संघर्षशील जीवनकर्मको विपश्यना
सत्कर्म गर्दै सत्मार्गमा अग्रसर गौरीरानीसँगको शिवबहादुरको यात्राले जीवनलाई सार्थक बनाउने हुटहुटी जगाउँछ।
नवराज राउत
सामान्यतया पुस्तकको नाम अक्षरमा हुन्छ। कहिले विशेषण होला, कहिले क्रिया विशेषण। जब पुस्तकको नाम अंक हुन्छ, अनि जिज्ञासा जगाइहाल्छ। ‘५ः२५’ नामको पुस्तकले पनि शुरुआतमै जिज्ञासु बनायो।
पुस्तकको पहिलो खण्ड पढिसक्दा अंकले त्यो समय जनाएको बुझिन्छ, जुन क्षण लेखककी प्राणप्रिया गौरीरानी प्रधान संसारबाट बिदा भइन्। ८८ वर्षीय शिवबहादुर नेपाली प्रधान लिखित पुस्तकमा गौरीरानीले बिदा लिएको क्षण मात्र समेटिएको छैन, दुवैले सँगसँगै बाँचेको समय पनि छ। काठमाडौंको गणेशस्थान पश्चिमतिर मरु टोलस्थित ‘न्हुच्छे प्रधान’को परम्परागत नेवार परिवारमा जन्मेहुर्केको केटा र मूलथलो भोजपुर भई भारतीय राज्य मणिपुरको इम्फालमा जन्मिएकी राई केटीको सम्बधका आयाम कसरी जोडिए, त्यो पनि छ पुस्तकमा।
गौरीरानीले स्कूले पढाइ नेपालमै गरिन्। उच्च शिक्षा अध्ययनका लागि भारतको बरोदास्थित महाराजा सयाजीराव विश्वविद्यालय पुगिन्। शिव भने आईएस्सीपछि कृषि अध्ययन गर्न भारतकै पुना पुगे।
उच्च शिक्षा ग्रहण गरिरहेका दुवै जनाबीच एक मित्र मार्फत चिनजान हुन्छ। त्यो पनि पत्र मार्फत। पत्र-मित्रता मार्फत नै सम्बन्ध झाङ्गिँदै जान्छ। अन्नतः जीवनसाथी बन्छन्।
पुस्तकमा शिव र गौरीरानीबीच त्यो वेला आदानप्रदान भएका पत्रांश उद्धृत छन्। जसमा प्रेम, मित्रता, शिक्षा, संघर्ष चित्रित छन्। भावनाको उच्चता भएका पत्रका भाषा, अलंकार र प्रतीक बडो मिठासपूर्ण छन्। एक ठाउँमा गौरीरानी लेख्छिन्, ‘भुलेकी होइन, सधैं सम्झिन्थेँ तर सम्झना पठाउन सकिनँ।’
आखिर विशेष मान्छेको सम्झना मनमा पनि विशेषगरी नै बसेको हुन्छ। तर, त्यो सम्झनालाई प्रेषित गर्ने कसरी? त्यही दुविधाको प्रस्फुटन पत्रमा छ।
प्रवासमा उच्च शिक्षा अध्ययनका लागि संघर्षरत रहेका वेलाका पत्राचारले जीवनको गाह्रो साँघुरो साटफेर हुन्छ। त्यो वेला आएको अर्को भावना छ, ‘मानिसको जीवन संघर्ष हो। यसमा हार पनि हुन्छ, जीत पनि। तर, संघर्षलाई नै जीवन भनिन्छ।’ यस्तै, उनीहरूको जीवनमा के कस्ता संघर्ष आए र तिनलाई कसरी चिरियो भन्ने वर्णन पनि छ, पुस्तकमा।
अर्को एक ठाउँमा गौरीरानीले बडो गहिरो कुरा लेखेकी छन्। ‘संसारिक छु, तर संसारको कुनै लालच छैन। सन्यासी छु, तर मुक्तिको इच्छा छैन। भगवान जप्छु, तर दर्शन पाउने अभिलाषा छैन।’
यत्ति कुरालाई बुझ्न मान्छेलाई जुग लाग्छ, बुझेपछि पालना गर्नु अर्को महाभारत हुन्छ। पुस्तक पढिसक्दा ती अभिव्यक्ति एउटा सरल जीवनयात्राको तयारी झैं बुझिन्छ, जुन समयक्रममा पुष्टि भएका छन्। भावनाले उम्लिएका वेला मान्छे अलंकार र प्रतीकमा कुरा गर्छन्।
गौरीरानीको स्मृति भएर हो वा किन हो, लेखकले आफ्ना प्रत्तिउत्तरलाई भने पुस्तकमा समावेश गरेका छैनन्। ती पत्र सुरक्षित नभएर समावेश नगरेका हुन् कि अरु कुनै कारणले हो भन्ने जिज्ञासा पाठकलाई लाग्छ।
कलेजको पत्र-मित्रताले सम्बन्ध गहिरिँदै जाँदा अन्नतः जीवनसाथी बने। २०२१ सालमा भारतको लुधियानामा विवाह गरे। तर, अन्तरजातीय विवाहले परिवारमा हार्दिकता पाउँदैन।
नेपाल फर्किंदा शिव-गौरीरानीका अगाडि भविष्यको अनिश्चितता र पारिवारिक चुनौती थियो। घरमा बस्ने वातावरण बनेन। दुवै जना परवारसँग छुट्टिएर बसे।
त्यो वेला नेपालमा पढेलेखेका मान्छेले जागिर त पाइहाल्थे। बागवानी पढेका शिवले तत्कालीन ग्राम विकासमा र गौरीरानीले जनक शिक्षा सामग्री केन्द्रमा ‘होम साइन्स’को पाठ्यपुस्तक लेखनको काम पाइन्। जागीर पाएपछि जीवनको रथ अघि बढाउन सजिलो भयो।
ग्राम विकास हुँदै शिव कृषि विभागको उपल्लो तहमा पुगे। पछि त उनी संयुक्त राष्ट्रसंघीय निकाय विश्व खाद्य संगठनमा काम गर्न अफ्रिका लगायतका मुलुक पनि पुगे।
नेपालमै पनि विभिन्न ठाउँ घुम्ने अवसर पाएका दम्पत्तिलाई अन्तर्राष्ट्रिय जागीरले विदेश घुमायो। पुस्तकमा लेखकले आफू घुमेको ठाउँको खानपान, रहनसहनको वर्णन पनि गरेका छन्। गौरीरानी विभिन्न परिकार पकाउने र खुवाउने गर्थिन्। यसमा शिवको अनुभूति छ, ‘खाना पकाएर खुवाउने मानिसले खानासँग आत्मियता पनि बाँडिरहेको हुन्छ।’
यो दम्पत्ति पुगेको इजिप्टको पिरामिड, रोमको कोलोसियम, युगान्डाका भिक्टोरिया ताल घुम्दाका वर्णन पुस्तकमा छन्। भिन्न स्थानका रहनसहन र खानपान भिन्नता भएका ती ठाउँको वर्णनले नेपाली पाठकलाई भिन्न समाजको आयामबार बताउँछ। उनी इटली पुगेर पास्ता खाँदै गर्दा मार्कोपोलोले चीनबाट भित्र्याएको वर्णन गर्छन्। ग्रीसमा पर्यटकको सेवाको लागि एक हजार ट्याक्सी तैनाथ रहेको थाहा पाउँदा छक्क पर्छन्।
पुस्तकमा नेपालको निकट छिमेकी पाकिस्तानको समाज र संस्कृतिको पनि वर्णन छ। नेपाली पाठक भारतबारे राम्रै जानकार हुन्छन्, कम्तीमा पनि भारतबारे पढ्दा टाढाको जस्तो लाग्दैन। तर, त्यही कुरा पाकिस्तानको हकमा लागू हुँदैन।
सन् १९४७ मा बेलायतले भारत छोड्नुअघि एकै रहेको भारतबाट छुट्टिएर पाकिस्तान बन्यो। पाकिस्तानबारे नेपालीमा कम पढ्न पाइने सन्दर्भमा यस पुस्तकमा आउने ती ठाउँका प्रसंगले विविधता थपेको छ। पाकिस्तानबाट आफै गाडी चलाएर नेपालसम्म आउँदाको वर्णन पनि रोचक छ। अफ्रिकी मुलुक यमनमा रहँदाको लेखकको भोगाइले पनि बाँधीराख्छ।
जीवन एउटा गतिमा अघि बढ्दै गर्दा गौरीरानीलाई भने स्वास्थ्य समस्याले च्याप्दै जान्छ। कहिले पाइल्सले दुःख दियो। कहिले स्तन क्यान्सर भयो। शरीरमा १० पटक कैंची चल्दा पनि गौरीरानी बिरामी जस्तो नदेखिएको लेखकको अनुभव छ। जीवनको उत्तराद्र्धमा बिरामी पर्दा भने गौरीरानीले बारम्बार भन्ने गर्थिन्, ‘मलाई नछोड।’
जीवनको अन्तिम सत्य नै संसारमा आएपछि जानु हो। गौरीरानी ७४ वर्षको उमेरमा संसारबाट बिदा भइन्। उनको महाप्रस्थानको समय थियो, ५ः२५ बजे।
त्यही क्षणलाई शिवले पुस्तकको नाम दिएका छन्। गौरीरानीको वियोगको प्रसंगबाट उठान भएका यो पुस्तकले राष्ट्रकवि माधवप्रसाद घिमिरेको ‘गौरी’को सम्झना दिलाउँछ। माधवप्रसादको ‘गौरी’मा वियोग छ, शिवको पुस्तकमा गौरीरानीसँगको आरोहअवरोहको स्मरणसँगै जीवन उत्सवको चर्चा छ। सत्कर्म गर्दै सत्मार्गमा अग्रसर गौरीरानीले जीवन सार्थक बनाउने हुटहुटी जगाउँछिन्, जुन पुस्तकको सफल पक्ष हो।
तथापि, सम्पादनमा भने केही अभाव खट्किन्छ। तिथिमिति कतै ईस्वी सम्वत्मा त कतै विक्रम सम्वत्मा आउँदा तालमेल मिलाउन गाह्रो हुन्छ। भाषागत एकरुपताको अभाव देखिन्छ। एकै शब्द पनि ठाउँ ठाउँमा भिन्न रुपमा आएको छ।
समग्रमा, पुस्तक पढ्दै गर्दा यस्तो लाग्छ, लेखक आफू यो नश्वर देहको गन्तव्यबारे अनभिज्ञ छैनन्। जीवनको विपश्यना गरेका छन्। बाल्यकालका प्रसंगदेखि वृद्धावस्थाका भावना र अनुभव मिठासपूर्वक प्रस्तुत भएका छन्।
यो पनि पढ्नुहोस् : कर्मयोगी कृषिविज्ञ