्रालयलाई बलियो बनाउनु उनीहरूका लागि हितकर थिएन। पुस्तक पढ्दै गर्दा र हाम्रा छिमेकसँगका संलग्नता तथा गतिविधि हेर्दा हालसम्म पनि नेपालको राजनीतिक संक्रमण तथा अस्थीर राजनीति र दक्षिण छिमेकसँगका सवाल उस्ताउस्तै लाग्छन्। त्यसमा खासै परिवर्तन नआएको जस्तो भान हुन्छ।
उतिखेर प्रधानमन्त्री मोहनशम्शेर जबरा भारत भ्रमणमा जाँदा ४०० जनाको प्रतिनिधिमण्डल गएको थियो। छरितो र सारभूत विषयमा भ्रमणलाई केन्द्रित गराउन अझै पनि कता कता नसकेको देखिन्छ। विविध वाध्यता र गठबन्धन राजनीतिक परिस्थितिको उपज आफैमा व्यवस्थापन गर्न व्यावहारिक कठिनाइ पनि छ।
त्यस्तै, विशेष सम्बन्धको तथाकथित परिसीमा र परिधिमा भए/नभएको समझदारीको बखेडा झिकी नेपालको विदेश नीतिलाई नियन्त्रण गर्न र नेपालको वैदेशिक सम्बन्धमा संकूचन ल्याउन हरहिसाबले नेहरू उद्यत भएको पुस्तकमा उल्लेख छ। यसले त्यो वेला नेपाललाई स्वतन्त्र परराष्ट्र नीति सञ्चालन गर्न कति कठिनाइ थियो भन्ने देखाउँछ।
विशेष गरी लेखकले आधुनिक नेपालको परराष्ट्र नीतिको विस्तार, विविधिकरण र परिमार्जनको श्रेय कुनै एक व्यक्तिलाई दिने हो भने यसको ठूलै हिस्सा राजा महेन्द्रलाई दिनुपर्ने मत जाहेर गरेका छन्। पूर्व परराष्ट्रमन्त्रीद्वय डा. भेषबहादुर थापाद्वारा लिखित ‘राष्ट्र परराष्ट्र : एकतन्त्रदेखि गणतन्त्रसम्म’ र कमल थापाद्वारा लिखित ‘नाकाबन्दी र भूराजनीति : कूटनीतिमा मेरो अनुभव र अनुभूति’ नामक दुई पुस्तकमा त्यस्तै तर्क गरिएको छ।
महेन्द्रकालीन नेपालमा सिंहदरबार काममा स्वतन्त्र रहेकाले विज्ञहरूको भरपूर उपयोग र काम गर्न उच्चपदस्थलाई अधिकारसहित स्वतन्त्रता दिएकाले प्राध्यापक दीक्षित सफल भएको देखिन्छ। कतिपय पदमा नियुक्त सचिवलाई सिधै काम गर्ने सक्नेसम्मका अधिकार दिइएकाले पनि परराष्ट्र सम्बन्ध विस्तारमा योगदान पुगेको पाइन्छ। त्यस्तै, पात्र चयन र छनोट पनि हो। त्यसमा पनि महेन्द्रले विशेष ध्यान दिएको देखिन्छ।
राजा त्रिभुवन भारतप्रति अधिक अनुग्रहित रहेको देखिन्छ। उनले नेपाल-भारतको एक प्रान्त होस् भनी नेहरूसमक्ष आग्रह गरेको, तर नेहरूले अस्वीकार गरेको पढ्न पाइन्छ। त्यो ठाउँमा इन्दिरा गान्धी भएको भए नेपालको अवस्था के हुँदो हो? पिताका यस्तै कमिकमजोरीलाई राजा महेन्द्रले सुधार गरी नेपालको बाहिरी नजरिया र उपस्थितिमा बदलाव ल्याउन भूमिका खेलेको देखिन्छ। विदेश नीतिका सम्बन्धमा राजा त्रिभुवन र महेन्द्रबारे पुस्तकमा लेखकले छुट्टै शीर्षकमा तुलना नै गरेकाले धेरै कुरा स्पष्ट हुन्छन्।
त्यसैगरी नेपालमा औपचारिक शिक्षाको विकासक्रमलाई पनि पुस्तकमा मज्जाले केलाइएको छ। त्रिचन्द्र कलेजको स्थापनाको इतिहास तथा शिक्षा क्षेत्रको उन्नयनसँगका घटनाक्रमलाई समेत उल्लेख गरिएको छ।
त्यस्तै, विभिन्न आयाममा संलग्न तस्वीरले पुस्तकलाई थप मनमोहक बनाएको छ। परिशिष्ट खण्डमा समावेश गरिएका सामग्रीले नेपालको तत्कालीन अवस्थाका सरकारी पत्राचार तथा कागजातको लेखनीय शैली, अवस्था र हैसियतलाई बुझ्न र मनन गर्न सहयोग पुग्छ।
पूर्व परराष्ट्रसचिव, पूर्व राजदूत र राष्ट्रपतिका परराष्ट्र सल्लाहकार समेत रहिसकेका डा. भट्टराईद्वारा लिखित यो चौथो पुस्तक हो। यो पुस्तक लेखनमा युवा पुस्ताका नेपालको विदेश सम्बन्धमा विशेष रुची र अनुसन्धान गरिरहेका सन्तोष धिताल खडेरीले सघाएका छन्। इम्प्रिन्ट पब्लिसर्सद्वारा प्रकाशित ३५४ पृष्ठको पुस्तक पढ्दापढ्दै सकिएको पत्तै पाइनँ।
यति हुँदाहुँदै पनि कतिपय विषय र घटनाक्रम पटक पटक तथा विभिन्न शीर्षकमा दोहोरिएका छन्। जसले गर्दा सम्पादकीय पक्षबाट अलि ध्यान नदिए जस्तो देखिन्छ।
समग्रमा पुस्तक पठनीय छ। नयाँ पिँढीलाई इतिहास, विगतका तौरतरिका र शासन पद्वतिबारे जान्ने, बुझ्ने र सिक्ने अवसर प्राप्त हुन्छ। विशेषत ठूलो अध्ययन, अनुसन्धान र मसिना जानकारीलाई उधिनेर तयारी गरिएकाले पनि यो पुस्तक संग्रहणीय छ।