हिमाली सिरेटोमा पवन स्नान
‘बाटो कस्तो छ?’ भनेर सोधेका उनीहरू ‘सजिलो छ’ भन्ने सुनेपछि उत्साहित भए। तर कहिल्यै नहिंडेका यात्री थिए। यूट्यूबमा भ्लग हेरेर घरबाट निस्किएका थिए। यूट्यूब हेरेर यात्रामा निस्किनु र यूट्यूब हेरेर भोजन पकाउनु उस्तै हो। हेर्न मात्र मजा हुन्छ, खान र हिंड्न होइन।
रमेश सायन
मेरो बाइक बिग्रिंदा ओखलढुंगाको ठाडेमा बेस्सरी हावा चलिरहेको थियो। बिहानको ८ बजेको थियो। एउटा घरको ढोका अघि उभिएँ, “घरमा को हुनुहुन्छ?”
“म छु। कसलाई खोज्नुभ’को?” एक जना दिदी बाहिर निस्किइन्। हातमा स्टीलको गिलास थियो। हावाले उनको कपाल उडाइरहेको थियो। उनको कपालका जरा सेता देखिए।
मैले उनलाई नमस्कार गरें। उनले नमस्कार फर्काउन गिलास भुइँमा राखिन्। गिलास हावाले लडाइदियो। दूधचिया पोखियो।
“ओहो दिदी! चिया त पोखियो नि!”
“फेरि पाक्छ,” उनका ओठ मन्द फाटे।
“मेरो बाइक बिग्रियो। यतै छाडिराख्नुपर्यो। फर्किंदा लैजान्छु है।”
मैले हेल्मेट र मास्क खोलें। उनले मेरो अनुहार हेरिन्, त्यसपछि पोखिएको चिया हेरिन्।
“दिदी मेरो बाइक बिग्रियो।”
‘तेरो बाइक बिग्रियो त म के गरूँ!’ को भावमा उनी मौन भइन्।
लडेको गिलास उठाइन्। चिया रहलपहल छ कि भन्ने आश राखे झैं गिलासभित्र आँखा हुलिन्।
सखारै कुनै आफन्त आउने बाटो हेर्दै थिइन् कि! ए बटुवा पो रहेछ भन्ने थाहा पाएपछि उनको अनुहार अँध्यारो भयो।
उनको मलिन भावभन्दा आफ्नो स्वार्थ ठूलो थियो। फेरि अनुनय गरें, “तपाईंकोमा बाइक छाडेर जान्छु है। दूधकुण्ड पुगेर फर्किन्छु।”
उनले आँगनको उत्तर-पूर्वी कुनामा बाइक राख्न भनिन्। बाइक राखेर लिफ्ट माग्न सडकमा निस्किएँ ।
एकछिनमै लिफ्ट दिने मान्छे भेटें।
“तपाईं सोलु जानुहुन्छ भने मलाई पनि लगिदिनुस् न,” अनुरोध गरें। यस वेला मेरो अनुहार अवश्य दु:खी देखिएको हुँदो हो। त्यो मान्छेले कुनै आनाकानी गरेन। म उसको बाइकमा चढें।
“घरमा को को हुनुहुन्छ ?” मैले सोधें।
अपरिचितले घरका बारेमा चासो राख्दा म रिसाउँछु, तर ऊ रिसाएन। भन्यो, “स्वास्नी छ, एक छोरा, दुई छोरी छ। पोहोरसम्म बाउ पनि थियो।”
परिवार भएको मान्छेलाई ज्यानको माया पक्कै लाग्छ। बाइक कतै लडाउँदैन होला! छिटै सोलु पुग्छु भनेर ढुक्क हुन खोज्दै थिएँ, उसले बाइक लरबराउँदै भित्तामा जोत्यो। उसले पिएको रक्सीको गन्ध मेरो नाकमा पस्यो। लगत्तै विपरीत दिशाबाट ट्रक बत्तिंदै आयो। झन्डै ट्रकमुनि छिरेको! म थरर कापें।
बाइकमा तीन किलोमिटर यात्रा गरेपछि ओखलढुंगा र सोलुको सिमाना धापमा पुग्यौं। त्यहाँबाट लहरै सेता हिमाल देखिए।
“म यतै झर्छु,” मैले भनें।
“आनी सल्लेरी जाने भनेको हैना?”
“हिमाल हेर्न हिंडेको, हिमाल त यहींबाट देखियो।”
“मलाई पनि साथी हुन्छा। सल्लेरी जाम् हो सर!”
“हैन हैन, म यहींबाट फर्किन्छु।”
“सर डरायो कि क्या हो!”
“हैन। म यहींबाट फर्किने हो।”
म बाइकबाट ओर्लें। ऊ ओल्लो भित्ता पल्लो भित्ता गर्दै सल्लेरीतिर लाग्यो।
धन्न त्यस दिन कतै बाइक दुर्घटना भएको समाचार सुनिनँ।

**
२०८१ सालको होलीमा दुई दिन अफिस बिदा भयो। थप दुई दिन बेतलबी बिदा लिएँ र दूधकुण्ड हिंडें। बाटामा बाइक बिग्रियो र लिफ्ट दिने मान्छे भेटें। उसले सहयोग गर्यो, तर मलाई ज्यानको माया लाग्यो।
एक्लै हिंड्नुपर्छ, संसार साह्रै सुन्दर र सहयोगी भेटिन्छ। पाइला पाइलामा महसूस हुन्छ।
अघिल्लो दिन ओखलढुंगा बजारमा वास बसेर भोलिपल्ट सोलुको सल्लेरी हिंडेको थिएँ। बिहान साढे ८ बजे सल्लेरी पुगिसक्थें। त्यहाँबाट थप एक घण्टामा टाक्सिन्दु-ला (३,०७१ मिटर) पुगेर खाना खान्थें। त्यहाँबाट चार घण्टा उकालो हिंडेर पुग्थें कामोडाँडा (३,८८० मिटर)। नुप्त्से, लोबुचे, मकालु, कञ्चनजंघा लगायत चिनेका/नचिनेका हिमालका लहर हेर्थें।

साँझ सगरमाथाको टुप्पोमा अस्ताउँदो घाम हेर्थें। सुनौलो हिमालले मलाई रोमान्टिक बनाउँछ। त्यही हेर्न वेलावेला यात्रा गर्छु। कामोडाँडाबाट मैले खोजेको हिमालको रङ भेटिन्थ्यो। तर बाइक बिग्रियो। लिफ्ट दिने मान्छेसँग यात्रा गर्न सकिनँ।
धापदेखि पातलेसम्म हिंड्दै गएँ। कामोडाँडाबाट देखिने हिमाल पातलेबाट पनि देखिन्छ, तर टाढा देखिन्छ। एकतर्फी मन पराएकी युवती/युवक र टाढाबाट देखिने हिमाल उस्तै हो। हेर्दा सुन्दर देखिन्छ, सम्मोहित पनि भइन्छ, तर स्पर्शको आनन्द महसूस हुँदैन।
पातलेमा खाना खाएँ। पाँच घण्टा गाडी कुरें। तीन बजे फाप्लु पुगें। त्यहाँबाट टाक्सिन्दु पुग्ने गाडी खोजें। संयोगले एक कप चिया नसकिंदै बलेरो गाडी भेटें। गाडीमा धेरै मान्छे थिएनन्। एक युवा, दुई महिला र एक वृद्ध शेर्पा थिए।

युवकलाई हिमालतिर गाडी चलेको पटक्कै मन परिरहेको थिएन। थुप्रै ठाउँमा पाखा चिथोरिरहेका डोजरहरू देखिए। युवकले भन्यो, “बाटाले हिमाल कुरूप बनाउने भयो।”
“यो त ट्रेकिङ रूट हो। मोटरबाटो बनाएपछि अब मान्छे कहाँ हिंड्छन् र!” मैले भनें।
बूढो शेर्पा झोक्कियो, “हामी मान्छे हैन? यहाँको मान्छेलाई बाटो चाहिंदैन? हामीले सधैं भारी बोक्नुपर्छ। यहाँ बाटो आएर के बिग्रियो? तिमीलाई के भो? म बूढो मान्छे हिंड्नुपर्थ्यो। सल्लेरीबाट मेरो घर पुग्न एक दिन लाग्छ। अहिले चार-पाँच घण्टामा घरमै गाडी पुग्छ। यहाँ गाडी चलेर के बिग्रियो?”
दुई महिला हाँसे। चालकले हाम्रो अनुहार हेर्न टाउको पछाडि फर्कायो।
बूढो शेर्पा करायो, “अगाडि हेरेर चलाऊ!”
अलिक अगाडि एक्स्काभेटरले बाटो चौडा बनाइरहेको थियो। बाटामाथि डिलमा सल्लाको एउटा रूख थियो। रूखमा ‘सेभ द नेचर’ लेखिएको टिनको पातो टाँसिएको थियो। एक्स्काभेटरले जरा खोतलिसकेको रूख बाटातिर ढल्किएको थियो।
मैले गाडीको झ्यालको शीशा खोलें। ‘सेभ द नेचर’ र एक्स्काभेटरलाई एउटै फ्रेममा पारेर फोटो खिच्न खोजें।
“धूलो आयो। झ्याल बन्द गर,” बूढो शेर्पा करायो।
एक्स्काभेटरले साइड दिएपछि हाम्रो गाडी अगाडि बढ्यो।
बिहान १० बजे पुग्नुपर्ने टाक्सिन्डोला साँझ पाँच बजे पुगें। सल्लेरीबाट टाक्सिन्दुसम्म लगिदिने गाडीले सीधै हिलटप होटलभित्र छिराइदियो। भाडा एक हजार रुपैयाँ लियो। १७ किलोमिटर गुडेको हजार!
‘हिमालमा मोटरयात्रा महँगै हुन्छ।’ चित्त बुझाउन खोज्दा उपाय भेटिन्छ।
हिलटप होटलमा म एक्लो पाहुना थिएँ। होटल साहु-साहुनी साह्रै मिजासिला थिए। “यसपालि धेरै हिउँ परेन यता। मौसम परिवर्तन हुँदै छ। हावा नचल्दा त गर्मी हुन थालिसक्यो,” खाना खाने वेला होटल साहुले रायो साग थपिदिंदै भने।
होटल साहुनीले मोबाइलमा हिउँको भिडिओ देखाइन्, दुई वर्षअघिको। चिन्ता गरिन्, “हिउँ पो पर्न छाड्यो त! गाडीले छुएपछि हिउँ पर्दैन कि क्या हो!”
मैले बूढो कोरियन श्रमिक ह्वाङजुसालाई सम्झिएँ, जो म कोरियामा भएको वेला मेरो सहकर्मी थियो। हिउँदमा उदास हुँदै भन्थ्यो, “देशमा धेरै विदेशी आए। सबै हिउँ खाए।” कोरियालीहरू हिउँदको पहिलो हिउँसँग मागेको कुरा पूरा हुन्छ भन्ने विश्वास गर्दा रहेछन्। हिउँ पर्न छाड्यो भने मनको कुरा केसँग माग्ने? बूढो मजदूरलाई चिन्ता लाग्यो होला।
टाक्सिन्दु भनेको सगरमाथा आरोहणमा जाने पुरानो रूट हो। दोलखाको जिरी हुँदै यो बाटो लुक्ला पुग्छ। एडमन्ड हिलरी र तेन्जिङ नोर्गे शेर्पाका पैताला पनि यही बाटो भएर सगरमाथा उक्लिएका हुन्। यो बाटोमा अचेल गाडी कुद्छ। लुक्लामुनिसम्म त गाडी नै जान थालिसक्यो। दूधकोशीमा पुल बन्दै छ। पुल बनिसकेपछि त सोलु-सल्लेरीबाट गाडी सीधै लुक्लामा। सगरमाथाको छेउछेउमै गाडी पुग्न थालिसक्यो। मान्छे हिंड्न छाडे। हिउँले पनि अटेर गर्न थाल्यो। २०८१ चैत १ गते हिमाल लगभग नांगो देखियो।
म एक्लो पाहुना भएको कारण होटलको डाइनिङमा चिम्नी बलेन। कोठामा छिटै घुस्रेर मैले सरिताको हत्या गरें पढ्न थालें। विजय मल्लको यो किताब मन परेको कथासंग्रहमध्ये एक हो। हिमालतिर पुगेर पढ्न चाहन्थें। यसकारण किताब झोलामा थियो। विजय मल्ल र कुमार नगरकोटीका पात्रहरूसँग हिमाली यात्रा रमाइलो हुन्छ। मनु ब्राजाकीका तिम्री स्वास्नी र म र अन्नपूर्णाको भोजका पात्रलाई क्याफेमा भेट्न मजा हुन्छ।
मैले हिलटप होटलका साहु-साहुनीको नाम थाहा पाइनँ। जसरी थाहा पाइनँ, बाइक बिग्रेको वेला लिफ्ट दिने मान्छेको नाम। जसरी थाहा पाइनँ, बिग्रेको बाइकलाई वास दिने दिदीको नाम। मान्छेको नाम, ठाम र कामबारे जान्न मलाई हतार हुँदैन।
भोलिपल्ट बिहान ७ बजे होटलबाट कामोडाँडातिर लागें, जहाँ हिजै पुग्नुपर्ने थियो।
बाटो धेरै उकालो छ। हावा उस्तै चलेको छ, जस्तो हिजो बाइक बिग्रेको ठाउँमा चलेको थियो। सल्लाका केस्राकेस्रामा, गुराँसका थुँगाथुँगामा हावाले संगीत भरेको छ। जुन संगीत कुनै संगीतकारले सिर्जना गर्न सक्दैन। अन्त कतै सुन्न पाइँदैन। म जंगली संगीतमा मस्त छु।
बाटामा जानेहरू छैनन्, फर्किनेहरू पनि छैनन्। उन्मुक्त भएर हिंड्न सक्छु। जंगली संगीतमा निस्फिक्री नाच्न सक्छु।
१० बजे कामोडाँडा पुगें। धूपीका साना रूख देखिए। यहाँभन्दा माथि लागेपछि ‘भुइँ धूपी’ मात्र पाइन्छ। अझै माथि त ढुंगैढुंगा मात्र। हिमाल कालो भएको छ। बैंसालु मान्छे सौन्दर्य बिग्रिंदा चिन्तित भए झैं हिमाल पनि चिन्तित हुँदो हो। ‘मेरो शिरमा खै हिउँ? तिमी मान्छेहरूकै कारण म नांगिंदै छु। म नांगिंदा तिमीहरूलाई लाज लाग्दैन?’ हिमालले सोध्दो हो।

हिमालबारेको चिन्ता थोरै मानिसभित्र मात्र पसेको छ। पृथ्वीका अर्बौं मान्छेलाई बिग्रिंदो हिमाली सौन्दर्यको कुनै चिन्ता छैन।
कामोडाँडाको नुम्बुर होटलका साहुलाई म आउँदै छु भन्ने थाहा थियो। हिजो राति हिलटप होटलका साहुले फोन गरिदिएका थिए, “एक जना नेपाली पाहुना आउँदै छन्। होटल खोलिदिनुहोला।”
म अफसिजनमा गएको थिएँ। अफसिजनमा पाहुना आएपछि होटल खोलिने रहेछ।
कामोडाँडाको मौसम खुलेको थियो। आकाश छयाङ्ग थियो, नीलो। उत्तरमा मुस्कुराइरहेका हिमालहरू देखिए। दक्षिणमा तरेली परेको हरियो पहाड देखियो।
म थाकेको थिएँ। होटल बाहिर झोला फ्यात्त फालें। भित्र पसें। होटल साहुले भने, “काग भोकाएका छन्। भित्रै राख्नुहोला झोला।”
आकाश हेरें। काग उडिरहेका थिए।
“खानेकुरा झोलाभित्र छ, कसरी खाला र!”
“ठुँगेर झोला नै च्यातिदिन्छ।”
झोलाबाट बिस्कुट निकालें। बिस्कुटका टुक्रा ढुंगामा राखिदिएँ र होटलभित्र पसें। झ्यालबाट हेरें– चार वटा काग एकुन्टा टुक्रा बिस्कुट चुच्चोमा च्यापेर उडे। पछि आउने कागलाई बिस्कुट भाग पुगेन।
मैले दालभात खाएँ। नुम्बुर होटलको अर्को शाखा नुम्बुर हिमालको काखमा रहेको सहरसा बेनीमा पनि रहेछ। अफ सिजनमा पाहुना पुग्दा होटल खुल्छ। साहुले मेरा लागि होटल खोल्न भाइलाई बिहानै पठाएछन्।
कामोडाँडाबाट सहरसा बेनीको बाटो धेरै उकालो छैन। ठूला रूखका जंगलको बाटो सकिएर पोथ्रा रूखका जंगलको बाटो शुरू भएपछि चाहिं अक्सिजनको कमी भएर हिंड्न अलिक गाह्रो हुन्छ। ३९ सय मिटर हाराहारी हिंड्दै ४१ सय मिटरको सहरसा बेनी पुग्नुपर्छ। सहरसा बेनी नुम्बुर हिमालको काखमा बसेको सानो कचौरा जस्तो उपत्यका हो। बर्खा याममा यो ठाउँ असाध्यै मनमोहक देखिन्छ। चौंरीगोठ बस्छ। भुइँफूल फुल्छन्। सुनपाती, भैरवपाती मगमगाउँछन्। फुलैफूलले ढाकेको बगैंचाको बीचबाट सानो खोला बग्छ। तर बर्खा याममा पुग्नुपर्ने ठाउँ म हिउँदको अन्त्यमा पुगें।
अगाडि पछाडि कोही मान्छे छैनन्। आफैंसँग गफ गर्दै बिस्तारै हिंडें। यस्तो लाग्थ्यो, सिंगै बाटो मेरो हो। सिंगै हिमाल मेरो हो। यो रूख, यो ढुंगा मेरो हो। घरीघरी लाग्थ्यो, नांगै स्वतन्त्र भएर हिंड्न सक्छु। यस्तो स्वतन्त्रता अरू कतै महसूस गरेको थिइनँ। मलाई यहाँ कसैले बौलाइस् भन्दैनन्। ‘ओइ के गरेको’ भनेर कसैले प्रश्न गर्दैनन्।मनमौजी हुन सक्छु।
एक्लै यात्रा पहिले पनि धेरै पटक गरेको छु। ती यात्रामा आउने-जाने मान्छे भेटिइरहन्थे। तिनले म आएको बाटो सोध्थे। पुग्ने गन्तव्य सोध्थे। यहाँ त म कुनै मान्छे भेट्नेवाला छैन।
घरपरिवार र समाजको कानूनमा बसेको मान्छे हुँ। पारिवारिक, सामाजिक जिम्मेवारीबाट उन्मुक्त हुन नसकेको मान्छे हुँ। लोग्ने हुँ। छोरो हुँ। आफन्त हुँ।
मालिकको कामदार हुँ। पाठकको लेखक हुँ। सरकारको नागरिक हुँ।
तर आफ्ना लागि के हुँ?
छैन चिनेको। छैन जानेको।
बरु अरूलाई चिन्न सजिलो होला, आफूलाई चिन्न गाह्रो छ। अरूलाई पढ्न सजिलो छ, आफूलाई पढ्न गाह्रो छ। अरूको पछि लाग्न सजिलो छ। आफ्नो पछि लाग्न गाह्रो छ।
तपाईंले मलाई चिन्न सजिलो छ– रमेश मूर्ख छ, घमण्डी हो भनिदिए सक्किइहाल्छ। अथवा रमेश असल छ, राम्रो मान्छे हो भने भइहाल्छ। रमेश यात्री हो, जो हिमालतिर हिंडिरहन्छ भने पुगिहाल्छ। तर आफ्ना लागि त अरूले चिने जति मात्र हैन म। मभित्र आफ्नै विशालता छ। आफ्नै साँघुरोपन छ। आफ्नै बाटो छ। आफ्नै यात्रा छ। आफ्नै शून्यता छ। आफ्नै अंक छ।
(तपाईंले आफैंलाई कसरी चिन्नुभएको छ?)
यसरी एक्लै खुला ठाउँमा नहिंडेको धेरै भयो।
सामान्य हिंडाइमा कामोडाँडाबाट सहरसा बेनी पुग्न तीन घण्टा लाग्छ। तर मलाई पाँच घण्टा लाग्यो। छिटो जाऔं भन्ने साथी नहुनुको फाइदा लिएँ। आफूलाई ‘छिटो हिंड्, हतार छ’ भनिनँ।
सहरसा बेनीमा नुम्बुर होटलका साहु मलाई पर्खेर बसेका थिए। चिसो स्याँठ चले पनि होटलको कोठा न्यानो थियो। होटल साहुले डाइनिङमा चिम्नी बालिदिए। तातो पानी दिए। मान्छे नभएको हिमालमा उनी मात्र थिए। मान्छेसँग बोल्ने बानी हटेर आफैंसँग बोल्ने बानी लागेर हो कि उनी मसँग साह्रै कम बोले। सोधेको प्रश्नको उत्तर मात्र दिए। कहाँबाट आएको भन्ने समेत सोधेनन्।
“यसपालि धेरै हिउँ परेन। अलिअलि परेको हिउँ पनि छिटै बिलायो,” उनले एकपल्ट हिउँको चिन्ता गरे। पाँच हजार मिटरमाथिको डाँडामा पनि हिउँ थिएन। २०८१ चैत २ गते ४,१०० मिटर उचाइको नालामा पानी बगिरहेको थियो। यस वेलासम्म त नालामा पानी जम्नुपर्ने हो।
**
भोलिपल्ट बिहान ६ बजे दूधकुण्डतिर हिंडें। मौसम अलिक धुम्मिएको छ। हावाको तेज उस्तै छ। म्याराथन धावक दौडिए झैं आकाशमा बादल दौडिएका छन्। नुम्बुर र कारेलुङ हिमालमा लुकामारी खेलिरहेको बादल ७ बजेतिर सरक्क गुजुल्टो परेर अन्तै लाग्यो। हिमालको शिर स्फटिक झैं देखियो। बादललाई लाग्यो होला, रमेश सायन एक्लै आएको छ, यसलाई हिमाल देखाउनुपर्छ।
यात्रामा ढुंगा छापेको खुड्किलादार बाटो आयो। तलबाट हेर्दा खुड्किला उक्लिँदै गएर सीधै हिमालको टुप्पोमा पुगेर टुंगिएको देखियो। धार्मिक आख्यानमा वर्णित स्वर्ग जस्तो दृश्य! स्वर्गको बयान गर्नेले यही बाटो हेरेर गरेको होलान् झैं लाग्यो।

सहरसा बेनीबाट दूधकुण्ड पुग्न तीनदेखि चार घण्टा लाग्छ। म दुई घण्टामै पुगें। यति उचाइमा यति छिटो कहिल्यै हिंडेको थिइनँ। आफ्नो ज्यान फूलको थुँगो झैं लाग्यो।
दूधकुण्ड हिन्दू, बुद्ध र किरात धर्मावलम्बीहरूको पवित्र तीर्थस्थल हो। किरात धर्ममा यही बाटो हुँदै स्वर्ग पुगिन्छ भन्ने मान्यता रहेछ।
यहाँ पुगेर जे मागिन्छ त्यो प्राप्त हुने विश्वास रहेछ। धेरै मान्छे यो तीर्थस्थलमा धनसम्पत्ति, सुख र उन्नति माग्न पुग्छन्। थोरै मान्छे घुम्न पुग्छन्। म घुम्न पुगेको हुँ। मलाई ईश्वरसँग केही माग्नु छैन। मलाई त मान्छेसँग मागेरै धेरै कुरा पुगेको छ।
सोलुदूधकुण्ड नगरपालिका-१ टाक्सिन्दुस्थित ४,६०० मिटर उचाइमा रहेको दूधकुण्ड।
नुम्बुर र कारेलुङ हिमालको काखमा सानो कुण्ड छ। कुण्डको उत्पत्तिबारे धर्म-पन्थपिच्छे बेग्लाबेग्लै किंवदन्ती छन्।
हिन्दू धर्म मान्नेहरू भन्छन्– एकदिन देवता र असुरबीच समुद्र मन्थन भयो। देवताले अमृत निकाल्न खोजे। असुरले विष निकाल्न खोजे। असुरले जिते। कालकूट नामको विष निस्कियो। विष फैलिन लागेपछि भगवान् शिवले पिइदिए। दूधकुण्डको पानी पिएपछि शिवलाई उक्त विषको असर मत्थर भयो।
बौद्ध धर्म मान्नेहरू भन्छन्– मञ्जुश्रीले चोभार काटेर काठमाडौंको पानी फाले। तर सबै पानी निख्रिएन, थोरै बाँकी भयो। त्यो पानी नुम्बुर हिमालको फेदमा लुकाए। पछि त्यही पानीबाट कुण्ड बनेको हो।
जुन धर्ममा जे किंवदन्ती भए पनि यो ठाउँ असाध्य सुन्दर छ। यहाँ पुग्दा सुखानुभूति हुन्छ।
म यहाँ हिमाली सौन्दर्य हेर्न आएको हुँ। आफैंसँग गफ गर्दै हिंड्न आएको हुँ। एउटै लयको जिन्दगीबाट वाक्क भएर हिंडेको हुँ। भागदौड र अस्तव्यस्त दिनचर्याबाट भागेर आफैंलाई समात्न आएको हुँ।
मलाई आफूसँग कुरा गर्न मन पर्दो रहेछ। कहिल्यै पूरा नहुने कल्पनामा डुब्न मन पर्दो रहेछ। मैले कल्पना गरें, अब यतै बस्नेगरी आउँछु। अलिक समथर ठाउँमा एउटा सानो कुटी बनाउँछु। वर्षदिन खान पुग्ने अन्नपात बोकेर ल्याउँछु। हिमालका सबै ऋतु महसूस गर्छु।
अर्को कुरा पनि सोचें, सिजनमा धेरै मान्छे आउँछन्। एक-दुई जनालाई कुटीमा वास दिएँ भने अलिकति पैसा पनि हुन्छ। धेरै पैसा हुन थाल्यो भने त सधैं यतै बस्नुपर्ला। त्यो पैसाले रोग लाग्यो भने उपचार गर्छु। अलि धेरै पैसा भयो भने बचत गर्छु। बुढेसकालमा न्यानो ठाउँमा सरेर बस्छु।
मेरो दिमागमा ढोंग र मोह पनि छ, आदर्श र सादगी मात्र छैन। जोगी हुँदाहुँदै कसरी व्यापारी हुन सकिन्छ भनेर सोचिहाल्यो। म मारवाडीको कारखानाबाट बिदा लिएर घुम्न निस्किएको कारिन्दा हुँ।
**
बाटामा आउँदै गर्दा सोचेको थिएँ, पोखरीमा जन्म स्नान गर्नेछु। तर पोखरी बरफ बनेको थियो। जन्म स्नान गर्न सम्भव भएन। यस्ता ठाउँमा पुग्दा सकेसम्म स्नान गर्छु। शरीरले गहिरो चिसो महसूस गर्छ। थकान गायब हुन्छ, दिमाग शून्य जस्तै हुन्छ, मन चंगा हुन्छ।
स्नान गर्न असम्भव भए पनि पोखरीको डिलमा सर्वांग नांगो भएँ। हिमाली सिरेटो त तीखो काँडा झैं हुँदो रहेछ, जो मेरो मुटु खोज्दै शरीरभित्र पस्यो। ज्यान बरफ झैं भयो। दिमागले केही सोच्न सकेन। सामुन्नेको सेतो हिमाल कालो भयो। खुट्टाको कान्छी औंलादेखि शिरको टुप्पीसम्म झमझम गर्न थाल्यो। चेत हराउन खोज्यो। हतारहतार लुगा लगाएँ। केहीबेरपछि पूर्ववत् अवस्थामा फर्किएँ। पवन स्नान गर्दा जल स्नान गरे जस्तै आनन्द महसूस भयो।
यहाँ दूधकुण्ड मात्र छैन, यस्ता धेरै कुण्ड छन्। भूत पोखरी, आँखे पोखरी, महाकुण्ड ताल, गंगाजमुना ताल लगायत सानाठूला १० कुण्ड छन्। सबै ठाउँ जान सम्भव छैन। भूत पोखरी र आँखे पोखरी नजीकै भएकाले सजिलै जान सकिन्छ। मलाई हिमाल हेर्नु थियो। दूधकुण्ड पुग्नु थियो। त्यतिमा रमाएँ।
**
एक्लै हिंड्दा थाहा पाइन्छ, संसार कति सुन्दर र सहयोगी छ।
म दूधकुण्ड पुगेर फर्किएँ। फर्किंदा टाक्सिन्दुमा हिलटप होटलमै बसें। भोलि चाँडै गाडी चढे बाइक बिग्रेको ठाउँसम्म पुग्नु छ। बिग्रेको बाइकलाई ओखलढुंगा झार्नु छ र पर्सि काम गर्ने ठाउँमा पुग्नु छ।
शून्यको सुखबाट दोहोरो अंकको दुःखमा झरें। फेरि उही मान्छे भएँ, जुन मान्छे तपाईंले देख्नुभएको छ। चिन्नुभएको छ। भोग्नुभएको छ।
हिलटप होटलको डाइनिङमा चार जना पाहुना तोङ्बा पिउँदै थिए। चारै मुखले एकैपल्ट सोधे, “बाटो कस्तो छ? कति दिन लाग्यो?”
आफू हिंडेको बाटोबारे अरूलाई बताउँदा ‘अप्ठेरो छ’ भन्न छाडेको छु। म हिंडेको बाटो जोकोही हिंड्न सक्छन् जस्तो लाग्छ मलाई।
उनीहरू उत्साहित भए। तर कहिल्यै नहिंडेका यात्री थिए। यूट्यूबमा भ्लग हेरेर घरबाट निस्किएका थिए। यूट्यूब हेरेर यात्रामा निस्किनु र यूट्यूब हेरेर भोजन पकाउनु उस्तै हो। हेर्न मात्र मजा हुन्छ, खान र हिंड्न होइन।
बिहान काठमाडौंबाट आएका दुई यात्री उकालो लागे। दिक्तेल र कटारीबाट आएका दुई यात्री ओरालो लाग्ने भए।
“केही हुँदैन। बिस्तारै हिंड्दै जाँदा बानी हुन्छ। बाटो सजिलो छ, सजिलै पुग्नुहुन्छ,” मैले भनें।
घर कटारी हुनेले भन्यो, “रातभर निदाउन सकिनँ। सास फेर्न पनि गाह्रो भयो। माथि पुगेर मरियो भने त लास घर लैजान पनि निकै पैसा लाग्छ। भो नजाऊँ होला।”
यात्रा पैतालाले गर्ने होइन, हिम्मतले गर्ने रहेछ। पैताला कमजोर भए पनि हिम्मत बलियो हुनुपर्छ। उनीहरूले हारे। बाइक बिग्रेको ठाउँसम्म मलाई लिफ्ट दिए।