जसले आफ्नो घर भत्काउन दिएर आगोबाट बजार बचाइन्
वर्षौंको मिहिनेतले बनाएको पक्की घर भत्काउन लगाएर निर्मला रावलले आगोबाट जयगढ बजार जोगाउन त सघाइन्, तर आफ्नो श्रीसम्पत्ति जलेपछि समस्यामा परेकी छन्।
निर्मला रावल घर फर्केको केही समय मात्र भएको थियो। साँझपख भान्सामा जुट्नुअघि मोबाइल चार्ज गर्न माथिल्लो तलामा उक्लिइन्। चार्जमा लगाएर तल झर्न नपाउँदै एक्कासि ‘आगो लाग्यो’ भन्ने कोलाहल कानमा ठोक्कियो।
बाहिर हेर्दा दनदनी आगो बलेको थियो। आगोको लप्का उनकै घरतिर सोझिंदै थियो। हतारिंदै बाहिर निस्किइन्।
अगाडिका पसल र घरमा आगो दन्किसकेको थियो। स्थानीय बासिन्दा, जनप्रतिनिधि र प्रहरी आगो निभाउन तल्लीन थिए। जति गर्दा पनि नियन्त्रण गर्न सकिएको थिएन।
यो अछामको बान्नीगढी जयगढ गाउँपालिका-३, जयगढ बजारको घटना हो। चैत २७ गते साँझ ७ बजेतिर स्थानीय बासिन्दा पुष्पराज शर्माको भान्साकोठामा खाना पकाउने ग्यास सिलिन्डर पड्कियो। भान्सा हुँदै घरमा आगो सल्कियो। एक घर, दुई घर हुँदै बस्तीमा फैलियो।
तत्कालै स्थानीय बासिन्दा आगो निभाउन खटिए। उनीहरूसँगै जनप्रतिनिधि पनि आए। लगत्तै नेपाल प्रहरी र नेपाली सेनाको टोली पनि आइपुग्यो। सबै लाग्दा पनि आगो नियन्त्रणमा आउन सकेन।
भाँडाकुँडाले जति पानी हाल्दा पनि केही सीप चलेन। दमकल त बोलाएका थिए, तर आगलागी भएको ठाउँसम्म आउने बाटो थिएन। एक घण्टा बित्यो, आगो नियन्त्रणमै आएन। झन् झन् फैलिन थाल्यो।
.jpg)
जयगढ बजारमा डेढ सयभन्दा बढी घर छन्। सबै आपसमा जोडिएका छन्। अधिकांश घरमा दुई-तीन वटा पसल छन्। पूरै बजार सखाप हुने जोखिम थियो। एक घण्टामा १५ जति घर जलिसकेका थिए।
आगो फैलिन नदिने एउटै उपाय थियो, अगाडिको घर भत्काउने। आफ्नो घर भत्काउन कोही तयार थिएनन्। ४५ वर्षीया निर्मला भने आफ्नो पक्की घर भत्काउन तयार भइन्। “आँखै अगाडि सबैका घर जलिसकेका थिए। मेरो घर अगाडि दुई शटरमा किराना पसल थिए। त्यसमा पनि आगो लाग्यो,” निर्मला त्यो क्षण सम्झिँदै भन्छिन्, “मेरो त पक्की घर हो। आगोलाई अगाडि बढ्नबाट रोक्न मेरो घर भत्काउन पर्थ्यो । बरु मेरै घर जाओस्, अरू त जोगिएला भन्ने सोचेर भत्काउन दिएँ।”
उनका अनुसार भिरालो ठाउँ भएकाले आगो माथितिर सोझिंदै थियोे। उनको घर अगाडि रहेका सात वटा पसल पनि जलेर नष्ट भएका थिए। “आगोको बाटो रोक्न घर भत्काउनै पर्थ्यो,” उनी भन्छिन्, “मेरो घर भत्काएपछि आगो निभ्यो।”
बान्नीगढी जयगढ गाउँपालिका-३ का वडाध्यक्ष नवराज साउद पनि अन्तिम विकल्पका रूपमा निर्मलाको घर भत्काएको बताउँछन्। “साँझ ७ बजे शुरू भएको आगलागी राति १० बजेसम्म नियन्त्रणमा आएको थिएन। निर्मलाको घर अगाडि भएका स्टेशनरी र मोबाइल पसल जले। निर्मलाको घरमा पनि आगो लाग्यो,” वडाध्यक्ष साउद भन्छन्, “डाँडो र हावा लाग्ने ठाउँ भएकाले पानीले निभाउन सकिएन। अझ ३५ वटा कपडाका पसल लहरै थिए। केही सीप नलागेपछि पक्की घर डोजर लगाएर भत्कायौं।”
पक्की घरमा डोजर चलाउन दिन त निर्मलालाई पनि धकै लागेको थियो। सेना, प्रहरी, जनप्रतिनिधि र स्थानीय बासिन्दाले बस्ने व्यवस्था गरिदिने वाचा गरेको वडाध्यक्ष साउद सुनाउँछन्। “डोजर लगाएर घर भत्काएपछि राति १० बजे आगो नियन्त्रणमा आयो,” उनी लामो सास फेर्दै भन्छन्, “जयगढ बजारका डेढ सय घर जोगिएका छन्। त्यो घर नभत्काएको भए पूरै बजार जल्थ्यो होला।”
आगलागी भएको जयगढ बजार। तस्वीर : वेदप्रकाश तिमिल्सेना
जिल्ला प्रहरी कार्यालय, अछामका अनुसार आगलागीमा २३ घर जलेका छन्। ती घरमा भएका ३५ पसलका सरसामान जलेर नष्ट भएका छन्। प्रहरीको प्रारम्भिक विवरण अनुसार आठ करोड रुपैयाँभन्दा बढीको धनमालको क्षति भएको छ। घरहरूको क्षतिको गणना गरिएको छैन।
डोजरले भत्काएपछि आगो निभ्यो। तर निर्मलाको घर पनि जल्यो। घरसँगै सरसामान पनि नष्ट भए।
सबै खरानी
जयगढ बजारमा आगो लागेको पाँच दिन भयो। त्यसपछिका तीन दिन हावाहुरी चल्यो, वर्षा भयो। चैत ३० गतेबाट भने आकाश खुलेको छ। घाम लाग्न थालेको छ। स्थिति सामान्य हुँदै गएको छ। तर घर जलेदेखि निर्मलाको मनमा घाम लागेको छैन। “गाउँका दिदीबहिनीले दिएको लुगा लगाएकी छु, मसँग अहिले केही छैन,” उनी पीडा सुनाउँछिन्।
घर ढलेसँगै दैनिकी पनि खलबलिएको छ। काममा फर्किन सकेकी छैनन्। उनी बान्नीगढी जयगढ गाउँपालिकामा कार्यालय सहयोगी हुन्। “अफिस जान मनले मानेको छैन,” निर्मला भन्छिन्।
उनी घरमा एक्लै बस्थिन्। श्रीमान्को १४ वर्षअघि मृत्यु भएको थियो भने चार छोराछोरी यताउतै छन्। चैत २९ मा बुटवलबाट जेठी छोरी दालचामल लिएर आएकी छन्। गाउँपालिका र नेपाल रेडक्रसले केही दिनलाई पुग्ने खाद्यान्न र भाँडाकुडा दिएका छन्। अहिले सँगै काम गर्ने साथीको घरमा बसिरहेको उनी सुनाउँछिन्।
घरसँगै उनको धनसम्पत्ति पनि जल्यो। ब्यांकको किस्ता तिर्न सहकारीबाट एक लाख रुपैयाँ निकालेकी थिइन्। त्यो पैसा पनि जोगाउन नपाएको उनी बताउँछिन्। खाद्यान्न, लुगाकपडा, भाँडाकुँडा पनि गए। दुःख गरेर जोडेको आठ तोला जति सुनका गरगहाना थिए, बाकसमा। “सबै खरानी भयो। मेरो त केही बाँकी रहेन,” यति बोल्दा उनको आवाज अवरुद्ध भयो।
घरसँगै जले सम्झना
निर्मलाले कक्षा ८ सम्म मात्रै पढेकी छन्। स्कूल पढ्दापढ्दै सानैमा पृथ्वी रावलसँग विवाह भयो। विवाहपछि गाउँ छोडेर जयगढमा बस्न थाले।
जयगढ बजार गाउँपालिकाको केन्द्र हो। उनी यो बजारमा बसाइँ सरेको २५ वर्ष भयो। बजारमा उनको परिवारको ठूलै किराना पसल थियो। जीवन राम्रैसँग चलिरहेको थियो, तर एकाएक पृथ्वीलाई हृदयाघात भयो। “पसलमै बित्नुभयो,” निर्मला सुनाउँछिन्।
.jpg)
त्यसपछिका १४ वर्ष उनका लागि सकसपूर्ण रहे। पृथ्वीको मृत्युपछि पसल चलाउन सकिनन्। बिस्तारै पसल छुट्यो। एक्लैले जसोतसो चार छोराछोरी हुर्काइन्।
२०७४ सालमा गाउँपालिकामा काम पाइन्। चिनजानका सबैले सहयोग गरेर जागीरका लागि पहल गरिदिएको उनी बताउँछिन्। त्यसपछि दैनिकी सहज बन्दै गयो। जेठी छोरीको बिहे भइसकेको छ। अर्की छोरी पन्जाबमा बीएस्सी एजी र छोरा काठमाडौंमा होटल व्यवस्थापन पढिरहेका छन्।
कान्छो छोरालाई भने टीकापुरस्थित माइतीघरमा छाडेकी छन्। उनी मामाघरमै बसेर स्कूल पढिरहेका छन्।
गाउँपालिकाकै जागीरले जसोतसो गुजारा चलिरहेको थियो। उनी बसिरहेको घर श्रीमान्ले बनाएका थिए। त्यसैले डोजर लगाउनुअघि झस्किएकी थिइन्। “भित्र-बाहिर गर्दा उहाँको याद मेटाउने बहाना थियोे घर,” उनी भन्छिन्।
उनका नातेदार सबै तराई झरिसकेका छन्। गाउँको जग्गाजमीन पनि बाँझो छ। नयाँ घर बनाउन सक्ने स्थिति छैन। आगलागीको खबर छोराछोरीले पनि सुनिसकेका छन्। “घर जलेको थाहा पाएपछि जेठो छोरा पढाइ छोडेर भारततिर जान्छु भन्दै छ,” उनी सुनाउँछिन्। अब कसरी पहिलेकै अवस्थामा फर्किने, उनलाई थाहा छैन।
पुनर्निर्माणको पर्खाइ
निर्मलालाई मात्र होइन, आगलागीमा घर जलेका २३ परिवारलाई नै कसरी घर बनाउने भन्ने चिन्ता छ। कतिपयका त ऋण काढेर पसलमा राखेका सरसमान पनि जलेका छन्। दैनिकी चलाउने मेलोमेसो नै बिग्रिएको छ।
आगलागीको अवलोकन गर्न पुगेको प्रदेश सरकारको टोली।
जयगढ आगलागी पीडितका लागि ५० लाख रुपैयाँ दिने सुदूरपश्चिम प्रदेश सरकारले निर्णय गरेको छ। त्यस्तै, बान्नीगढी जयगढ गाउँपालिकाले ६ लाख रुपैयाँ दिने निर्णय गरेको छ।
आगलागीमा २३ घर जलेसँगै आश्रित ३० परिवार विस्थापित छन्। सबै छरछिमेकमा बसिरहेका छन्। स्थानीय सरकारले क्षतिको विवरण संकलन गरिरहेको वडाध्यक्ष साउद बताउँछन्। उनी भन्छन्, “पुनर्निर्माणका लागि प्रदेश र संघीय सरकारलाई गुहार्छौं।”
निर्मलालाई पनि स्थानीय सरकारले घर बनाइदेला भन्ने विश्वास छैन। डोजर चलाउने वेला त सबैले घर बनाइदिने वाचा गरेका थिए। तैपनि उनी आश्वस्त हुन सकेकी छैनन्। “सबैले घर बनाइदिन्छौं त भनेका छन्, तर मन बुझाउन सकेकी छैन,” उनी भन्छिन्, “मेरो मात्रै होइन, अरूका पनि घर जलेका छन्। बर्खा लाग्नै लाग्यो। पाल हालेर पनि बस्न सकिंदैन।”
सरकारको ढिलासुस्ती उनले देखेकी छन्, भोगेकी छन्। ऋणपान गरेर आफैं घर बनाउने हिम्मत पनि जुटाउन सकेकी छैनन्। गाउँपालिकाबाट पाउने महीनाको १८ हजार रुपैयाँ तलबले घर खर्च चलाउनै धौधौ हुन्छ। “छोराछोरी कोही कमाउने भएका छैनन्। अगाडि-पछाडि कोही छैन। जागीरले घर बनाउनु कि छोराछोरी पढाउनु!” स्थानीय सरकार एक्लैले ३० परिवारलाई पुनर्वास गराउन नसक्ने बताउँदै निर्मला भन्छिन्, “मलाई त राति निद्रा लाग्नै छाडेको छ।”